४ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

अनुभवहीन चालक हुदाँ दुर्घटना

धनगढी/डडेल्धुरा - कक्षा एघारमा पढ्ने १७ वषीय डरम्बरी सार्की गाडीमा अगाडिको दुई नम्बर सिटमा बसेकी थिइन्। उनी अगाडिको सिटमा गाडीका फाउन्डर तथा विद्यालयका प्रिन्सिपल भीम बलायर थिए। प्रिन्सिपलको सानो छोरी उनले काखमा समातेर खेलाइरहेकी थिइन्। उनको गन्यापधुरा–३ सकाइलमा रहेको घर आउन ८/१० मिनेट मात्र बाँकी थियो। क्षमताभन्दा बढी यात्रु रहेको र तीव्र गतिमा रहेको गाडी रडुवाको ओरालोमा एकाएक अनिन्त्रित भएर सडकमा यताउता गर्न थाल्यो। ‘ए गाडी नफाल भनेर प्रिन्सिपल बलायर कराउनु भयो,’ धनगढी मायामेट्रो अस्पतालमा उपचार गराइरहेकी डम्बरीले भनिन्, ‘उनको अवाजलगत्तै गाडीमा चिच्याहट र रुवाबासी चल्यो।’

सामान्य घाइते रहकी डम्बरीलाई घुम्तीबाट गाडी खसेको थाहा छ। त्यसपछि के भयो केही थाहा नभएको उनले बताइन्। बिचैमा उनी खोल्सामा अड्किइन।‘दोस्रो जीवन पाएको महसुस भएको छ,’ उनी भन्छिन्। सेती अञ्चल अस्पतालमा शुक्रबार बिहान गाडीका सहचालक १६ वर्षीय महादेव रावतलाई बोल्न धेरै गा्रहो भइरहेको थियो। ओरालोमा गाडी अनियन्त्रित भएपछि चालक लोकबहादुर बोहराले गाडीलाई घुम्तीमा मोड्न नसकेको उनले बताए। केही समय पहिले यो गाडीका चालक खड्ग बलायर थिए। एक डेढ साताअघिदेखि मात्र लोकबहादुर महराले यो गाडी चलाउन सुरु गरेको उनी बताउँछन्।

भारततिर गाडी चलाउने गरेका उनलाई पहाडमा गाडी चलाएको अनुभव थिएन। ‘चालक नयाँ भएकाले उसलाई अनुभव कम थियो। एकसाता अघिदेखि विद्यालयमा उनले गाडी चलाउँदा पनि विद्यार्थी निकै डराएका थिए,’ विद्यालयका पढ्ने विद्यार्थीका अभिभावक शिखर नगरपालिका–११ गोपघाटका कृष्ण विष्टले भने, ‘ओरालोमा ओभरलोड गाडी चलाउँदा उनलाई समस्या भएको देखिन्छ।’ अर्का घाइते युवक विनोद किमाडी गाडीमा आफूलगायतका धेरै युवाहरू उभिइराखेको अवस्थामा गाडी तीव्र गतिमा ओरालो गुडिरहेका बेला दुर्घटना भएको बताउँछन्। ‘मलगायत मेरा साथी उभिरहेका थियौं। गाडीभित्र खचाखच भएकाले अरु पनि उभिइरहेका थिए। प्रिन्सिपलले फास्ट नचला, गाडी नफाल भनेर कराउदै थिए,’ उनी भन्छन्, ‘एकछिनमै सडक छेउको बारलाई समेत भत्काउँदै गाडी खस्यो।’

ओभर लोड र तीव्र गतिले ब्रेक नलाग्दा दुर्घटना
ओभर लोड र त्यसैमा तीव्र गति भएकाले ब्रेक नलागेर दुर्घटना भएको जानकारहरू बताउँछन्। ‘ओरालोमा ओभरलोड हुँदा ब्रेक फेल हुने गर्छ,’ मेकानिकल इन्जिनियर हरिहर पन्त भन्छन्, ‘हिँजोको दुर्घटनामा ओरालामा ओभरलोड र त्यसैमा तीव्र गति हुदाँ ब्रेकले काम गर्न छाडेको देखिन्छ।’ ओरालोमा तीव्र गति हुदाँसमेत ब्रेकले काम नगर्ने हुन सक्ने उनको भनाइ छ। यो गाडीमा ओभर लोड र तीव्र गति दुवै हुदाँ समस्या भएको विज्ञहरू बताउँछन्।

पहाडमा गाडी चलाएको अनुभव कम भएको चालक हुनाले उनले डडेल्धुराको डरलाग्दो रडुवा खोलाको ओरालोमा कसरी सावधानीपूर्वक गाडी चलाउने भन्ने कुरा सावधानी अपनाउन नसकेको घाइते मीना सार्कीले बताइन्। भिरालो र अप्ठेरो घुम्ती रहेको यो ठाउँमा पटकपटक सवारीसाधन दुर्घटना हुने गरेको स्थानीय बताउँछन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बर केसी प्रारम्भिक अध्ययनअनुसार ब्रेक नलागेर दुर्घटना भएको बताउँछन्। तीव्र गतिमा रहेको गाडीमा ब्रेक नलागेकै कारण बढी हताहत र चोटपटक लागेको उनको भनाइ छ।

विद्यालयको गाडीमा भाडाका यात्रु
विद्यार्थी वोक्ने गाडीमा भाडा लिएर यात्रु राखेर उग्रतारा भगवतीको मेलामा लगिएको थियो। सुदूपश्चिमको ठूलो मानिने सो मेलाबाट फर्कने बेला लगेकाभन्दा थप बढी यात्रु गाडीमा बसालिएको थियो। ‘म जाने बेला अर्कै बसमा मेला गएकी थिएँ। फर्कने बेला ७० रुपैयाँ भाडा तिरेर त्यो बसमा बसेकी हुँ,’ घाइते मीना सार्कीले भनिन्। गाडीमा ठाउँ नहुँदै पनि भाडा लिएर क्षमताभन्दा बढी यात्रु बसालिएको उनीहरू बताउँछन्।

मृतकको संख्या १८ पुग्यो
डोटी डडेलधुरा डा. केआइ सिंह राजमार्गको अमरगढी नगरपालिका ११ रडुवा खोलामा बिहीबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ। घटनास्थलमा नै १० जनाको मृत्यु भएको थियो भने ८ जनाको उपचारका क्रममा ज्यान गएको डडेलधुराका प्रमुख जिल्ला अधिकारी मोहन जोशीले बताएका छन्। २७ जना घाइतेमा १४ गम्भीर घाइते छन्।

सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुरज केसीका अनुसार मृत्यु हुनेमा डडेलधुरा नवदुर्गा ३ वस्ने वर्ष २२ का चक्रबहादुर धामी, डडेलधुरा गन्यापधुरा ३ का माया रावत, डोटी दिपायल सिलगढी नगरपालिका ४ का शशी विक , शिखर नगरपालिका ११ की गोपा भाट उनका श्रीमान् शंकर जोरा रहेका छन। यसैगरी, शिखर ८ वस्ने ४० वर्षीय कैलाश रावत , सोही ठाउँका ४० वर्षीय योगेन्द्र रावल, शिखर नपा १० का १६ वर्षीय रोहित बलायर , कैलाली गोदावरी १० का २३ वर्षीय पुरन कठायत , डडेलधुरा नवदुर्गा गापा ३ चौपालका २० वर्षीय तिलक खाती , सोही गाउँका १७ वर्षीय टेक धामी रहेका छन्।

यसैगरी, कैलाली गोदावरी नगरपालिका २ बस्ने २१ वर्षीय केशव कठायत, गोदावरी नपा १० का २० वर्षीय शारदा कठायत, डोटी शिखर नपा ११ का २२ वर्षीय योगेन्द्र बोहरा, शिखर नपा ८ बस्ने २२ वर्षीया शारदा रावत , धनगढी उपमहानपा ११ का २८ वर्षीय नारायाण चौधरी, शिखर नगरपालिका वानं १० का १५ वर्षीय सागर बलायर र शिखर नगापालिका वानं ११ बस्ने २४ वर्षीय पदम विक रहेका छन्।

बसमा ४६ जना यात्रु रहेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे विस्तृत अनुसन्न्धान भइरहेको डडेलधुराका प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिए। डडेल्धुरा र दार्चुलामा भएका सवारी दुर्घटनाका गम्भीर घाइते १० जनालाई थप उपचारका लागि हेलिकप्टरबाट नेपालगन्ज र काठमाडौंतर्फ लगिएको छ। दार्चुलाको मालिकार्जुनमा भएको जिप दुर्घटनाका घाइते ७ जना र डडेल्धुराको रडुवाखोलामा भएको बस दुर्घटनाका ३ जना घाइतेलाई नेपालगन्ज र काठमाडौं लगिएको प्रदेश प्रहरी प्रमुख डिआइजी केसीले बताए।

धनगढीमा उपचाररत रडुवा खोला दुर्घटनाका गम्भीर घाइते मीना सार्की, महादेव रावत र शुशील बोहरालाई काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले जानकारी दिए। यसैगरी, कोहलपुरवाट लोक महरा, राधिका धामी, भक्त बलायर र नविन धामी लाई हेलिकप्टरबाट लगिएको छ। ७ जनाको धनगढीमा सेती अञ्चल अस्पताल र मायामेट्रोमा उपचार भइरहेको छ। अन्यको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

मुख्यमन्त्रीले भेट घाइते
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उपचारका लागि धनगढी पु-याइएका डडेल्धुरा रडुवा खोला बस दुर्घटनाका घाइतेलाई अस्पताल पुगेर भेटेका छन्। घाइतेहरू भर्ना गरिएको सेती अञ्चल अस्पताल र धनगढीकै मायामेट्रो अस्पताल पुगेर मुख्यमन्त्री भट्टले घाइतेको अवस्थाबारे जानकारी लिएका थिए।

घाइते र तिनका आफन्तसँग कुरा गर्दै मुख्यमन्त्री भट्टले उपचारमा प्रदेश सरकारले समन्वय गरिरहेको बताए।

मुख्यन्त्री भट्टले विज्ञप्ति जारी गर्दै डडेल्धुरा र दार्चुलामा भएका दुवै दुर्घटनाप्रति शोक व्यक्त गरेका छन्। घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिइएको र गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लैजान पहल गरिएको विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: ८ मंसिर २०७५ ०२:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App