५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सम्पत्ति फिर्ता लिन कानुनी जटिलता

खोटाङ - जिल्लको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी फूलमाया (परिवर्तित नाम)ले मृत पतिका नाममा भएको चलअचल सम्पत्ति आफ्नो नाममा पास गरिन्। केही समय दुःखसुख एकल जीवन बिताएकी उनको दोस्रो विवाह भयो। त्यसको केही समयपछि उनले पहिलो पतिको अचल सम्पत्ति बिक्री गरिन्। जसका कारण पहिलो पतितर्फका हकवाला परिवार समस्यामा परेका छन्। छोराको मृत्युपछि चलअचल सम्पत्ति आफ्नो नाममा पारेकी बुहारीले दोस्रो विवाह गरेर गएको केही समयपछि सम्पत्ति नै बिक्री गरेपछि पहिलो पतितर्फका सासूससुरा गुमेको सम्पत्ति फिर्ता लिन कानुनी उपचारको खोजीमा छन्। तर, २०७५ साल भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी (संहिता) ऐन २०७४ र मुलुकी अपराध (संहिता) ऐन २०७४ मा यससम्बन्धी कुनै व्यवस्था नहुँदा हकवाला उनीहरू अलमलमा छन्।

यस्तै, जिल्लाको खोटेहाङ गाउँपालिकाका रामकुमार (परिवर्तित नाम) वैदेशिक रोजगारबाट फर्कने क्रममा काठमाडौं आइपुगेलगत्तै घरकी पत्नी दोस्रोे विवाह गरेर हिँडिन्। विदेशमा दुःख गरेर कमाएको सम्पत्ति हिनामिना गरेर हिँडेकी पत्नीबाट गुमेको सम्पत्ति फिर्ता लिन उनी कानुनी परामर्श लिँदै हिँडिरहेका छन्। तर, भर्खरै कार्यान्वयनमा आएको मुलुकी देवानी (संहिता) ऐन र मुलुकी अपराध (संहिता) ऐनले यससम्बन्धी समस्या हल गर्ने कानुनी बाटोबारे स्पष्ट नबोल्दा भने उनलाई समस्या परेको अधिवक्ता चन्द्रबहादुर खड्का बताउँछन्।

पछिल्लो समय पति वा पत्नीले चलअचल सम्पत्ति बेपत्ता पारिदिएको विषयमा कानुनी परामर्श लिन आउने पीडित बढ्दै गएको पाइए पनि कानुनी उपचारबारे स्पष्ट जवाफ दिन अप्ठेरो परिरहेको कानुन व्यवयायीको भनाइ छ।

‘भदौ १ गतेअघिको मुलुकी ऐनमा यस्ता समस्या हल गर्ने जारी र बिहावारी महलमा यससम्बन्धी स्पष्ट व्यवस्था थियो,’ अधिवक्ता खड्काले भने, ‘नयाँ ऐनले यस्ता समस्याबारे कानुनी व्यवस्था के हुने भन्ने केही नबोल्दा यसको उपचार यही हुन्छ भन्न सकिने अवस्था छैन।’ पछिल्लो समय पति वा पत्नीले चलअचल सम्पत्ति बेपत्ता पारिदिएको विषयमा कानुनी परामर्श लिन आउने पीडित बढ्दै गएको पाइए पनि कानुनी उपचारबारे स्पष्ट जवाफ दिन अप्ठेरो परिरहेको कानुन व्यवयायीको भनाइ छ।

पति वा पत्नीले बेपत्ता पारेको सम्पत्तिको कानुनी उपचारबारे २०७२ सालसम्म नेपालको मुलुकी ऐनमा जारी महलको छुट्टै व्यवस्था थियो। त्यसपछि २०७२ साल फागुन १३ गते केही नेपाल ऐन संशोधन गर्ने ऐन २०७२ द्वारा जारी महल खारेज गरेर ल्याइएको बिहावारी महलमा पनि यससम्बन्धी स्पष्ट कानुनी व्यवस्था गरिएको थियो। नेपाल ऐन संशोधन गर्ने ऐन अघिल्लो व्यवस्थाभन्दा अझ स्पष्ट थियो। सो जारी तथा बिहावारी महलमा ‘कसैले अर्काकी पत्नीलाई विवाह गरी निजको धनमालसमेत लगेमा वा कुनै महिलाले अर्को विवाह गरी जाँदा आपूmले लगाएको वा प्रयोग गर्ने लत्ताकपडा वा आफ्नो दाइजो, पेवा वा निजी आर्जनबाहेक पहिलो पतिको धनमालसमेत लगे त्यसरी लैजान नपाउने धनमालको हकमा निजको पहिलो पति र निज मरेमा वा विदेश गएकोमा निजको हकदारले फिर्ता लिन पाउँछ’ भनिएको छ।

तर, मुलुकी देवानी (संहिता) ऐन र मुलुकी अपराध (संहिता) ऐनमा पारिवारिक कानुनबारे उल्लेख भए पनि सम्पत्तिका विषयमा देखिने यस्ता समस्याबारे कुनै व्यवस्था छैन। नयाँ संहितामा योसम्बन्धी महल नै छुट्ट्याइएको छ। यसका कारण सम्पत्ति लिएर दोस्रो विवाह गर्ने पति वा पत्नीबाट सम्पत्ति फिर्ता लिन कानुनी जटिलता देखिएको अधिवक्ता खड्का बताउँछन्।

नयाँ संहिताको पारिवारिक कानुनमा उल्लेख भएका विभिन्न परिच्छेदमा सोसम्बन्धी कानुनी स्पष्टता नहुँदा वैदेशिक रोजगारमा संलग्न परिवारलाई कानुनी उपचार लिन बढी कठिनाइ देखिएको छ। आफन्तबीचमै निम्तिने यो समस्याबारे ऐन नै मौन हुँदा कानुनी उपचार पाउनै सकस देखा परेको खड्काले बताए। ‘पति वा पत्नीले सम्पत्ति लिएर दोस्रो विवाह गरेर बेपत्ता भए कानुनी उपचारको बाटो जटिल बनेको छ,’ अधिवक्ता खड्काले भने, ‘संशोधनबाहेक यसको अन्य उपचार देखिन्न। संशोधन हुँदासम्ममा पनि कैयौं व्यक्ति मारमा पर्ने अवस्था छ।’

प्रकाशित: १४ मंसिर २०७५ ०२:१० शुक्रबार

दिक्तेल_रूपाकोट_मझुवागढी_नगरपालिका सम्पत्ति_फिर्ता