९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

जंगलमा पालमुनी छाउपडी

बाजुराको पाण्डुसैनवाट अछामको नन्देगडा पुगेका भोटे परिवारकी महिला छाउ बार्दै छाउपडी गोठमा । तस्बिर : खम्म/नागरिक

अछाम – छाउपडी कुप्रथाका कारण महिनावारी हुँदा ५ दिन घर भन्दा बाहिर छाउगोठमा बस्नुपर्ने सुदूरपश्चिमका महिलाहरूको पीडा नै हो। त्यसमा पनि जंगलको वास हिँउदको महिना पालमुनी बस्नु पर्दाको पीडा कस्तो होला ?

महिनावारी हुँदा जंगलमा समेत पाल टागेर बस्नुपर्छ भनेको सुन्दा अचम्म त लाग्छ नै तर, भोग्नेलाई कति पीडा होला  अनुमान गरेर साध्य नै छैन्। आफ्नो घर भन्दा बाहिर अपरिचित ठाउँमा पालमुनिको दिनचर्या कति पीडादायी होला त्यो हामीले सहजै अनुमान गर्न सक्छौ। हिउँद याममा बाजुराको हिमाली भेगबाट चिसो छल्न अछामको बेसीतिर झर्ने भोटे समुदाय भित्रका छाउपडीको कहाली लाग्दो पीडा हो यो।

बाजुराको पाण्डुसैनबाट चिसो छल्न अछामको मेल्लेख गाउँपालिकाको वडा नम्बर ७ नन्देगडा आइपुगेका सर्पलाल थापाकी नव विवाहीत दुलही लक्ष्मी थापा यो कठ्यांग्रिदो चिसोमा पालमुनी रात काट्न बाध्य छन्। ‘पालमुनी रात बिताउने इच्छा त थिएन, के गर्नु बाध्यता नै हो।’ लक्ष्मीले भनिन्, ‘त्यसै त बसाई सरेर बेसी झर्दा खाना र लुगा कपडाको टुंगो हँदैन्। घर छोडेर भेडा च्याङ्ग्रा सहित आउँदा नै कठिन हुन्छ।

अझ पालमा रात बिताउदाको पीडा कसलाई सुनाउनु।’ छाउ हुँदाका सबै रात आगोको साहारामा बिताउनुपर्छ उनले दुखेसो पोखिन्। उनका श्रीमानले उनलाई अलग्गै बसाउन नचाहेको भएपनि उनकी सासु आमाले देउताले गर्दा आग बाग लाग्छ भनेर अलग्गै बस्नु परेको उनको भनाई छ। सोही ठाउँबाट चिसो छल्न अछाम आइपुगेकी मनसरा थापाले भनिन्, ‘परार साल (०७३) मा मेरो बच्चा जन्मियो।’ घरमा हुँदा छाउ भए ५ दिन गोठमा बस्ने गरेकी थिए। ‘जब सुत्केरी भए २५ दिन पालमुनी बस्नुपर्यो।’ उनले भनिन्, ‘माईतीमा पनि छाउपडी बाथ्र्यौ तर, सुत्केरीलाई २५ दिनसम्म घरबाहिर राख्दैनन्, पहिलो पटकको प्रसव पीडामा हिउँदको चिसोमा लगभग एक महिना पालमा बस्नुपर्दाको पीडा भनेर साध्यै छैन।’

हिउँदको सुरुवातसँगै चिसो बढ्न थालेपछी पुस पहिलो सातातिर उच्च हिमाली भेगमा बसोवास गर्ने भोटे समुदाय चिसो छल्न प्रत्येक वर्ष बेसीतिर बसाई सर्छन्। प्रत्येक वर्ष झै यसवर्ष पनि हिउँद छल्न भनेर बाजुरा पाण्डुसैनका तिनभोटे परिवार आफूसंग भएका २ सय भेडा बाख्राको साथमा अछाम आइपुगेका हुन्। बाजुरा पाण्डुसैनकै इसरा थापा ३३ वर्ष पुगिन् उनले कयौं महिना यस्तै पालमा आगो बालेर गुजारेको जानकारी दिइन्। ‘प्रदेशको ठाउँ देवी देवताको भरमा बस्नुपर्छ, ‘देउता रिसाछन भन्छन् घरका ५–७ दिन त हो दुःख खाने त्यसपछी शुद्ध पालमा गइहाल्छौ।’ उनले भनिन्,छाउ हुँदा ५ दिन र सुत्केरी हुँदा २५ दिन गोठमा बस्नुपर्छ। हिउँदको सिजनमा भएत झनै कष्टकर हुन्छ।

उनको घरमा मष्टो देवतालाई पुज्ने गरिन्छ उनले भनिन् मष्टोलाई राम्रोसँग पुजेन, नियम पुर्याएन भने ‘वनमा बाघ, घरमा आग गराउछ’ त्यसैलेपनि एकदमै सजग हुन्छौ। गाउँमा त सानो गोठ थियो त्यसैमा बसिन्थ्यो,हिउँद छल्न औलतिर सरेपछी पालको बासमा सिमित लुगा कपाडामा रात काट्नु पर्छ ‘त्यसमा पनि छाउ हुँदा आगोको साहारामा रात कटाउनुको पीडा भोग्नेलाई कति छ ? देख्नेले थाहा पाउन सक्दैनन्।

परिवारमा ४ जना छौ ‘म दिनभर घरको काममा व्यस्त हुन्छु, बुढा र ससुरा भेडा लिएर जंगल जान्छन। उनीहरू वसाई सर्नुमा चिसोबाट बच्नु मात्र नभई आफ्नो जिविकोपार्जनका साथमा कमाई पनि गर्नु हो। भेडाद्धारा नुन, चामल जस्ता खाद्यान ओसारेर पैसा पनी कमाउँछन उनीहरू। उनको परिवार बाजुराबाट पुस पहिलो हप्ता नै हिडेपनि भेडा बाख्राको साथमा आउँदा डेढ हप्ता लगाएर अछामको नन्देगडा आइपुगेको इसराले सुनाइन्। आफ्नो गाउँका अन्य परिवार अछामको साफेवगर, सुतार र अन्य जिल्लामा पनि बसाइसरेको बताइन। हिउँद सकिनै लाग्दा फागुन अन्तिम तिर भोटे समुदाय आफ्नो घर फर्कने गरेको छन्।

प्रकाशित: ९ माघ २०७५ ०९:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App