१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

खानेपानी योजना समुदायलाई

सिन्धुपाल्चोक – भूकम्पपछि पुनर्निर्माणलाई सघाइरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफाम नेपालले जिल्लामा २३ वटा खानेपानी आयोजना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ। नेपाल भूकम्प पुनर्लाभ तथा पुनर्निर्माणअन्तर्गतका तीन संस्थासँग साझेदारी गर्दै सात स्थानीय तहमा आयोजना बनेका हुन्। दुई वर्ष लगाएर बनाइएका खानेपानी आयोजनामा झन्डै ६ करोड ११ लाख रुपैयाँ खर्च भएको अक्सफामले जनाएको छ।

आयोजनाबाट जुगल, भोटेकोसी, त्रिपुरासुन्दरी, हेलम्बु गाउँपालिका तथा बाह्रबिसे, चौतारा साँगाचोकगढी र मेलम्ची नगरपालिकाका दुई हजार दुई सय ८७ परिवारका १२ हजारभन्दा बढी जनसंख्यामा खानेपानी पहुँच पुगेको स्थानीय साझेदार संस्था जनहित ग्रामीण सेवा समितिका कार्यक्रम संयोजक श्रीधर न्यौपानेले बताए। उनका अनुसार चार सय १७ धाराबाट स्थानीयले आँगनमै सुविधा लिइरहेका छन्। ‘सबै धारा अपांगमैत्रीसमेत छन्,’ उनले नागरिकसँग भने।

भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकमा खानेपानी क्षेत्रमा समेत ठूलो क्षति पुगेको थियो। सानाठूला झन्डै ६ सय खानेपानी योजना क्षतिग्रस्त भएका थिए। भूकम्पले मूल सुकाउँदा र पानीको स्रोत दबाउँदा सुरुका ६ महिना खानेपानीको हाहाकारै मच्चियो। अहिले अधिकांश क्षतिग्रस्त आयोजना निर्माण भइसकेका छन्।

भूकम्पपछि बनेका आयोजनाले खानेपानी सुविधा मात्र नदिएर पुनर्निर्माणलाई सघाइरहेको स्थानीय बताउँछन्। खानेपानी जोरजाम गर्ने जिम्मेवारीमा रहेका महिलाले आयोजनाबाट बढी लाभ पाएका छन्। ‘पानीको जोहो गर्न टाढा जानुपर्ने बाध्यता हटेको छ,’ कदमवास सिरानचौरकी उपभोक्ता चन्द्रकला पहरीले भनिन्। बाक्लो मगर बस्ती रहेको यो गाउँमा जनहितमार्फत मुलाबारी कोदारी खानेपानी आयोजना बनेको थियो। पानी संकलन गर्ने चार ट्यांकीमार्फत र २९ धाराबाट पानी वितरण गरिएपछि गाउँका महिला हाँस, कुखुरा र बंगुर पालनमा समेत आकर्षित भएको आयोजनाका सचिव डोलबहादुर मगरले बताए।

अक्सफामसँगको साझेदारीमा जनहितले मात्रै १२ वटा खानेपानी आयोजना निर्माण गरेको छ। यसमा झन्डै २ करोड ७५ लाख रुपैयाँ लगानी भएको कार्यक्रम संयोजक न्यौपाने बताउँछन्। त्यस्तै ग्रामीण महिला सिर्जनशील परिवारले सात र महिला आत्मनिर्भरता केन्द्रले चार आयोजना बनाएका छन्। ती आयोजनामा क्रमशः एक करोड ८२ लाख र एक करोड ५४ लाख रुपैयाँ लगानी भएको सहयोगी संस्था अक्सफामले जनाएको छ। ग्लोबल अफेयर्स क्यानडा मुख्य दाता रहेकोआयोजनाले जनाएको छ।

१९ पक्की शौचालय
खानेपानीसहित सरसफाइको क्षेत्रमा समेत काम गरिरहेको अक्सफामले १६ विद्यालय र तीन सार्वजनिक स्थलमा १९ वटा पक्की शौचालय बनाएको छ। विद्यालय शौचालयबाट चार हजार विद्यार्थी तथा शिक्षक लाभान्वित भएका बताइएको छ।

साझेदार संस्था जनहितले १२, सिर्जनशीलमार्फत तीन र आत्मनिर्भता केन्द्रले चार शौचालय बनाएका हुन्। शौचालय निर्माणमा मात्र झन्डै १ करोड २९ लाख रुपैयाँ खर्च भएको अक्सफामले जनाएको छ। विद्यालय शौचालय ‘सेनिटरी प्याड’ सहित ‘इन्सिनेटर’ जडित अपांगमैत्री छन्।

सेनिटरी प्याडसहित इन्सिनेटर (प्याड फाल्ने स्थल) को व्यवस्थाले महिनावारीका बेला हुने छात्राको अनुपस्थिति रोकेको कुविन्डेस्थित सेतीदेवी पञ्चकन्या माविका प्रधानाध्यापक कृष्णप्रसाद पौडेलले बताए। ‘महिनावारीका बेला अब घरमै बसिरहनुपरेन,’ उनले भने, ‘सबै छात्रा नियमित पढ्न आउन थालेका छन्।’

प्रकाशित: २६ मंसिर २०७५ ०२:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App