१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

सर्वसाधारणको चासो गुणस्तरीय निर्माणमा

काठमाडौं - निर्माण सामग्री प्रदर्शनीको दोस्रो दिन शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा सर्वसाधारणको भिडभाड देखिएको छ। धेरै अवलोकनकर्ता निर्माण सामग्रीबारेमा जानकारी लिन उत्सुक थिए। ‘बिल्डिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो–२०७५’ मा सर्वसाधारणले सस्तोमा कसरी बलियो र गुणस्तरीय घर बनाउन सकिन्छ भन्ने विषयमा रुचि राखेको आयोजकले बताएका छन्। तीन वर्षअघिको भूकम्पपछि बलियो घरको विषयमा चासो बढ्दै गएको छ।

निर्माण सामग्रीसँग नयाँनयाँ प्रविधि उपलब्ध भएको प्रदर्शनीमा विभिन्न कम्पनीले आफ्नो सेवाको बारेमा जानकारी गराइरहेका छन्। प्रदर्शनी उत्साहपूर्वक चलिरहेको मेला सहआयोजक ब्रान्डवर्थका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरेलले बताए। प्रदर्शनीमा नयाँनयाँ उत्पादन सार्वजनिक गरिएका छन्। कम्पनीहरुले सर्वसाधारणलाई जानकारी गराउने एपसमेत सार्वजनिक गरेका छन्। पछिल्लो समय सर्वसाधारणमा बलियो घर बनाउनुपर्छ भन्ने विषयमा चेतना बढ्दै गएको नेपाल इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष हरेराम श्रेष्ठले बताए। यसै विषयमा प्रदर्शनीमा विभिन्न कार्यक्रम चलिरहेका छन्। ‘धेरैलाई अहिले निर्माणसम्बन्धी जानकारी आवश्यक छ,’ श्रेष्ठले नागरिकसँग भने, ‘आफ्नो बजेटभित्र रहेर घर कसरी बनाउने भन्ने विषयमा उनीहरुलाई जानकारी गराउन आवश्यक छ।’

‘बिल्डिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो–२०७५’ मा सर्वसाधारणले सस्तोमा कसरी बलियो र गुणस्तरीय घर बनाउन सकिन्छ भन्ने विषयमा रुचि राखेको आयोजकले बताएका छन्। तीन वर्षअघिको भूकम्पपछि बलियो घरको विषयमा चासो बढ्दै गएको छ।

प्रदर्शनीको दोस्रो दिन ४० हजार जनाले मेला अवलोकन गरेको गजुरेलले बताए। मंसिर ९ गतेसम्म सञ्चालन हुने मेलाको पहिलो दिन बिहीबार २५ हजारजनाले अवलोकन गरेका थिए। दुई दिनमा अवलोकनकर्ताको संख्या ६५ हजार नाघेको छ। मेलामा क्षमादेवी बिल्डिङ मेटेरियल्सले प्रिफ्याबका घरहरु सस्तोमा बनाइदिने योजना ल्याएको छ। कम्पनीले एउटा कोठा ३ लाख रुपैयाँमै निर्माण गरिदिने निर्देशक जयराम अर्यालले दाबी गरे। उनले वातावरणमैत्री सामग्रीबाट सस्तोमा घर बनाइदिने योजना ल्याएको बताए। घर बनाउन नसक्नेलाई प्रिफ्याबका घर गुणस्तरीय र सस्तोमा बनाइदिने उनको दावी छ।

मेलामा पाइप एन्ड फिटिंग्सबीच पनि निकै प्रतिस्पर्धा छ। मेलामा नेपाटप, आइटिपिएफ, पञ्चकन्या, मंगलम् , मार्भल फ्लोगार्डलगायतका कम्पनीका पाइप तथा फिटिंग्स सामग्री छन्।

केही बैंकले सुलभ दरमा घरकर्जा उपलब्ध गराउने गरी मेलामा स्टल राखेका छन्। राष्ट्रिरीय बाणिज्य बैंकले महालक्ष्मी घरकर्जा, एभरेष्ट बैंकले इविएल होम लोन, मुक्तिनाथ विकास बैंकले आवाश कर्जा योजना उपभोक्ताबीच ल्याएका छन्।

मेलामा निर्माण क्षेत्रमा भित्रिएका नविनतम प्रविधिहरु प्रदर्शनमा राखिएका छन्। मेलामा ल्याण्ड एण्ड हाउजिङ कम्पनी, पेन्ट्स्, इन्टेरियर डिजाइनर, सिमेन्ट उत्पादक, फर्निचर एण्ड फर्निसिङ, स्टिल, ईटा तथा मार्बल, विद्युतीय समग्री, बैंक तथा वित्तीय संस्था, बीमा, सौर्य ऊर्जालगायतको १ सयभन्दा बढी स्टल छन्। मेलामा घर निर्माण गर्ने सामग्रीका साथै सुरक्षित आवास निर्माण गर्ने तरिकाबारे अबलोकनकर्तालाई सल्लाहसमेत उपलब्ध गराउने गजुरेलले बताए। इन्जिनियर, आर्किटेक्ट, डिजाइनर, निर्माण व्यवसायी, निर्माण सामाग्री उत्पादक तथा विक्रेतालगायत सबै सरोकारवाला पक्षलाई एकै ठाउँमा ल्याएर सुरक्षित र दिगो आवास निर्माणबारे सूचना दिने उद्दश्यले मेला आयोजना गरिएको हो। मेलामा दैनिक रुपमा छलफल र सेमिनारसमेत आयोजना भइरहेको छ। मेलामा शुक्रबार हरित निर्माणबारे छलफल भयो। शनिबार निर्माणको गुणस्तर र उत्कृष्ट अभ्यासबारे दिउँसो १ बजेदेखि डेढ घन्टा प्राविधिक छलफल हुने आयोजकले जानकारी गराएका छन्।

भूकम्पीय जोखिमयुक्त क्षेत्रमा रहेको नेपालमा सुरक्षित आवास निर्माणबारे सचेतता अपनाउन आवश्यक छ। नेपालको विशिष्ट भौगोलिक अवस्थितिका कारण उत्पन्न हुन सक्ने प्राकृतिक जोखिमप्रति ध्यान दिँदै दिगो निर्माणमा लाग्नुपर्ने सरोकारवाले बताएका छन्। यसप्रति आममानिस पनि निकै सचेत देखिन थालेका छन्। यो मेलाले फरकफरक भौगोलिक अवस्थितिमा भौतिक निर्माणका लागि आवश्यक फरकफरक प्रविधि, सिप र निर्माण सामाग्रीबारे सही सूचना एवं जानकारी दिन मद्दत पु¥याउने आयोजकले बताएको छ। युथ कम्युनिटी फर नेप्लिज कन्ट्याक्टर्स (वाइसिएनसी) को मुख्य आयोजनामा भएको मेलाको सहआयोजकमा नेपाल इन्जिनियर्स एसोसिएसन, सोसाइटी अफ नेप्लिज आर्किटेक्ट, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्म र ब्रान्डवर्थ प्रालि रहेका छन्।

प्रकाशित: ८ मंसिर २०७५ ०२:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App