२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

विद्यालय संचालकको हत्या आरोपी सार्वजनिक

सर्लाही बरहथवाका मालिक महतोको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका अभियुक्तहरू । तस्बिर : टंक/नागरिक

सर्लाही – निजी विद्यालय संचालक मालिक महतोको हत्यामा संलग्न भएको आरोपमा २ जनालाई पक्राउ गरी प्रहरीले मंगलबार सार्वजनिक गरेको छ। बरहथवा नगरपालिका–५ हात्तीडण्डा निवासी ३० वर्षीय मालिकको गत शुक्रबार राती भएको हत्यामा संलग्न आरोपमा पक्राउ परेका दुई जनालाई ईलाका प्रहरी कार्यालय बरहथवामा संचारकर्मी माझ सार्वजनिक गरिएको हो।

नातामा मृतकको ज्वाईं पर्ने स्थानीय ३० वर्षीय धनेश्वर महतो र बागमती नगरपालिका–८, शंकरपुरका २६ वर्षीय रविन्द्र महतोलाई प्रहरीले मालिकको हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरी कारबाही प्रकृया अगाडि बढाएको छ। गत शुक्रबार राती फोन गरेर बोलाएपछि घर नजिकै सोतीखोला किनारमा गएका मालिकलाई धनेश्वरकै योजनामा रविन्द्र र अर्का एक अभियुक्त मिलेर हत्या गरेको प्रहरीले दाबी गरेको छ।

साँझ ७ बजेतिर सुन जस्तो वस्तु भेटिएको छ भन्ने बहाना बनाइ फोन गरेर बोलाएपछि बरहथवा बजार गएका मालिकको तीनजना मिलेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए। प्रहरीका अनुसार मालिक भेट भएपछि बरहथवास्थित राजु चौकमा रहेको रक्सी पसलबाट मदिरा किनेर ना५२प ७१४८ नम्बरको मोटरसाइकलमा चढाइ चोर्नीया पुल नजिक एकान्त बाटोमा लगेर मदिरा सेवन गराई राती हत्या गरिएको थियो।

राती ९ बजेतिर पत्नीले फोन गरेर बोलाउँदा खाना पस्कदै गर म आइहाले भनेका मालिकको धारिलो हतियारले टाउको क्षत विक्षत बनाई विभत्स् ढंगले हत्या गरिएको अवस्थामा शनिबार बिहान ४ बजे सोतीखोला चोर्नीया पुलनजिक सडकमै शव फेला परेको थियो।  मृतक मालिक र धनेश्वरले साझेदारीमा जग्गा खरिद बिक्री गर्दै आएका र छ महिनाअघि हरिवनमा जग्गाको कारोवार गर्दा मालिकले नाफा एकलौटी लिएपछि उनीहरूबीच मनमुटाव सुरु भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

मालिकले एक्लै जग्गाको कारोवार गर्दै धेरै पैसा कमाएको ठानेर धनेश्वरले मालिकको हत्या योजना बनाएको प्रहरीले जनायो। हालसम्मको अनुसन्धानबाट धनेश्वरले जीप चालक रवीन्द्र र अर्का एक व्यक्तिलाई तीन हजार दिइ मालिकको हत्या गर्न लगाएको खुलेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए। हत्यामा संलग्न अर्का अभियुक्तको पनि पहिचान भइसकेकाले खोजी तीव्र बनाइएको प्रहरीले जनाएको छ। बागमती नगरपालिका–३ ढुङ्ग्रे जिरायतमा सुपर भिजन बोर्डिङ स्कुल समेत सञ्चालन गर्ने मालिकको हत्या विरोधमा प्याब्सनको आयोजनामा सोमबार सर्लाहीका सम्पूर्ण निजी विद्यालय समेत बन्द भएको थियो। 

प्रहरीले पक्राउ परेका अभियुक्तसँगै मालिकको टाउको क्षत विक्षत बनाउँन प्रयोग गरिएको धारिलो हतियार ग्रासी, एउटा मोटरसाइकल र रवीन्द्र महताले हत्या गर्दा लगाएको रगत लतपतिएको कपडा समेत बरामद गरेको छ। २ नं. प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सन्तोष खड्का नेतृत्वको टोली एवं जिल्ला प्रहरी कार्यालय सर्लाही र ईलाका प्रहरी कार्याय बरहथवाको संयुक्त टोलीबाट सुक्ष्म ढंगले अनुसन्धान अगाडि बढाउँदै अभियुक्तलाई पक्राउ गरिएको र अभियुक्तलाई कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालतबाट म्याद लिएर कारबाही प्रकृया अगाडि बढाइसकिएको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए। मृतक महतोका श्रीमति सहित ८ र ४ वर्षका २ छोरा रहेका छन्। एक्लो छोराको हत्याले मृतकका बुबा,आमा, श्रीमति सहित आफन्त भावविहल बनेका छन्।

प्रकाशित: १० पुस २०७५ १०:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App