१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘समृद्ध नेपाल निर्माणका लागि इन्जिनियर संगठित हुनुपर्छ’

काठमाडौँ । सन् १९६२ मा गठन भएको नेपाल इन्जिनियर्स एशोसियशन (नेइए) को ३२ औँ कार्यकारिणी समितिको निर्वाचन मिति नजिकिदैँ गर्दा इन्जिनियहरुले चुनावी प्रचारलाई तिव्र बनाएका छन्। अहिले प्रगतिशील इन्जिनियर समूह र लोकतान्त्रिक इन्जिनियर समूह चुनावी मैदानमा उत्रिएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट इन्जिनियरहरु प्रगतिशील इन्जिनियर समूहको नाममा चुनावी मैदानमा छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकटका इन्जिनियहरु लोकतान्त्रिक इन्जिनियर समूहबाट चुनावी मैदानमा उत्रिएका छन्।  

यही मंसिर २८ गते हुने निर्वाचनका लागि दुबै समूहले आफ्नो चुनावी प्रचारलाई तिव्र बनाएका छन्। दुबै समूहले आ–आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै आएका छन्। स्थापना कालदेखि नै नेइएको नेतृत्व गर्दै आएको लोकतान्त्रिक इन्जिनियर समूहले आफ्नो विगतको परम्परालाई हेर्दै जित सुनिश्चित भएको दाबी गरेको छ। 

तर, विगतमा कमजोर देखिएको प्रगतिशील इन्जिनियर समूहले भने यो पटक जसरी पनि जित आफ्नो पोल्टामा पार्ने तयारीका साथ चुनावी प्रचारलाई तिव्र बनाएको छ। 

स्थापना कालदेखि नै नेइएको नेतृत्व गरे पनि लोकतान्त्रिक समूहले इन्जिनियरको हकहितमा काम गर्न नसकेको प्रगतिशील समूहको आरोप छ। आइतवार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रगतिशील समूहले विगतमा लोकतान्त्रिक समूह भोतभतेरमा मात्र व्यस्त बनेको भन्दै अब इन्जिनियरको हकहितमा काम गर्ने प्रगतिशील समूहले यो पटक निर्वाचनमा जित हात पार्ने दाबी गरेको छ। 

पहिलोपटक देशको संघीय संरचना अनुसार हुन लागेको यो चुनावबाट एशोसिएसनको केन्द्रीय र सात प्रादेशिक कार्यसमितिहरु चुनिने भएकाले यो पटकको निर्वाचनको छुट्टै महत्व रहेको भन्दै प्रगतिशील समूहका अध्यक्षका उम्मेदवार प्राडा त्रिरत्न ब्रजाचार्यले यो निर्वाचन प्रगतिशील समूले जित्ने निश्चित भएको दाबी गरे। उनले ३२ औँ कार्यकारिणी समितिको निर्वाचन भएकाले आफूहरुले ३२ वटै एजेण्डा अघि सारेको पनि उनले दाबी गरे। ‘विगतमा नेतृत्व गर्ने साथीहरुले भोज–भतेरमै समय विताउनुभयो। उहाँहरुले इन्जिनियरको हक–हितमा काम गर्न सक्नु भएन,’ उनले भने, ‘म लामो समयदेखि यही क्षेत्रमा आवद्ध छु। अघिल्ला–अघिल्ला नेतृत्वले ईन्जिनियरहरुको हक–हितमा काम गर्ने र संगठित गर्ने कुरामा ध्यान नै दिएनन्। खुशी र संमृद्ध नेपाल निर्माणका लागि सबै भन्दा ठूलो भूमिकामा रहेका इन्जिनियर्सलाई संगठित गर्नुपर्छ। त्यसको नेतृत्व तपाईँले गर्नुहोस् भनेपछि मैले उम्मेदवारी दिएको हुँ।’ 

अध्यक्षका उम्मेदवार ब्रजाचार्यले संस्थाको गरिमा बढाउनका लागि पनि प्रगतिशील समूहले नै जित्नुको अर्को विकल्प नभएको बताए। ‘आम इन्जिनियरहरुको हक–हितमा काम गर्ने, पेशागत क्षमता अभिवृद्धि गर्ने, रोजगार प्रवर्द्धन गर्ने, गुणस्तरीय इन्जिनियरिङ शिक्षाको व्यवस्था गर्ने जस्ता कामका लागि पनि प्रगतिशील समूहले नै जित्नुपर्छ,’ उनले भने, ‘नीतिगत सुधार, सहकार्य एवं समन्वय, नेइए प्रदेश भवनको निर्माण, जिल्ला–जिल्लामा नेइए सम्पर्क कार्यालयको स्थापना जस्ता कुराका लागि पनि प्रगातिशील समूह नै विजयी हुनुपर्छ।’ 

कार्यक्रममा बोल्दै निर्वाचन परिचालन कमिटीका संयोजक महेन्द्र गुरुङले यो निर्वाचनले नयाँ युगको सुरुवात गर्ने चरणको भएको भन्दै विगतमा नेइएको नेतृत्व यथास्थितिवादीले गरेका कारण प्रगति हुन नसकेको दाबी गरे। ‘प्रगतिशील समूहले जित्नु भनेको नयाँ युगको सुरुवात हो,’ उनले भने, ‘यो टिमको संयोजन, टिमले तयार पारेको चुनावी घोषणापत्र र यो भित्रका प्रतिवद्धता सबै कारणले पनि जित सुनिश्चित छ भन्न सकिन्छ।’ प्रगतिशील समूहले आदिवासी, जनजाति, महिला, युवा, मधेसी सबैलाईलाई समेटेको उनको दाबी थियो। 

प्रगतिशील इन्जिनियर्स समूहका अध्यक्ष शम्भुबहादुर श्रेष्ठले नेपालमा ४७ हजार भन्दा बढी इन्जिनियरहरु रहेको स्मरण गर्दै भने, ‘सबै इन्जिनियरले छातीमा हात राखेर भन्ने हो भने नेपाल इन्जिनियर्स एशोसियशनले अविभावकको भूमिका खेल्न सकेको छैन । अहिले करीब ५० प्रतिशत इन्जिनियरहरु एशोसियशन बाहिर छन्। उनीहरुले यसको औचित्य छैन भनिरहेका छन्। इन्जिनियरहरुको हक–हितमा काम गर्न सकेकै छैन।’ श्रेष्ठले सबै इन्जिनियरलाई संगठित गर्न पनि एशोसियशनको नेतृत्वमा प्रगतिशील समूह आवश्यक भएको दाबी गरे। 

प्रदेश नम्बर तीनका अध्यक्षका उम्मेदवार नन्दलाल वञ्जाडेले इन्जिनियरहरु भनेको मौरीको घारका कर्मीमौरी जस्तो भएको बताए। उनले चीनको ५५ किलोमिटर लामो पुलको निर्माण समेत इन्जिनियरहरुले गरेको भन्दै नेपालको विकासका लागि पनि कुशल इन्जिनियरको आवश्यक रहेको बताए। उनले पनि अहिले मुलुकमा ४७ हजार इन्जिनियरले लाइसेन्स लिएको भन्दै ती सबै इन्जिनियर नेपालको सम्पत्ति भएको स्मरण गराए। ‘तर, हाम्रो पेशागत संगठन त्यत्रो धेरै ईन्जिनियरहरुको पेशागत हकहितका लागि काम गर्न सकिरहेको छैन। यसको अन्त्यका लागि पनि प्रगतिशील समूहको जित आवश्यक छ।’ 

केन्द्रीय उपाध्यक्षका उम्मेदवार आशिष घिमिरेले आफु खानेपानी तथा सरसफाई मन्त्रालयमा कार्यरत रहेको भन्दै इन्जिनियरहरुको संस्थामा पनि सरसफाई आवश्यक रहेको बताए। उनले सातै प्रदेशमा अब नयाँ ढंगको नेतृत्व आउने भन्दै त्यो प्रगतिशील समूह हुने दाबी गरे।  

महासचिवका उम्मेदवार छविराज पोख्रेलले सात वटै प्रदेशमा चुनावी प्रचारमा पुगेर आएको भन्दै आफूहरु जित नजिक पुगेको दाबी गरे। उनले प्रगतिशील समूहले जितेपछि सातै प्रदेशमा छुट्टा–छुट्टै कार्यालय खोल्ने, प्रदेशका बहुआयमिक योजना अघि बढाउने पनि दाबी गरे।

प्रकाशित: २४ मंसिर २०७५ १२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App