९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

माघीको मुखमा सुनसान थारु बस्ती

टीकापुर - कैलालीको पूर्वी क्षेत्रका थारु बस्तीमा माघी पर्वको खासै चहलपहल छैन। कुनै बेला उक्त पर्वमा भरिपूर्ण हुने थारु बस्ती यो वर्ष प्रायः सुनसान देखिन्छन्। मधेश–थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ र ८ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनापछि थारु बस्तीमा माघी पर्वको रौनक हराएको धेरैको बुझाइ छ। भदौ ७ गते झडप हुँदा एसएसपीसहित आठ प्रहरी र एक बालकको मृत्यु भएको थियो भने भोलिपल्ट थारु बस्तीमा आगजनी भएको थियो। त्यसयता माघी पर्व निराशामा बितेको स्थानीय बासिन्दा बताउँछन। टीकापुर घटनापछि कुनै पनि चाडपर्वले समुदायमा खुसी ल्याउन नसकेको थारु अगुवाहरू बताउँछन्।

‘जब चाडपर्व आउँछन् तब हाम्रो दिमागमा त्यही घटना आउँछ,’ स्थानीय थारु अगुवा गोपाल चौधरीले भने, ‘टीकापुर घटनापछि हामी रमाउन सकेका छैनौं।’

टीकापुर घटनामा संलग्न आरोपमा २६ जना थारु अगुवा जेलमा छन्। जसमध्ये कैलाली क्षेत्र नं. १ बाट विजयी सांसद रेशमलाल चौधरी पनि हुन्। उनलाई केही दिनअघि मात्र पदको सपथ खुवाइएको छ। त्यस दिन थारु समुदायमा खुसीयाली छाएको थियो। कतिपय ठाउँमा दीपावलीसमेत गरिएको थियो। तर उनलाई पुनः जेलमा लगिएपछि त्यो खुसी हराएको सुदूरपश्चिम प्रदेशका सांसद कृष्ण चौधरी बताउँछन्। ‘जनमतको सम्मान भएकामा हामी निकै खुसी थियौं,’ उनले भने, ‘त्यो खुसी धेरैबेर टिक्न सकेन। राज्यले हाम्रो भावनामाथि प्रहार ग¥यो।’ उनले यस्तो अवस्थामा थारु बस्तीमा माघी पर्वको चहलपहल नहुनु स्वाभाविक भएको बताए।

टीकापुर घटनाको प्रभावसँगै थारु समुदायका तीनवटा माघी पर्व निरस बने। यो माघी पर्व पनि त्यसैगरी बित्ने देखिएको छ। यो घटना थारु समुदायको मनमा गढेर बसेको छ। मनमा पीडा बोकेर माघी पर्व हर्षाेल्लासपूर्वक मनाउन निकै कठिन भइरहेको स्थानीय बताउँछन्। थारु समुदायले टीकापुर घटनाको सांकेतिक विरोधस्वरूप माघी पर्व उल्लासका साथ नमनाएको कतिपयको बुझाइ छ।

‘यसलाई सांकेतिक विरोधभन्दा पनि हुन्छ,’ थारु कल्याणकारी(क्षेत्र नं. १ का कैलाली)का अध्यक्ष लौटन चौधरीले भने, ‘मनमा निराशा बोकेर हास्न गाह्रो हुनेरहेछ।’ थारु बाहुल्य केही बस्तीमा मात्रै माघी पर्वको थोरै चहलपहल देखिन्छ। तर यसले आसपासका अन्य थारु बस्तीलाई छुन सकेको छैन। जानकी गाउँपालिका थारु बाहुल्य भएको क्षेत्र हो। तर यस वर्ष विगतमा जस्तो माघी पर्वको चहलपहल हुन नसकेको गाउँपालिका अध्यक्ष प्रदीप चौधरी बताउँछन्। ‘पहिलेजस्तो चहलपहल छैन,’ उनले भने, ‘आम मान्छेमा राज्यबाटै विभेद भएको अनुभूति भइरहेको छ।’

मधेश–थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ र ८ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनापछि थारु बस्तीमा माघी पर्वको रौनक हराएको धेरैको बुझाइ छ।

तर कतिपय व्यक्ति भने माघी पर्वको चहलपहल घट्नुमा यसप्रति युवा पुस्ताको चासो नहुनु पनि ठान्छन्। उनीहरूको बुझाइमा युवा पुस्ता माघी पर्वको परम्परागत शैलीबाट टाढा हुँदै गएको छ। यसकारण थारु बस्तीमा माघी पर्वको महत्व घट्दै गएको उनीहरू बताउँछन्। माघी पर्व थारु समुदायको प्रमुख चाड हो। थारु समुदायले यसलाई नयाँ वर्षका रूपमा समेत मनाउँछन्। यस बेला देशविदेश रहेकाहरू घर फर्कन्छन्। वर्षभरि घरपरिवारबाट टाढा रहेकाहरूको मिलन यही पर्वका अवसरमा हुन्छ।

माघी पर्वअन्तर्गत पुस मसान्तको साँझ घरपरिवारबीच खानपिन, भेटघाटका साथै रमाइलो गरिन्छ। छरछिमेकीलाई समेत साँझको खाना खुवाउने चलन छ। गाउँको मुखियाको घरमा डफ बोलाउन जान्छन्। रातभर गीत गाएर जाग्राम बस्ने चलन छ। बिहानपख मुखियालाई नजिकैका कुवामा नुहाउन लगिन्छ। त्यहाँ पूजाआजा गरिन्छ।

माघ १ गते बिहान सबैले नुहाइधुवाई गरेर मान्यजनबाट आशीर्वाद थाप्छन्। माछा, मासु, ढिक्री, अन्डिको भातजस्ता मिठो खानेकुरा खाने चलन छ। घरका सबै सदस्यहरूसँगै बसेर घरमा राखेको जाँड (मदिरा) पिउँछन्। ‘सबैलाई अनिवार्य त हुँदैन तर प्रायः सबैले पिउँछन्,’ जोशीपुर गाउँपालिका मुद्दीका हरि चौधरीले भने, ‘पिउन चाहनेलाई रोकथाम पनि हुँदैन।’

पछिल्लो दिन घरका सबै एकसाथ बस्छन्। उनीहरू वर्षभरिका लागि घरको योजना बनाउँछन्। काम बाँडफाड गर्छन्। एक अर्काप्रति मनमा लागेका असन्तुष्टि पोख्छन्। परिवारका सबै सदस्य सँगै बस्न नसक्ने भए अंशबन्डा गरेर छुटिन्छन्। सबै आ–आफ्ना काममा जुट्छन्।

प्रकाशित: ३० पुस २०७५ ०२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App