काठमाडौं– चितवन घर भएका प्रकाश अधिकारी (नाम परिवर्तन) समलिंगी हुन्। पुरुषजस्तो देखिने उनी महिलाभन्दा पुरुषतर्फ आकर्षित हुन्थे। आफू पुरुष भएपनि उनको महिला प्रति कुनै फिलिङ नै आउँदैनथ्यो। बरु पुरुषतिर उनको आकर्षण हुन्थ्यो। यसैक्रममा उनले जीवन विताउने पुरुष साथी भेट्टाए। उनसँग सगलिंगी विहेको तयारी पनि गरे। तर नेपालको कानूनले समलिंगी विवाहलाई कानुनी मान्यता दिएको छैन। समाजले पनि पूर्ण रुपमा स्वीकार गरेको छैन्। यस्तो प्रतिकुल परिस्थिती सिर्जना भएपछि प्रकाश आफ्नो पार्टनरसहित विहेका लागि इटाली गए। जहाँ समलिंगी विहेलाई कानुनी मान्यता छ। त्यहाँ प्रकाशले चर्चमा विहे गरे। नेपालमा समलिंगी विहेलाई मान्यता नहुँदा उनीहरु परदेशमा गएर विहे गर्न बाध्य भए।
काभ्रेकी सुनिता तामाङ (नाम परिवर्तन)ले विदेशमा लेस्वियन विहे गर्नुप-यो। उनले विदेशी युवतीसँग लेस्वियन विहे गरेकी हुन्। उनी अहिले नेपालमै काम गर्छिन। उनकी पार्टनर पनि नेपालमै बसिरहेकी छिन्। नेपाल सरकारले नेपालीसँग विहे गर्नेलाई पार्टनर भिसामा नेपालमा बस्न दिँदो रहेछ। यही नियमअनुसार सुनिताकी पार्टनर ढुक्कले नेपालमा बसिरहेकी छिन्। नेपालमा समलिंगी विवाहले कानुनी मान्यता नपाउँदा नेपालीहरु विदेश जाने मात्र होइन विदेशीलाई प्रोत्साहन गरेजस्तो देखिएको बताउँछन नीलहिरा समाजका कार्यक्रम अधिकृत अनुज पिटर राई। छिमेकी भारतमा समेत समलिंगी विवाहले कानूनी मान्यता पाइसकेको भन्दै पिटर भन्छन्, ‘समलिंगी व्यक्तिले कानूनको अभावमा विवाहजस्तो मौलिक अधिकारबाट समेत वञ्चित हुनु परेको छ। म पनि पुरुष समलिङ्गी हुँ। कानूनको अभावमा मन परेको पुरुषसँग कानूनीरूपमा विवाह गर्न पाएको छैन्। त्यसकारण तत्काल समलिङ्गी विवाहसम्बन्धी कानून बनाउनुपर्छ।’
आइतवार ‘युवालय’ले आयोजना गरेको लैङ्गिक पहिचान र यौनिक अभिमुखीकरणमा पिटरले कानुनको अभावमा समलिङ्गीहरु विहे गर्न पनि विदेश जानुपर्ने बाध्यता रहेको सुनाउँदै सरकारले स्वदेशमै वैधानिक विहेको वातावरण बनाउन माग गरे।
नेपालको संविधान र कानूनले वैवाहिक समानतालाई स्वीकार गरेको तर समलिङ्गी विवाहसम्बन्धी कानून लामो समयसम्म नबनाएको उनले गुनासो गरे। ‘संविधानमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकको अधिकारको विशेष व्यवस्था गरिने उल्लेख भए पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन्। करिब ७ लाख समलिंगी भएको देशमा यो अवस्थाको अन्त्य हुनुपर्छ’, उनले भने।
कानुनमा सुधारका लागि गृह मन्त्रालयले ७ सदस्यीय समिति समेत गठन गरेको जानकारी दिँदै पिटरले तर समलिंगी विवाहले मान्यता पाउनेगरी कानुन बन्न ढिलाई भइरहेको गुनासो गरे।
युवालयका अध्यक्ष सबिन सिंहले लैङ्गिक पहिचान र यौनिक अभिमुखीकरणसम्बन्धी प्रस्तुति दिँदै समलिङ्गी विवाहसम्बन्धी कानून बनाउन सञ्चारमाध्यम, नागरिक समाजलगायतले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिए।
संस्थाका युवा अभियानकर्मी कविता बस्नेतले यौन शिक्षाका सम्बन्धमा शैक्षिक पाठ्यक्रमसँगै घरपरिवारमा समेत सचेतना फैलाउन आवश्यक रहेकोमा जोड दिइन।
कार्यक्रममा सहभागीहरूले वैवाहिक समानता, बृहत्तर यौनिकता शिक्षा र सुरक्षित गर्भपतनका सम्बन्धमा जिज्ञासा र सुझाव राखेका थिए। विश्वमा हालसम्म ३० मुलुकले समलिङ्गी विवाहसम्बन्धी कानून पारित गरिसकेको समाजले जनाएको छ।
प्रकाशित: २३ मंसिर २०७५ १४:४० आइतबार