१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

अनशन तोड्दा जुस पिलाउने नथुनी रामको गाउँमा डा. गोविन्द केसी (भिडियो)

सोठियाईन (सिरहा)- ‘कि होय छै (के हुन्छ) ?’

–‘ठेहुन(घुँडा) दुखाय छै ।’

‘चलयो फिरैमे समस्या होयछै की (हिँडडुल गर्न समस्या हुन्छ)?’

– ‘होय छै, डाक्टर साहेब, बैसैउठैमे सेहो दिक्कत होय छै (हुन्छ डाक्टरसाब उठबस गर्न पनि समस्या हुन्छ)।’

यो संवाद हो– वरिष्ठ हाडजोर्नी चिकित्सक डा. गोविन्द केसी र सिरहा सखुवानन्कारकट्टी गाउँपालिका–२ सोठियाईनका एक भलगोभीया सदाबीचको।

मेडिकल शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँचका माग राखेर निरन्तर अनशन आन्दोलन गरेर सामाजिक अभियन्ताको बेग्लै पहिचान बनाएका डा. केसी १४ औं अनशन तोड्दा जुस पिलाउने नथुनी रामको गाउँ सोठियाईनको बिपन्न बस्ती पुगेर तीन दिनसम्म उपचार गरेका छन्। यहाँको बिपन्न बस्तीका सदा र राम गरि करिब २ सय परिवारलाई न्यानो कम्बल बाँडे। सोठियाईनको स्वास्थ्य चौकीमा यस भेगका बिरामीलाई उपचार गर्न डा. केसीलाई सघाईरहेका थिए डा. राज झा र स्वाथ्य चौकी प्रमुख (हेल्थ असिस्टेन्ट) कल्पना यादवले। डा. झा केसीका विद्यार्थी हुन्।

डा. केसीले अधिकांश बिरामीसँग स्थानीय मैथिली भाषामै कुराकानी गरे। राम्ररी मैथिली बोल्न नआए पनि डा. केसी बिरामीका समस्या, लक्षणलगायत जानकारी स्थानीय भाषामै लिइरहेका थिए।

स्थानीय महिला तथा सर्वसाधारणलाई नेपाली बोल्न कठिन भएको महसुस गरेरै डा. केसीले मैथिली बोल्ने कोशिस गरेको स्वास्थ्य चौकीकी प्रमुख यादवले बताईन।

‘बिरामीलाई डाक्टरसाबले नेपालीमा सोध्दा त्यसलाई मैले मैथिलीमा अनुवाद गरेर बिरामीलाई बताईदिन्थे,’ यादवले भनिन्, ‘डाक्टरसाब अधिकांश बिरामीसँग आफैं मैथिलीमा सोध्नुहुन्थ्यो।’ डा. केसीले मैथिलीमा सोध्दा स्थानीय बिरामीले समस्या बताउन सहज महसुस गरिरहेका थिए।

‘उहाँले मैथिलीमा समस्या सोध्दा आफ्नै गाउँठाउँको डाक्टरजस्तो लाग्यो’,घुँडाका बिरामी सूर्यनारायण यादवले भने, ‘यति ठूलो र चर्चित डाक्टर यति सहज र सरल होलान् भन्ने हामीले सोचेकै थिएनौं।’

डा. केसीले सोमबार र मंगलबार दिनभर सिरहाको दक्षिणी भेगमा पर्ने सीमावर्ती सोठियाईन र नवराजपुरको दलित बिपन्नसँग बिताए। सोमबार बिहानै सोठियाईनका बिपन्न बस्तीमा कम्बल बाँड्दै उनी नवराजपुरका सदाय र राम बस्तीमा कम्बल बाँडेर उनीहरुको समस्या बुझेका थिए।

लहान आईपुगेपछि डा. केसीले १४ औं अनसान तोड्दा जुस पिलाउने नथुनी रामलाई फोन गरेर सोठियाईन जाने बाटो सोधेका थिए। ‘मँ लहानमा छु, यहाँबाट तपाईको गाउँ जाने बाटो कता हो?’ फोनमा डा. केसीको प्रश्नले नथुनी आश्चर्य प्रकट गरे,‘तपाई लहान पुग्नु भयो ?’ नथुनीले देखाएको बाटो पछ्याउँदै डा. केसी आईतबार सोठियाईनको मुसहर बस्ती पुगेका थिए। सञ्चारमाध्यममा चर्चित अनुहार डा. केसीलाई दूरदेहातको गाउँमा देख्दा पत्यार लागेन स्थानीय रामसुफल यादवले भने। हजुर यहाँ कसरी, किन ?’ यादवको जिज्ञासा झर्न नपाउँदै डा.केसीले भनिहाले म यहाँको बिपन्नहरुका लागि केहि थान न्यानो कम्बल लिएर आएको छु। शीतलहर आउँदैछ । यहाँका बिपन्नहरु शीतलहरले कठ्यांग्रिएर पीडित हुने गरेको देखेको, सुनेको छु । चिसो बढ्दै गएको छ । बृद्धबृद्धाहरु हाडजोनीको समस्याले पीडित हुनुहुन्छ होला मैले केही औषधी र मलम पनि लिएको आएको छु। मधेसका बिपन्नहरुप्रती डा. केसीले देखाएको सद्भावपूर्ण चिन्ताले रामसुफल भाभुक बने। उनले डा. केसीलाई बस्ती घुमाईदिए। 

सोमबार बिहानै लहानबाट टेम्पोमा सोठियाईन पुगेका डा. केसी दिनभर पीडितहरुलाई न्यानो बाड्न र उनीहरुको उपचारमै व्यस्त रहे।

 ‘भगवान आउनुभएछ’

लहानबाट १४ किमी दक्षिण सोठियाईन गाउँको पोखरी डिलमा रहेको साघुँरो कोठा। त्यही साघुँरो कोठाभित्र र बाहिर सोमबार मंगलबार र बुद्यबार बिहानसम्म खचाखच भिड थियो। त्यहाँ डाक्टर बिरामी जाँचिरहेका थिए।

चिसोमा सानो कोठाका झ्यालबाट सिकसिक पश्चिमी हावाले कोठाको तामक्रम चिस्याईरहेको थियो। पश्चिमी हावाको सिरेटोबाट बेपरबाह बिरामीको उपचारमा आनन्द महसुस गर्दै थिए– डा. गोविन्द केसी। धेरैले उनलाई यसअघि चिनेका थिएनन्।

‘सबैको राम्रो उपचार होस् भनेर आफ्नो ज्यान दाउमा लगाउने डाक्टर यिनै पो रहेछन्,’ सोठियाईनका शूर्यनारायण चौधरी (७०) ले सुनाए, ‘डाक्टरके रुपमे इँ भगवान है (डाक्टरको भेषमा उनी भगवान हुन्)।’ उनले थपे,‘सरकारो सँ पहिने हमरसबके दुःखमे मलहम लगाब ऐलै( सरकारभन्दा अगाडि हाम्रो दुःखमा मलम लगाउन आए)।’

डा. केसी शिविरमा आएका बिरामीको उपचारमा तल्लिन थिए। शिविरको संयोजन गरेका यस वडाका वडा अध्यक्ष बिल्टु यादवले ‘यत्तिका निस्वार्थ र मानवतावादी चिकित्सक’ आफूले पहिलोपटक देख्न पाएको सुनाए।’ डा. केसीका लागि दुःखीको सेवा नै प्रमुख प्राथमिकता रहेको पाएँ,’ उनले भने, ‘उहाँको जीवनशैली र सेवाभावलाई जति बुझ्यो, उति बुझ्न मन लाग्छ।’

‘बिरामीको उपचारमा यति गम्भीर डाक्टर पनि यो देशमा रहेछन्,’ स्वास्थ्य चौकी प्रमुख कल्पानाले भनिन्, ‘बिरामीसँगको व्यवहार, उपचार गर्ने शैली सबै उच्च कोटिको पाएँ।’

बुद्यबार सखुवानन्कारकट्टी २ का वडा अभ्यक्ष बिल्टु यादवले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गर्न खोज्दा डा. केसीले अस्वीकार गरे। दुःखमा हामी नेपाली सँगै छौं भने सन्देश दिन पनि आफू मधेसको दुर्गम बस्तिमा स्वास्थ्य शिविर लिएर आएको डा. केसीले सुनाए, ‘यहाँ आएका बेला केहि न्यानो कम्बल, बिरामीको उपचार र भएका औषधि पनि दिन मन लाग्यो।’ मैले कुनै ठूलो काम गरेको छैन्, तपाईहरुले तीन दिनसम्म साथ,सहयोग गरिदिएर मैले यहाँका जनतालाई सेवा गर्न पाएँ उनले भने,‘सम्मान अस्विकार गरेकोमा मलाई माफ गरिदिनुहोस्, हजुरहरुलाई सहयोगको लागि धेरै धन्यवाद।’ मैले प्रायः सबै जिल्लामा गएर सेवा गरेको छु उनले भने,‘सेवा गर्नु सौभाग्य हो, सौभाग्यले सन्तुष्टि दिन्छ, सन्तुष्टि हुने काम गर्दा खुसी मिल्छ ।’ मेरालागि जनताको सेवा गर्न पाउनु भन्दा ठूलो सम्मान र खुसी अरु केहि होईन, उनी मुस्काएँ। 

प्रकाशित: २६ मंसिर २०७५ १०:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App