५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

खोरुङ्गा खोेलाको पुल उद्घाटन

खोरुङ्गा खोेलामा गाउँपालिकाले बनाएको पुल । तस्बिर : भगिश्वर/नागरिक

तेह्रथुम – निर्माणाधिन पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत म्याङ्लुङ फेदाप सडक खण्डमा पर्ने खोरुङ्गा खोलामा फेदाप गाउँपालिकाले निर्माण गरेको अस्थायी पुलको उद्घाटन गरिएको छ। सम्झौंता समयसम्ममा समेत ठेकेदार कम्पनीले खोरुङ्गा खोलामा मोटरेबल पुल नबनाएपछि फेदाप गाउँपालिकाले निर्माण गरेको अस्थायी पुलको पुलको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री  इन्द्रबहादुर आङबो (मौसम) ले उद्घाटन गरेका हुन्।

म्याङलुङ, फेदापसँगै आठराङ गाउँपालिका हुँदै पूर्वी जिल्ला जोडने खोरुङ्गा खोलामा मोटरेवल पुल नहुँदा खोलाको बीचबाटै सवारी साधन आवत्– जावत् गर्नु परेको र जोखिमसँगै वर्षादको समयमा दैनिक खाद्य सामाग्री ढुवानी र यात्रुलाई समेत आवत जावतमा समस्या भएको भन्दै फेदाप गाउँपालिकाले ह्युम पाइप राखेर अस्थायी पुल निर्माण गरेको गाउँपालिका अध्यक्ष हरी हुक्पाचोङबाङले बताए।

अस्थायी पुल निर्माणपछि नागरिकलाई आवतजावतमा सहज भएको  स्थानीयले बताएका छन्। यसअघि खोरुङ्गा खोलामा बनाउने भनिएको मोटरेबल पुल निर्धारित समयमा समेत नबनाएपछि फेदाप गाउँपालिकाको १६ लाख रुपैयाँ लगानीमा ६ वटा हमपाइप राखेर अस्थायी पुल निर्माण गरिएको गाउँपालिकाका प्रवक्ता नबिन चोङबाङले बताए। गत वर्षनै गाउँपालिकाले रकम विनियोजन गरेपछि वर्षादको समयमा खोलामा पानीको बहाव बढेसँगै काम स्थगित गरिएको थियो।

हिँउद याममा खोलामा पानीको बहाव कम भएपछि कामलाई तीव्रता दिइ निर्माण सम्पन्न गरिएपछि यही पुलबाट साना तथा ठुला सवारी साधन आवतजावत हुन थालेको चालकले बताएका छन्। यसअघि खोलामा पुल नहुँदा वर्षा याममा ३ महिना भन्दा बढी सावारी आवागमन बन्द हुने गरेको थियो। खोलामा पुल नभएको कारण सवारी आवागमन बन्द हुँदा ५ जिल्ला पार गरेर तेह्रथुमको आठराई जानुपर्ने बाध्यता रहेपनि अब यो बाध्यता हटेको फेदाप जलजले बस्ने इन्द्र नेपालीले बताए।

मध्यपहाडी लोकमार्ग अन्तर्गत म्याङ्लुङ–सक्रान्ती सडकखण्डको खोरुङ्गा खोलामा पनि पक्की पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले समयमा काम नगरेपछि यात्रुलाई सास्ती भएको छ। निर्माणाधीन लोकमार्गको खोरुङ्गा खोलामा मोटरेवल पुल नबन्दा वर्षा सुरु भएसँगै सवारी साधन ठप्प हुने गरेका छन्। एक वर्षभित्र काम सक्ने गरी लोकमार्गले पुल निर्माणका लागि टेण्डर गरी २०७३ सालमा कोशी एण्ड न्यौपाने निर्माण सेवा प्रालिलाई कामको जिम्मा दिएको थियो।

पुल निर्माणका लागि अनुमानित लागत ५ करोड ९० लाख १ हजार रुपैयाँ तय गरेकोमा ४ करोड ९६ लाख ९१ हजार ६४५ रुपैयाँमा काम गर्ने गरी कोशी एण्ड न्यौपानेले जिम्मा लिएको थियो। २०७४ पुषभित्रै काम सम्पन्न गर्न भनिए पनि सो निर्माण सेवाले हालसम्म पनि पुल निर्माणको काम नथालेको लोकमार्ग आयोजनाले जनाएको छ।

प्रकाशित: १५ पुस २०७५ १०:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App