७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

अदालतका टिप्पणी सम्बोधन गर्न निर्देशन

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले न्यायपालिकाप्रति ठडिएको औंलाका सवाल र टिप्पणी निराकरण गर्ने समय आएको बताएका छन्। जबराले स्वतन्त्र र सक्षम न्यायपालिकाको अवधारणालाई सही बाटोमा लैजान अदालतप्रति ठडिएको औंलालाई सम्बोधन गर्न उच्च अदालतका मुख्य न्यायाधीशहरुलाई निर्देशन दिएका छन्। सोमबार उच्च अदालतका मुख्य न्यायाधीशलाई निर्देशन दिंदै उनले न्यायपालिकाप्रतिको जनआस्था बढाउन आग्रह गरेका हुन्।

उच्च अदालतका नवनियुक्त मुख्य न्यायाधीश सुष्मालता माथेमालाई पद तथा गोपनीयताको शपथ गराएपछि ७ वटै उच्च अदालतका मुख्य न्यायाधीशसँग प्रगतिको समीक्षासहितको उनले सुझाव दिए। गत पुस १९ मा बसेको न्यायपरिषद् बैठकले माथेमालाई उच्च अदालतको मुख्य न्यायाधीशका लागि प्रधानन्यायाधीश समक्ष सिफारिस गरेको थियो। माथेमालाई संविधानको धारा १४० को उपधारा (१) बमोजिम नियुक्ति गरी सपथ गराइएको हो। प्रन्या जबराले जनताको न्यायपालिकाप्रतिको गुनासो, आम जनतामा न्यायपालिकाप्रतिको धारणालाई परिवर्तन गर्न मुद्दा छिनेर मात्रै नहुने बताए। ‘अदालतलाई सदृढ बनाउने सवालमा कुनै पनि कमीकमजोरी नगर्नसमेत निर्देशन गरे।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले न्याय नपाएर छटपटिएकालाई न्यायको विश्वास दिलाउन आग्रह गरे। न्यायलयलाई सुदृढ बनाउन राज्यबाट गर्ने काममा सरकारबाट पूर्ण सहयोग हुने बताउँदै न्यायपालिकाको गरिमालाई असर पुग्नेगरी सरकारबाट हस्तक्षेत्र, आग्रह, पूर्वाग्रह नगरेको स्पष्ट पारे। कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकाप्रति अहिले देखिएको नकारात्मक धारणा चिर्न सबैले एकसाथ काम गर्नुपर्ने बताए।

प्रकाशित: २४ पुस २०७५ ०१:४० मंगलबार

प्रधानन्यायाधीश चोलेन्द्र_समशेर_जबरा मुख्य_न्यायाधीश उच्च_अदालत सर्वाेच्च_अदालत न्यायपालिका