५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

पर्यटक भित्र्याउँदै हात्ती महोत्सव

सौराहा घुम्न आएका पर्यटक। तस्बिरः सविता/नागरिक

चितवन - पुस ११ देखि १५ गतेसम्म सौराहामा हुने चितवन हात्ती महोत्सवको तयारी पूरा भएको छ। यसपटकको महोत्सव १५ औं संस्करण हो। क्षेत्रीय होटल संघ नेपाल, चितवनको आयोजनामा हुन लागेको महोत्सवको तयारी पूरा भएको संघका अध्यक्ष एवं १५ औं चितवन हात्ती महोत्सव २०७५ का संयोजक सुमन घिमिरेले जानकारी दिए।

महोत्सवको बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने उनले जानकारी दिए। महोत्सवमा राष्ट्रपतिको सहभागिता हुने भएकाले यस वर्षको हात्ती महोत्सव विशेष रहने संयोजक घिमिरेको भनाइ छ। ‘हात्ती महोत्सव चितवनको ब्रान्ड बनिसकेको छ,’ उनी भन्छन्, ‘पर्यटन प्रवद्र्धनका लागि महोत्सवको महत्वपूर्ण भूमिका रहेको छ।’ गत वर्षको महोत्सवमा एक लाख पर्यटक आउने अनुमान गरिएको थियो।

यस वर्ष एक लाख ३० हजार पर्यटकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको छ। नारायणगढ–मुग्लिन सडकखण्ड राम्रो भएकाले महोत्सवमा आन्तरिक पर्यटकको संख्या बढ्ने उनले बताए। यसअघिका वर्षमा सडकखण्डमा हुने अवरोध र यात्राका कारण हुने कष्टका कारण कम संख्यमा पर्यटक आएको उनी बताउँछन्। सडक स्तरोन्नति गरेर सहज बनाइएपछि सजिलो यात्रा हुने भएकाले पयर्टकको संख्या बढ्ने उनी बताउँछन्।

‘महोत्सवको प्रचारप्रसारमा धेरै ध्यान दिइएको छ,’ उनी भन्छन्, ‘महोत्सव हेर्नकै लागि केही स्वदेशी र विदेशी पर्यटकले होटल समेत बुकिङ गरेका छन्।’ हात्ती महोत्सवकै कारण यो समयमा करिब १५ प्रतिशत आन्तरिक पर्यटक वृद्धि भएको संयोजक घिमिरे बताउँछन्। यसपटकको महोत्सवमा हात्तीको वनभोज, फास्ट वाक प्रतियोगिता, छावाहरुको फुटबल, हात्ती पोलो, हात्ती सुन्दरी प्रतियोगिता राखिएका छन्।

पछिल्लो तीन वर्षदेखि हात्तीको वनभोज गरिँदै आएको छ। जसमा विभिन्न खानेकुरा राखेर हात्तीलाई एकैसाथ खान दिइन्छ। कवि गोष्ठी र राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति समेत समावेश गरिएको छ। ‘चितवन काव्य यात्रा’ शीर्षक दिएर महोत्सवमा पहिलो पटक कवि गोष्ठी गर्न लागिएको हो। जस अन्तर्गत साहित्यमार्फत पर्यटनलाई उजागर गर्न देशभरका २५ कविलाई सौराहामा राखेर संरक्षणमुलक कवि गोष्ठी गरिँदैछ।

सौराहा एक सय १० वटा पर्यटकीय होटल तथा रिसोर्ट छन्। सबै होटलको गरी पाँच हजार पाँच सय बेड सुविधा रहेको छ। विगतका वर्षहरुका तुलनामा यस वर्ष सौराहा आउने पर्यटकको संख्या बढेको छ। आन्तरिक तथा विदेशी पर्यटक दुवैको संख्या बढ्दै गएको अध्यक्ष घिमिरे बताउँछन्। अंग्रेजी नयाँ वर्षको समयका लागि पनि होटल बुकिङ भइरहेको उनले जानकारी दिए। नयाँ वर्षको आसपासका दिनहरुका लागि धेरैजसो होटलमा बुकिङ आइसकेको उनले बताए।

हात्ती महोत्सव सकिएकै पर्सिपल्टको दिन नयाँ वर्ष परेको छ। त्यसैले पनि यस समयमा सौराहाका होटलमा शतप्रतिशत पर्यटक हुने उनी बताउँछन््। हात्ती महोत्सवले पनि पर्यटकलाई आकर्षित गरेको उनले बताए। चितवनको पर्यटनको चिनारी नै हात्ती भएकाले सौराहामा पर्यटन प्रवद्र्धन गर्न हात्ती महोत्सव गर्न थालिएको हो। हात्ती महोत्सवले चितवनको पर्यटनलाई ब्रान्ड बनाइसकेको छ। महोत्सवले भिजिट नेपाल २०२० का लागि लक्षित पर्यटक भिœयाउन समेतसहयोग गर्ने अध्यक्ष घिमिरे बताउँछन्।

प्रकाशित: ११ पुस २०७५ ०३:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App