दाङ - दाङको दंगिशरण गाउँपालिका–१ का ३० वर्षीय सञ्जित रत्गैया बिबिएस दोस्रो वर्षमा पढ्दै थिए। घोराही–४ स्थित मामाको घरमा बसेर पढिरहेका उनी अध्ययनकै क्रममा जागिरे बन्ने योजनामा लागे। वन रक्षकका लागि आवेदन खुल्यो। उनले आवेदन दिए र पास पनि भए।
‘भाञ्जाले वन रक्षकको जागिर खाने भनेर इच्छा देखाएपछि मैले पनि नाइँ भनिनँ,’ उनका मामा जितबहादुर चौधरीले भने, ‘लोकसेवामार्फत लिइएको त्यो परीक्षामा उनी पास भए र वन रक्षक बने।’ एकातिर वन रक्षकको जागिर अर्कातिर बिबिएसको पढाइ। उनलाई जागिरअनुसार अमिल्दो लाग्यो। घोराहीस्थित मार्क कलेजमा दोस्रो वर्ष पढ्दापढ्दै बीचमै छाडे। उनको जागिर अनुसारको पढाइ वन विज्ञान, यसै वर्ष सुरु हुँदै थियो। उनले त्यही पढ्ने योजना बनाए। वन विज्ञान पढेर रेन्जर बन्ने उनको लक्ष्य थियो। ‘वन विज्ञान पढेर रेन्जर बन्छु भनेर भाञ्जाले बिबिएसको पढाई छाड्ने निर्णय गरे,’ मामा जितबहादुर सुनाउँछन्,‘उनको सपनालाई नकार्न सकिनँ। हुन्छ भनिदिएँ।’
उनी वन विज्ञान पढ्न दसैंअघि मात्रै घोराहीमा खुलेको सहिद कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयमा भर्ना भएका थिए। ‘भर्ना हुने बेला भाञ्जाले मसँग पैसा मागेका थिए, तर आर्थिक अवस्था कमजोर भएकाले मैले दिन सकिनँ,’ उनले भने, ‘पछि आफ्नी सानीआमासँग ऋण लिएर भर्ना भएछन्।’
तर, रेन्जर बन्ने वन रक्षक सञ्जितको सपना शुक्रबारदेखि सदाका लागि विदा भएको छ। ‘रेन्जर बन्ने सपना बोकेर वन विज्ञान पढाइमा लागेका भाञ्जा कहिले नफर्कने गरी अस्ताए,’ जतीबहादुर पछुतो मान्दै भन्छन्, ‘बरु बिबिएस पढाइ छाड्ने बेलै रोक्नुपर्ने रहेछ।’ घरको जागिरे जेठो छोराको निधनले अहिले सञ्जितको परिवार शोकमा डुबेको छ।
यस्तै जुम्लाकै चन्दनाथ–१० का रितेन्द्र शाही र रूपेश शाही मिलनसार साथी थिए। वन विज्ञान पढ्ने योजना दुवैले सँगै बनाए। दाङको घोराहीमा सँगै डेरा लिएर पढ्न थाले। तर दुर्घटनामा परी दुवै जनाको ज्यान गएको छ। ‘उनीहरू पहिले देखि नै अति मिल्ने साथी थिए, सँगै सल्लाह गरेर पढ्न दाङ आएका थिए,’ रूपेशका मामाका छोरा महेन्द्र गिरीले भने, ‘दुवै जनाको एकै घटनामा निधन भएछ।’
काठमाडौंमा अध्ययनरत गिरी शनिबार बिहान दाङ आएका थिए।तुलसीपुर हेमन्तापुरकी लक्ष्मी विकलाई आफ्ना छोरा गणेश बस दुर्घटनामा परेका होलान् भन्ने लागेकै थिएन। सहचालक गणेश कुन बसमा काम गर्छन् भन्ने पनि लक्ष्मीलाई थाहा थिएन। तुलसीपुरमा बस दुर्घटना भएपछि उनी शनिबार तुलसीपुर अस्पतालमा पुगिन्। त्यही बेला उनलाई थाहा भयो, आफ्ना छोरा गणेश पनि उही घटनामा परेका रहेछन्। ‘मलाई त केही थाहै थिएन,’ उनले भनिन्, ‘यहाँ आउँदा आफ्नै छोराको लास देख्नु-यो।’ गणेशले गत मंसिर २९ गते विवाह गरेका थिए। शुक्रबार बिहानै उनी रिजर्भ बसमा सहचालक बनेर सल्यान जानुपर्ने भन्दै घरबाट निस्किएका थिए। शनिबार दिनभर तुलसीपुरस्थित अञ्चल अस्पताल क्षेत्रमा रुवाबासी चल्यो। मृतकका आफन्तहरू पालैपालो शव बुझेर घर तर्फ लागेका देखिन्थे।
प्रकाशित: ८ पुस २०७५ ०२:०२ आइतबार