२६ कार्तिक २०८१ सोमबार
image/svg+xml
समाज

मधेसी दलितको अत्यास, ऋणले धानेको विपन्न जिन्दगी

बरियारपट्टी गाउँपालिका–१ कचनारी स्थित मुसहरी टोलकी बवित्री सदाय बनीबापत पाएको धान उसिन्दै ।

मुसहरीटोल (लहान)– लहान नगरपालिका २२ (नवकाटोल मुसहरी) सडक छेउ स्थित एलानी जग्गामा लहरै फुसका छाप्रा छन्। तिनैमध्ये एउटा छाप्रोमा दशैं सदायको चार परिवार अटाएको छ। दुई छोराछोरी सहित दशैं दम्पती छाप्रोमा जसोतसो जिन्दगी धान्दै छन्।

गत वर्ष यही छाप्रोमा जाडो सहन नसकेर दशैंका पिता ढेकरु सदायले दम तोडे। काजकिरिया गर्न साहु महाजनसँग लिएको २० हजार रुपैयाँ ऋण अझै चुक्ता गर्न सकेका छैनन् दशैं। पोहोर साहुसँग लिएको ऋण चुक्ता गर्न सके छोरीको विवाहका लागि आट गर्ने उनको सोच छ। तर, साहुको ऋण मजदुरीबाट चुक्ता गर्न कहाँ सहज छ र! एक वर्ष भयो सावा ज्यूँका त्यूँ छ। उनको मजदुरीले साहुको ब्याज मात्र चुक्ता हुँदो रहेछ। 

छोरीको पनि विवाह गर्ने बेला भैसक्यो। समाजमा कुरा काट्नेहरु दिनदिनै बढ्दै छन्। जतिजति दिन बित्दै छ दशैंको छोरी विवाह गर्ने चिन्ता पनि बढ्दै छ। तर उनी विवश छन्। ‘हामी गरिबको जिन्दगी ऋणमै सकिन्छ’, उनले भने, ‘बुवाको जीवन पनि साहुको कर्जा बोकेरै अन्त भयो, मेरो अन्त पनि उस्तै देख्छु।’

छोरीको बिहे गर्ने बेला भैसक्यो। बिहेमा लाग्ने खर्चका लागि ऋण मात्र बिकल्प छ। पहिलाकै ऋण तिर्न बाँकी रहेका बेला थप ऋणका लागि साहुले नपत्याउने उनको चिन्ता छ। हाम्रो समुदायमा पनि अब दहेज(दाइजो) माग्न थालियो, दशैं भन्छन्, ‘कहाँबाट ल्याउनु दहेज दिन पैसा।’ विवाहमा कम्तीमा पनि एक÷दुई लाख खर्च हुने भन्दै उनले थपे, ‘हजार पनि नभएकाले लाख कहाँबाट ल्याउने? सुकुम्वासीलाई कसले लाख रुपैयाँ उधारो पत्याउने?’ 

जिन्दगीभर जमिन्दारको खेतमा श्रम गरेर पनि मर्ने बेलासम्म ऋणको भारी रहिरहन्छ। हाम्रो सम्पत्ती भनेको ऐलानी जमिनमा घामपानीबाट ओत लाग्न ठड्याएको छाप्रो मात्र हो’, रहन्छ दशैंले लामो सास फेरे। 

सोही टोलकी दुखनी सदायको अत्यास पनि उस्तै छ। बच्चा जन्माउँदादेखि विवाह गर्दा मरनहरनसम्म साहु महाजनकै अगाडि ऋणको हात फैलाउनुपर्छ’, दुखनीदेवी सादयको अनुभूति छ। उनले भनिन्, ‘जायजेथा नभएका सुकुम्वासीलाई साहु महाजन बाहेक कसैले ऋण पत्याउँदैन्।’ साहुले ऋण त दिन्छ तर व्याजले जिन्दगीभर उनको ऋणबाट मुक्ति पाइँदैन। 

दुखनीले श्रीमान रामकुमार सादयलाई बैदेशिक रोजगारीमा पठाउन गाउँकै साहुहरुसँग तीन लाख ऋण लिएकी छिन्। एक लाख एकैजना साहुसँग सैयकडा चार रुपैयाँका दरले र बाँकी दुई लाख विभिन्न साहुसँग २० हजारगरी सैयकडा पाँच रुपैयाँ व्याजमा ऋण लिएको उनले बताइन। ‘चार महिना भयो श्रीमान विदेश गएको, जम्मा २० हजार रुपैयाँ पठाएको छ। त्यो रुपैयाँ त घरधन्दा छोराछोरीको उपचारमै सकिएको छ। साहुको व्याज मात्रै महिनाको १५ हजार तिर्नुपर्छ’, उनले भनिन्, ‘चार महिनामा व्याज मात्रै ६० हजार भैसक्यो। कमाई छैन् साहुको ब्याज बढ्दै छ, कसरी ऋण चुक्ता गर्नु’, उनले चिन्ता व्यक्त गरिन।

घर अगाडि बिजुलीको पोलमा तार झुन्डिएको छ। तर विजुुली बल्दैन। यो बस्तीमा समस्याहरु धेरै छन्। तर, यहाँका बासिन्दा भन्छन्, बिजुली भइदिए अन्धकारबाट मुक्ती पाइन्थ्यो। चौरीमा घर भएकाले उज्यालो भए सर्पकिराबाट ज्यान जोगाउन सकिन्थ्यो। 

लहान–२२ स्थित मुसहरी बस्तीमा साहुको ऋणले थिचिएर चिन्तित बसेका दशैं सदाय ।

घामपानीलाई छेक्न नसक्ने भ्वाँगा परेको छाप्रोमा बिरामले थलिएर बरियारपट्टी गाउँपालिका १ मुसहरी टोलकी सीता देवी सादयले पोहोर दम तोडिन। छ जना लालाबालासहित साँघुरो छाप्रोमा कष्टपूर्ण जिन्दगी बाँच्दै आएकी बुहारी पवित्रीले भनिन्, ‘बिरामी भन्दा पनि गरिबीका कारण सासुले दम तोडिन्।’ गरिबीका कारण भोकभोकै बस्नुर्दा उनी शारीरिक रुपमा कमजोर भएकी थिइन। कमजोर शरीरले पुसको जाडो थेग्न नसकेर पोहोर दम तोडिन। सासुको किरियाकर्म गर्न पनि साहुसँग ऋणकै लागि हात फैलाउनु पर्यो पवित्रीलाई। उनी भन्छिन्, ‘मर्दापर्दा हामी गरिबलाई साहुकै भर पर्नुपर्छ, अरुले ऋण पत्याउँदैन्।’ सासुको किरियामा लागेको ऋण चुक्ता गर्न पवित्रीकी श्रीमान शिवकुमार पन्जाब गएका छन्। ‘हामी गरिबका लागि जाडो मौसम काल नै हो’, उनले भनिन्, ‘जाडोमा बाँचे वर्षभरी बाँच्छौं।’ तीन महिना खेतमा कमाएर वर्षभरीको जोहो गर्नुपर्ने यस समुदायका ज्याला मजदुरी गर्नेको जिन्दगी कमाएर साहुको ऋण चुक्ता गर्नमै बित्छ। ज्याला मजदुरी गरेर सुरक्षित आवास त परको कुरा घामपानीमा ओत लाग्ने सग्लो टहरो पनि यो समुदायले जोहो गर्न सक्दैन्, सकेको छैन्। 

यतिबेला यो समुदाय आजीवन ऋणी हुनुपर्ने बाध्यताबाट मुक्ति खोजिरहेको त तर बिकल्प भेटेको छैन्। श्रम गर्ने सीप भएको यो समुदाय भरपर्दो रोजगारी खोजिरहेको छ। लोकतन्त्र र संघीयतासँग उनीहरुले गरेको अपेक्षा पनि यही हो। 
संघीय नेपालको मुख्य चुनौती भनेकै पिधका जनताका अप्ठ्यारा र आकांक्षाको सम्वोधन गर्नु हो। गरिबी र अभावसँग जुध्दै गरेको यो वर्गको स्वरलाई बेवास्ता गरियो भने संघीयता अभ्यासको जगलाई बलियो बनाउँदैन भन्छन् समाजिक अभियन्ता देवकुमार मोक्तान।

उल्लेखित पात्रहरु गरिबी र अभावको जिन्दगी बाँच्दै आएका प्रतिनिधि हुन। यो व्यथा सिंगो मधेसका विपन्न वर्गको हो। समाजको ठूलो हिस्सा ओगट्ने यो वर्ग स्वस्थ्य र सन्तुलित सेवा सुविधाका लागि लामो समयदेखि प्रतिक्षारत छ।
नेपालको संविधान–२०७२ को भाग ३ मा व्यवस्था गरिएको मौलिक हक भित्रको धारा ३६ मा खाद्य सम्बन्धि हकले प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा हुने जीवनको जोखिमबाट सुरक्षित गर्ने व्यवस्था गरेको छ। त्यस्तै, धारा ४० मा दलितको हक सम्बन्धि व्यवस्थामा आवासविहीन दलितलाई कानुनबमोजिम बसोवासको व्यवस्था गर्ने भनिएको छ।

त्यसैगरी धारा ४२ मा सामाजिक न्यायको हकअन्तर्गत आर्थिक रुपले विपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षामा विशेष अवसर तथा लाभ पाउने हक हुनेछ भनि उल्लेख गरिएको छ।

यी मौलिक हकबाट यहाँका सुकुम्बासी मुसहर वञ्चित छन्। दलका नेताको बेपर्वाहले ‘मुसहर जन पेरवा धन’ मैथिली पुरातन उखान अहिलेसम्म चरितार्थ भइरहेको सामाजिक अभियन्ता मोक्तान बताउँछन्।

प्रकाशित: ११ मंसिर २०७५ ११:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App