९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

जगदुल्ला गाउँपालिकामा एक घर एक व्यवसाय लागु

डोल्पा - डोल्पाको जगदुल्ला गाँउपालिकाले एक घर एक व्यवसायको थालनी गरेको छ। आफ्नो क्षेत्रमा कुनै पनि घरधुरीका परिवारका सदस्य बेरोजगार नहुन भनेर उनीहरुको आर्थिक जीवनस्तर माथि उठाउन एक घर एक व्यवसाय कार्यक्रम लागु गरिएको हो।

पहिलो चरणमा जगदुल्ला गाउँपालिका ४ चौरीकोट छाँचुका ३५ घरधुरीलाइ चौरी वितरण गरिएको जगदुल्ला गाँउपालिकाका अध्यक्ष नारासिँह रोकायाले बताए। गाँउपालिकाका १९० घरधुरीले पशुपालन,३१४ घरधुरीले कृषि र ७८ घरधुरीले अन्य व्यवसाय गर्ने गरि कुल ५ करोड ६० लाख बराबरको रकम योजनाका लागि विनियोजन गरिएको छ।

पहिलो चरणमा वडा नम्बर ४ का प्रत्येक घरधुरीलाई २ वटा चौरीगाई र बाख्रा पालन गर्नेलाइ १२ वटा स्थानीय सरकारले नै अनुदान स्वरुप प्रदान गरेको हो। २ चौरीगाई अनुदानमा लिनेले एक अनिवार्य किन्न पर्ने छ भने बाख्रा पालनको लागि १२ वटा अनुदानमा र ८ कृषकले अनिवार्य किन्न पर्ने बताइएको छ।

आर्थिक बर्ष ०७५/०७६को बजेटबाट एक घर एक व्यवसायको कार्यक्रम सञ्चालन भएको नायब सुब्बा केशब जैसिले जानकारी दिए। स्थानीय सरकारले एक घर एक व्यावसाय गर्नका लागि ९६ हजार ६०० रुपैयाँ बराबर अनुदान दिएको जैशिले बताए।

स्थानीय सरकारले पहिलो पटक कृषकको चाहना अनुसार नै अनुदान दिएकोले सरकारको अनुदान कुनैपनि हालतमा खेर नजाने स्थानीय भिमबहादुर बस्नेतले बताए। उनी भन्छन यो हाम्रा लागि सुनौलो अवसर हो स्थानीय सरकारले हाम्रै लागि लगानी गरेको हो।

प्रत्येक शनिबार कृषकलाई एक घर एक व्यावसाय अन्तरगतको अनुदान वितरण गर्ने गरिएको गाँउपालिका अध्यक्ष नारासिँह रोकायाले जानकारी दिए । गाँउपालिकामा रहेका कुनै पनि घरधुरिका नागरिकले नेपाल भर आफ्नो नामको अनुदानबाट व्यावसाय गर्न पाउने तर गलत प्रयोजन गरेको खण्डमा सबै धितो जफत गरिने समेत अध्यक्ष रोकायले जानकारी दिए। 

 

प्रकाशित: १३ पुस २०७५ १०:२३ शुक्रबार

डोल्पा जगदुल्ला_गाँउपालिका एक_घर_एक_व्यवसाय