१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

माघेसंक्रान्तिमा विदेशी सक्खरखण्ड

फाइल तस्बिर

काठमाडौं - हामीले मनाउने संस्कृति र चाडपर्वसँगै विभिन्न परिकार पनि जोडिएर आउँछन् तर विडम्बना के छ भने हामीले चाडपर्वलाई निरन्तरता दिँदै गयौं तर तीसँग जोडिएका परिकारको उत्पादनलाई भने बिर्सियौं।

यसको एक उदाहरण हो मुलुकभर मनाइँदै गरेको माघेसंक्रान्ति। यस पर्वमा खाइने परिकार विदेशबाटै आयात गर्नुपर्ने अवस्था छ। चालु आर्थिक वर्षको पाँच महिनामा मुलुकमा १ लाख ६७ हजार ५ सय केजीभन्दा धेरै सक्खरखण्ड भित्रिएको छ। छिमेकी देश भारतबाट आयात भएको उक्त सक्खरखण्डको मूल्य ३९ लाख ६९ हजार रुपैयाँ छ। यो गत आर्थिक वर्षभरिमा भित्रिएको सक्खरखण्डको झन्डै चार गुणा हो। भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष नौ लाख २५ हजारको ४२ हजार ४ सय ६५ किलो सक्खरखण्ड आयात भएको थियो।

विभिन्न चाडबाड र संस्कृतिसँग जोडिएका स्थानीय परिकारको उत्पादन घट्दै गएको कृषि विज्ञ कृष्ण पौडेलले बताए। ‘हामीले चाडबाड त मनायौं तर यसका लागि गर्नुपर्ने कर्म भने बिर्सिंदै गएका छौं,’ उनले भने। मुलुकमा उत्पादन हुने जरा प्रजातिको खाद्यबालीको उत्पादन घट्दै गएको छ भने आयात बढ्दै गएको छ। ‘सक्खरखण्ड, तरुल, पिँडालु, भ्याकुरजस्ता खाद्यबालीलाई हेला गर्न थालिएको छ,’ पौडेलले भने। गत आर्थिक वर्षमा भारतबाट १ हजार ४ सय ८३ केजी पिँडालु आयात भएको छ। यसको मूल्य १ लाख ७१ हजार रुपैयाँ रहेको विभागको तथ्यांक छ।

पाँच महिनामा मुलुकमा ३९ लाख ६९ हजार रुपैयाँको १ लाख ६७ हजार ५ सय केजीभन्दा बढी सक्खरखण्ड भित्रिएको छ ।

पौडेलका अनुसार नेपाल रुट जातका खाद्यबाली उत्पादनका लागि सबैभन्दा उपयुक्त ठाउँ हो। पहाडी भेगमा यस्ता बाली उत्पादन गर्न उपयुक्त माटो छ। ‘यस्ता बाली सुक्खा र कमसल माटोमा उत्पादन हुन्छन्,’ पौडेलले भने। ‘रुट’ जातका खाद्यबाली भिटामिनयुक्त हुने भएकाले मानव स्वास्थ्यका लागि महत्वपूर्ण छन्। तर हामीले आफ्नो बारी बाँझो राखेर यस्ता खाद्यवस्तुका लागि विदेशको भर पर्न थालेको पौडेलले बताए।

मुलुकभित्रै सजिलै उत्पादन हुनसक्ने खाद्यबालीलाई समेत उपेक्षा गर्दै जाँदा हरेक वर्ष व्यापार घाटा फराकिलो बन्दै गएको छ। भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार पाँच महिनामा मुलुकको व्यापार घाटा ५ खर्ब ६० अर्ब छ। गत आर्थिक वर्ष सोही अवधिमा ४ खर्ब १८ अर्ब व्यापार घाटा थियो। चालु आर्थिक वर्षको पहिलो पाँच महिनाको तथ्यांकअनुसार आयात ३६.११ प्रतिशतले वृद्धि भएको छ।

प्रकाशित: १ माघ २०७५ ०१:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App