२६ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

उज्यालिँदै ग्रामीण बस्ती

बिजुली बलेको गरगमा गाउँ। तस्बिरः मिथिलेश/नागरिक

बरियारपट्टी (सिरहा) - बरियारपट्टी गाउँपालिका–३ बलुवाटोलका ७२ वर्षीय सत्यलाल यादवले एक वर्षअघि मात्र गाउँमा बिजुली देखे। उनले आफ्नो गाउँमा बिजुली आउला भन्ने कहिल्यै कल्पनै गरेका थिएनन्। गत वर्ष कात्तिकमा गाउँमा पहिलोपल्ट बिजुली पुग्दा रातभर अनिँदो बसेर हेरिरहे। ‘टुकी बाल्दै यतिका वर्ष बिताइयो, पहिलोपल्ट बिजुली बलेको दिन रातभर निदाउनै सकिएन, हेरिरहें,’ उनलेले त्यो दिन सम्मmँदै भने, ‘अहिले बलुवाटोलका करिब १ हजार घरधुरीमा बिजुली पुगेको छ।’

बरियारपट्टी–१ गरगमा गाउँका ७५ वर्षीय भूपनारायण यादवले पनि गाउँमा बिजुली बल्ला भन्ने आशा मारिसकेका थिए। प्रत्येक चुनावमा उम्मेदवारको आकर्षक ‘उज्यालो’ नाराले उनी आजित भइसकेका थिए। प्रत्येक चुनावमा नेताहरू उज्यालो दिने सपना बाँडेर भोट लिन्थे,’ उनले भने, ‘हाम्रो भोटले नेताहरूको भविष्य उज्यालियो, गाउँ ज्यूँका त्यूँ रह्यो।’ उनका अनुसार स्थानीय तहको चुनावमा भने उम्मेदवारहरूले गाउँ उज्यालो बनाइदिने भनी देखाएको सपना जितेपछि साकार पारिदिए। ‘स्थानीय सरकारले उज्यालोमा रमाउने हाम्रो दशकौंको सपना पूरा गरिदिएको छ,’ यादवले भने।

पहिलो संविधानसभा चुनावअघि भारतीय दूतावासको सहयोगमा एक नेताले यो गाउँमा बिजुलीका खम्बा गाड्ने काम गरेको स्थानीय बताउँछन्। पहिलो संविधानसभा निर्वाचनताका पनि गाउँ उज्यालो बनाइदिने नारा खुबै बिक्यो। लोकप्रिय नारा भजाएर त्यतिबेला चुनाव जितेका नेताहरू गाउँ फर्केनन्। उनीहरूले देखाएका सपना सपनामै सीमित रहे। दोस्रो संविधानसभा निर्वाचनका बेला पनि उही नारा अघि सारेर नेताहरूले चुनाव जिते। त्यसतबेला पनि प्रतिबद्धता पूरा भएन।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा भने नेताहरूले पुरानै नारा अलि फरक ढंगले घन्काए– हम गाममे बिजली लाइबेक छोरब (म गाउँमा बिजुली ल्याएरै छाड्छु)। गाउँपालिकाका अध्यक्ष सन्तोष साहले गाउँमा बिजुली बाल्ने प्रतिबद्धता पूरा गरेर गरगमा गाउँलाई उज्यालो बनाएको स्थानीय बताउँछन्। गाउँमा बिजुली नहुँदा हुनेखाने स्थानीय सोलार प्लेट जडान गरी घर उज्यालो बनाउथे। हुँदा खानेहरू टुकी बालेरै काम चलाउँथे। गत वर्ष माघमा गाउँमा बिजुली आएपछि पाँच सय घरधुरी उज्याला भएका छन्।

उक्त गाउँमा बिजुली नहुँदा कुटानीपिसानीका लागि स्थानीय मिल भएको टाढाको गाउँ लहरनिया पुग्नुपथ्र्यो। गोरुगाडामा त्यहाँ पुगेर फर्किन दिनभरि लाग्थ्यो स्थानीय बैजनाथ यादवले भने, ‘बिजुली आएपछि गाउँमै मिल बन्दा दैनिकी सहज भएको छ।’ बिजुलीले बस्तीमात्र होइन, खेतखलिहान पनि उज्यालिएको छ। सिँचाइ अभावले बन्जर बनेका जमिनहरूमा हरियाली देखिन थालेपछि किसानहरू पनि खेतीपातीतर्फ हौसिएका छन्।

सहजता थपिँदै
ग्रामीण बस्तीमा बिजुलीको सुविधा पुगेपछि किसानहरुको मुहार उज्यालिएको छ। सिरहाको दक्षिण ग्रामीण क्षेत्र बरियारपट्टीका ८२ वर्षीय रासलाल यादवको बुझाइमा यस भेगका किसानको महŒवपूर्ण आवश्यकता थियो– सिँचाइ। सिँचाइको भरपर्दो व्यवस्था नभइदिँदा प्रशस्त अन्नबाली कल्पनाको मात्र विषय हुन्थ्यो। रासलालका अनुसार बिजुली आएसँगै सिँचाइको व्यवस्था भएपछि पहिलापहिलाजस्तै खेतमा बहुअन्न उब्जाउन सकिने वातावरण बन्दै जान थालेको छ।

स्थानीयका अनुसार दुई दशकअघि सिँचाइ सहज हुँदा धान, गहुँ, दलहन, तोरी, चना घरमा भित्रिन्थ्यो। बिस्तारै सिँचाइ सुविधा कम हुँदै जाँदा खेतीका नाममा धान र गहुँ मात्र लगाउन थालियो। झन् पछि हुँदै गएपछि धान र गहुँ खेती गर्ने परम्परा पनि बिस्तारै सुक्दै गएको उनीहरू बताउँछन्। अन्ततः त्यहाँ अन्न किनेरै खानुपर्ने परिस्थिति सिर्जना भयो।

यसै गाउँपालिका–१ कचनारी मुसहरी टोलका फकिर सदाय (मुसहर) विगतमा बहुअन्नको खेती हुँदा वर्षभरि नै रोजगारी पाइने गरेको बताउँछन्। ‘अहिले त धान रोप्ने र काट्नेबाहेक १० महिना बेरोजगार बस्नुपर्छ,’ उनले भने। तराईको खेती धान बालीमा मात्रै खुम्चिएपछि उनको रोजगारी पनि साँघुरिएको हो। मधेसको कृषि परम्परा बहुबालीबाट एकल बालीमा साँघुरिन पुग्दा किसानीमा आश्रित फकिरजस्ता धेरै कृषि मजदुर बेरोजगार भएका हुन्। कतिपय पुरुष मजदुर कामको खोजीमा खाडी र भारततर्फ जानुपर्ने बाध्यता आइलागेको छ। सरकारले ग्रामीण किसानको आवश्यकता सिँचाइमा भन्दा सडकमा धेरै लगानी गरेकोप्रति स्थानीयले ‘पेटमे नहिए आ सिंहमे तेल (भोक मेट्नेतर्फ ध्यान नदिएर निर्माणमा बढी लगानी)’ भन्दै व्यंग्य गर्ने गरेका छन्। सिँचाइको असुविधा, मलखादको असहजताले यहाँका किसान बाली लगाउन हच्किँदै छन्। केन्द्र सरकार ग्रामीण किसानको पीडाप्रति सोचेजस्तो गम्भीर नभएको किसान राजेन्द्र यादव बताउँछन्। ‘अब स्थानीय सरकार ग्रामीण किसानको पीडामा मलम लगाउला कि,’ उनले भने, ‘गाउँपालिकाको मुखिया किसानकै छोरा बनेको छ, अब यस भेगका किसानलाई सहुलियत मिल्ने भरोसा छ।’

किसानका मर्कालाई ध्यानमा राखेर यस गाउँपालिकाले आफना पाँचैवटा वडालाई समेट्नेगरी खोक्सी जानकी नगर, तेनुवापट्टी, जिझौल, गरगमा, कचनारी टोलमा कृषि विद्युतीकरण गर्दै छ। गाउँपालिका अध्यक्ष साहले भने, ‘सिँचाइको सुविधा नपुगेका सबै ठाउँमा कृषि विद्युतीकरणमार्फत सिँचाइ सुविधा पु¥याउने काम भइरहेको छ।’ अहिलेसम्म सम्पन्न भएको योजनाले करिब ७ सय बिघा खेतमा सिँचाइको सुविधा पु¥याइसकेको उनले बताए। खेतखेतमा बिजुलीको सुविधा पुगेपछि किसानहरू विद्युत् मिटर लिएर मोटरमार्फत खेत सिँचाइ गरिरहेका छन्। यसले अन्न उत्पादन मात्र बढाएको छैन, किसानलाई बहुबाली लगाउने अवसरसमेत जुराएको छ।

सडक सञ्जालले पनि खुसी दिलायो
साबिकको २२ वटा गाउँ मिलेर बनेको छ– बरियारपट्टी गाउँपालिका। यहाँ अहिले पाँचवटा वडा छन्। पहुँचमार्गको अभावले यहाँका जनता धेरै वर्ष पिरोलिए। एक वडाबाट अर्को वडा पुग्न, वडाबाट गाउँ कार्यपालिकाको कार्यालय पुग्न ठूलै समस्या थियो। बस्तीको डगर(गोरेटो बाटो) हिउँदमा धुलाम्मे हुन्थे, वर्षामा हिलामे। बरियारपाट्टी गाउँपालिका–१ कचनारी मुसहरी टोल वर्षामा चारैतिरबाट थुनिन्थ्यो। बस्तीकी तेतरी सदाय भन्छिन्, ‘दलित बस्तीमा पनि पक्की सडक हुन्छ भने कल्पना पनि गरेकी थिइनँ।’ पक्की सडक निर्माणले बस्तीमा खुसी छाएको उनले बताइन्। ‘खेतखेतमा सडक पुगेकाले हामीलाई सजिलो भएको छ,’ सदायले भनिन्।

कृषि सडक निर्माणले किसानलाई सुविधा दिएको छ। मजदुर भेट्टाउन सुस्किल भएकाले उपकरणको प्रयोग अनिवार्य बनेको छ। ‘सडकको पहुँचसँगै उपकरणहरू खेतसम्मै पुगेको छ,’ स्थानीय किसान दीपेन्द्र यादवले भने, ‘सडकको सुविधा भएपछि धेरै काम खेतमै सम्भव भएको छ।’ ट्र्याक्टर, थ्रेसर खेतसम्म पुगेपछि थोरै मजदुरले पनि बालीनाली व्यवस्थापन गर्न सकिने भएको उनले बताए।

बरबरियापट्टीका अध्यक्ष साहका अनुसार पछिल्ला दुई दशक संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाकै आन्दोलन र विद्रोहमा बिते। तर, अब प्रादेशिक अभ्यास सुरु भएको छ। अब संघीयता कार्यान्वयनको चरणमा गइसकेको छ। स्थानीय तह वा प्रदेश अन्य मुद्दामा अल्झिनुभन्दा पिँधका जनताको मुहारमा उज्यालो छर्ने कार्यतर्फ अग्रसर हुनुपर्ने उनको भनाइ छ। ‘म अहिलेसम्म गाउँपालिकामा सवारीसाधन वा विलासिताका कुनै पनि साधन खरिद वा उपभोगमा अल्झिएको छैन उनले भने, ‘ग्रामीण जनतालाई गाउँमै सरकारको अनुभूति दिलाउनमै समय खर्चिरहेको छु।’

पुल बन्ने भएपछि खुसीको सञ्चार
गएको बुधबार सखुवानन्कारकट्टी गाउँपालिका–१ (लतियाही) स्थित कल्याणदह नदीमा गाउँपालिका अध्यक्ष केदार यादवले पुल शिलान्यास गरे। सहरसँग गाउँको दु्रत सम्पर्क हुने भएपछि लतियाहीसहित दक्षिणवर्ती गाउँमा खुसीको सञ्चार भएको छ। नेताको आकर्षक चुनावी नारामा सीमित यो पुलको शिलान्यासले स्थानीयमा हर्ष निम्त्याएको हो। ‘पहिला धेरै नेताले ठगे, यसपालि नेताले प्रतिबद्धता पूरा गरेका छन्,’ लतियाहिका श्रीप्रसाद यादव भन्छन्, ‘चुनावका बेला पुल बनाइदिने भन्दै भोट लिएर फर्केर नआउने नेताको परिचय यसपालि फेरिएको छ।’

स्थानीय उमाशंकर यादवको नेताबारे बुझाइ थियो– नेता चुनावका बेला सपना देखाउन मात्र आउने हुन्। अब उनको विचार फेरिएको छ। उनी भन्छन्, ‘सबै नेता सपना देखाउने मात्र नहुँदा रहेछन्।’ यसपालि झूटो आश्वासन बाँड्ने र ठग्ने होइन, सपना पूरा गराउने नेता पाएको भन्दै उनी खुसी व्यक्त गरे। ‘हाम्रो सपना यो नदीमा पुल बनेको देख्नु हो,’ यादवले भने, ‘पुल बनेपछि सहरसँग गाउँ जोडिन्छ, गाउँ समृद्ध हुन्छ।’

प्रकाशित: १६ मंसिर २०७५ ०१:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App