७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

नेपाल भाषाकाे विद्यालय खोल्न अनुरोध

काठमाडौं - संघीय समाजवादी फोरम नेपालका सहध्यक्ष राजेन्द्र श्रेष्ठले नेपाल भाषा पढाइ हुने विद्यालय खोल्न काठमाडौं महानगरपालिकासमक्ष माग गरेका छन्।

पार्टीको महानगरपालिका वडा नम्बर २५ को अधिवेशनमा क्रममा उनले नेवाः समुदाय मात्र नभई राष्ट्रियतासमेत भएको बताए। माघ १२ गते शनिबार प्रदीप्त पुस्तकालयको हलमा गरिएको अधिवेशनमा उनले संघीय तथा प्रदेश दुवै सदनबाट स्थानीय तहले प्लस टुसम्म मातृभाषामा शिक्षा दिने गरी विधेयक पारित भइसकेको जानकारी दिए। भेलाका प्रमुख अथिति रहेका श्रेष्ठले गोर्खा राज्य विस्तारपूर्व यहाँ कामको खोजीमा आएर बसेका सबै जाति नेवाः को परिचय बनाएर बसेका बताए। इराकबाटसमेत मुस्लिमहरु यहाँ आएर बसेका उनको दाबी थियो। मिथिला, सेन राज्य, कपिलवस्तुलगायत तराई भूभागबाट आएर बसेका व्यक्तिमा समेत यहाँको भाषा, संस्कृति ग्रहण गर्दै नेवाकरण भएको उनले बताए। उनले भने, ‘तर यो प्रक्रिया अवरुद्ध भएको छ । हामीले पहिचानसहितको संघीयता मागेका छौं।’

अधिवेशनका विशिष्ट अतिथि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले नेवाः र मधेस एक आपसमा परिपूरक भएको बताउँदै आफूलाई नेवाः प्रदेशमा बस्दा गर्वको अनुभूति भएको बताए। उनले नेवाः प्रदेशका जनतालाई पुरानो सत्ताले शोसण गरेको बताउँदै मुक्तिका लागि पार्टी एकता भएको बताए। राज्यमन्त्री यादवले आफ्नो पार्टी समावेशी भएको भन्दै पहिचान र अधिकारसहितको आन्दोलनमा अब उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठहरू जस्तो बौद्धिक नेताहरू पार्टीमा रहेकाले पार्टीमा संगठित हुन सबैमा आग्रह गरे। अधिवेशनमा पार्टीका केन्द्रीय सल्लाहकार समिति प्रमुख डा. महेशमान श्रेष्ठ, केन्द्रीय सदस्यहरू आङ्काजी शेर्पा, लालबहादुर तामाङ, पवित्र बज्राचार्य, काठमाडौं जिल्ला अध्यक्ष तथा वैकल्पिक केन्द्रीय सदस्य मनरत्न शाक्यलगायतले शुभकामना मन्तव्य राखेका थिए।

प्रकाशित: १३ माघ २०७५ ०८:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App