१७ कार्तिक २०८१ शनिबार
image/svg+xml
समाज

प्रदेश नम्बर ३ मा ४४५ एचआइभी संक्रमितको पहिचान

हेटौंडा – प्रदेश नं ३ मा एक वर्षकै अवधिमा ४४५ जना एचआइभी एड्स संक्रमित फेला परेका छन्। विश्व एड्स दिवसको पूर्वसन्ध्यामा प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो।

निर्देशनालयका जनस्वास्थ्य प्रशासक डा. राजेन्द्र गिरीले सन् २०१७ मा प्रदेश नं ३ मा पुरुष २४१, महिला १८६ र तेस्रोलिङ्गी १८ जना संक्रमित पहिचान भएको जानकारी दिए। अन्य प्रदेशमा भन्दा ३ नम्बरमा एआरटी सेवन गर्ने संक्रमित बढी छन्। यस प्रदेशमा ४ हजार ५१२ जनाले नियमित एआरटी सेवन गरिरहेका छन्।

“सन् २०१० को तुलनामा २०१७ मा ६१ प्रतिशतले संक्रमण घटेको छ, ६३ प्रतिशत बच्चाहरुमा हुने संक्रमणमा पनि कमी आएको छ”, जनस्वास्थ्य प्रशासक डा गिरीले भने,“एड्सका कारण मृत्यु हुने संख्या पनि २३ प्रतिशतले कमी आएको छ, यो हाम्रा लागि उपलब्धि हो।” स्वास्थ्य निर्देशक डा यदुचन्द्र घिमिरेले संक्रमण अझै घटाउँदै लैजानुका साथै महामारीलाई सन् २०३० सम्म अन्त्य गर्ने लक्ष्य रहेको बताए।

“नेपाल दिगो विकास लक्ष्यअनुरुप एचआइभी एड्स संक्रमण न्यूनीकरण सबै उपाय अपनाइरहेको छ”, उनले भने, “विश्वमा एचआइभी संक्रमणको दर बढ्दै गए पनि नेपालमा वर्षेनी कम हुँदै आएको छ।” ‘एचआइभी जाँच गराऔं, आफ्नो अवस्था थाहा पाऔं’ भन्ने मूल नाराका साथ यस वर्ष आज डिसेम्बर १ मा विश्व एड्स दिवस मनाइँदैछ।  (रासस)

प्रकाशित: १५ मंसिर २०७५ ०६:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App