१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

सडकले सहज यात्रा

नारायणगढ–मुग्लिन सडकखण्डमा गुड्दै गरेका सवारीसाधन। तस्बिरः सरिता/नागरिक

चितवन - काठमाडौंका ५० वर्षीय राजेन्द्र तण्डुकार नारायणगढ–मुग्लिन सडकखण्डसँग अभ्यस्त छन्। सडकखण्डमा उनले धेरै समय पनि बिताएका छन्। २४ वर्षदेखि सवारीसाधन चलाउने काम गर्दै आएका उनी काठमाडौं–नारायणगढ रुटमा माइक्रो बस चलाउँछन्। १२ वर्षअघि राजेन्द्रले किनेको बा.२ ख २५६४ नम्बरको माइक्रो बस यही रुटमा चल्छ। हरेक दिन बिहान काठमाडौंबाट चितवन आउने र बेलुका फर्किने गर्छन् उनी।

उनले सवारीसाधन चलाउन थालेयता अहिले नारायणगढ–मुग्लिन सडकखण्ड सबैभन्दा राम्रो बनेको छ। त्यसैले माइक्रो चलाउन उनलाई सजिलो पनि भएको छ। बिहीबार बिहान सबा आठ बजे काठमाडौंबाट हिँडेका उनी साढे १२ बजे नारायणगढ आइपुगेका थिए। ‘काठमाडौं–नारायणगढ चार घण्टाको बाटो हो’, उनी भन्छन्, ‘बाटो बनाउन थाल्नुपहिले पाँच घण्टामा आइपुगिन्थ्यो।’

एसियन हाइवे एएच–४२ अन्तर्गतको नारायणगढ–मुग्लिन सडकखण्डको ३३ किलोमिटर एसियाली मापदण्डअनुसार दुई लेनको बनाइएको छ। अहिले सडकको स्वरुप र सरर हुने यात्राले विगतको सास्ती बिर्साएको छ।

सडकखण्ड विस्तारको काम हुँदा भने उनको यात्रा पाँच घण्टामा पूरा भएन। दिनमै काठमाडौं–नारायणगढको दुईतर्फी यात्रा गर्ने उनी कहिले एकतर्फी यात्रामा सीमित भए, कहिले त दुई दिन पनि लाग्यो। ‘चार घण्टाको बाटोलाई २४ घण्टाभन्दा बढी पनि लाग्यो। नारायणगढ–मुग्लिनमै दिन पनि बिते’, उनले भने। उनले काठमाडौंबाट नारायणगढ आइपुग्न लाग्ने समय त कतिपटक यही सडकखण्डमा बिताएका थिए। मर्मतका बेला नारायणगढ–मुग्लिन खण्ड पार गर्नमात्रै तीनचार घण्टा लाग्थ्यो। अहिले यो दूरी उनी ४०÷४५ मिनेटमा सजिलै पार गर्छन्।

विगतमा यो सडकखण्ड भएर यात्रा गर्ने यात्रुले पनि धुलो, खाल्डाखुल्डी, जाम र डरलाग्दा पहिरोको जोखिम खेपे। अहिले सडकको स्वरुप र सरर हुने यात्राका कारण यात्रुले राहत महसुस गरेका छन्। यो खण्ड २०३६ सालमा चीन सरकारको सहयोगमा निर्माण भएको हो । नेपालमा एसियाली सडकका दुईवटा नेटवर्क छन्। एएच–०१ मा पूर्व–पश्चिम राजमार्ग पर्छ। एएच–४२ नेटवर्कमा कोदारीबाट काठमाडौं, नारायणगढ हुँदै वीरगन्ज पुग्ने सडक जोडिएको छ। एसियन हाइवे एएच–४२ अन्तर्गतको नारायणगढ–मुग्लिन सडकखण्डको ३३ किलोमिटर एसियाली मापदण्डअनुसार दुई लेनको बनाउने काम गरिएको हो। दुई वर्षमा काम सक्ने भन्दै सन् २०१५ को अप्रिलमा विस्तारका लागि सडकलाई तीन खण्डमा विभाजन गरेर तीन फरक कम्पनीसँग सम्झौता भएको थियो । काम सुरु हुन थालेको केही दिनमै २०७२ वैशाखमा गएको भूकम्पले काम रोकियो। भूकम्प गएको केही महिनामै भएको भारतीय नाकाबन्दीले देशमा इन्धन अभाव भयो। इन्धन अभावले देशभरका सारा आयोजना ठप्प बने।

नाकाबन्दीको छ महिनामा सडकखण्डमा भने काम भएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनाल बताउँछन्। स्थानीय प्रशासनको पहलमा आयोजनाका लागि छुट्टै इन्धनको व्यवस्था गरियो। ठोरीबाट तेल ल्याएर समेत बाटो विस्तारको केही काम भयो। ‘नाकाबन्दीको समयमा मात्र नौ प्रतिशत काम भएको थियो’, उनी भन्छन्, ‘सडकखण्डमा सवारीसाधन कम चलेको त्यो समयलाई मौकाका रुपमा लिए अप्ठेरा पहरा काट्ने काम गरियो।’

सम्झौता अवधिको २४ महिनालाई तीन भागमा विभाजन गरी पहिलो आठ महिनामा १५ प्रतिशत र त्यसपछि बाँकी रहेको कामको ५० प्रतिशत दोस्रो आठ महिना र बाँकी काम तेस्रो आठ महिनामा सक्ने योजना बनाइएको थियो। १६ महिना बित्दासम्म आधा काम पनि हुन सकेन। निर्माण कार्य ढिला हुँदा ठेकेदार कम्पनीलाई करिब ८३ लाख रुपैयाँ जरिवानासमेत तिराइएको इन्जिनियर खनालले जानकारी दिए। सम्झौताको समयसीमाभन्दा करिब १५ महिना ढिलो गरी सडकखण्ड तयार भयो। ३३ किलोमिटर सडकखण्डमध्ये १४ किलोमिटर ११ मिटर फराकिलो र १९ किलोमिटर ९ मिटर फराकिलो बनाइएको छ।

३५ मिनेटमा पार गर्ने लक्ष्य
दैनिक करिब १० हजार सवारीसाधन ओहोरदोहोर गर्ने यो सडकखण्ड विस्तार गर्ने काम चुनौतीपूर्ण थियो। त्यसैले आयोजनाले केही महिना दैनिक ६ घण्टा यातायात रोकेर समेत विस्तारको काम गरेको इन्जिनियर खनाल बताउँछन्। नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत विश्वबैंकको लगानीमा सडक विस्तारको काम गरिएको हो। आयोजनाअन्तर्गत नेपालमा सवारीसाधनलाई बाटो पार गर्न लाग्ने समय घटाउन सडक विस्तारको काम गरिएको हो।

‘विस्तार हुनुअघि नारायणगढ–मुग्लिन सडकखण्ड पार गर्न एक घण्टा १० मिनेट लाग्थ्यो’, खनाल भन्छन्, ‘यो समय आधा घटाउने लक्ष्यअनुसार सडक स्तरोन्नति भएको हो। अब यो खण्ड ३५ मिनेटमा पार हुने लक्ष्य राखिएको छ।’ सडक विस्तार काम सकिए पनि यस खण्डका १८ वटा पुलमध्ये १४ वटाको विस्तार काम सुरु नै भएको छैन। यसले गर्दा ३५ मिनेटमा नै सडक पार गर्न सकिने अवस्था अझै बनेको छैन। अहिले सरदरमा ४५ मिनेटमा यो सडकखण्ड पार गर्छन् यात्रु। हाल चारवटा पुल निर्माणको काम भइरहेको छ।

दुर्घटना रोक्न रम्बल स्ट्रिप
सडक विस्तार सकिएपछि पुल र तिनको आसपास धेरै दुर्घटना भए। त्यसैले सडकखण्डका सबै पुलको मुखमा रम्बल स्ट्रिप राखिएको छ। यसले सवारीसाधन पुलनजिक पुग्दा घरर्र आवाज आउँछ र गति कम गर्न चालकलाई सचेत बनाउँछ। सडकखण्डमा यात्रा गर्ने यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर सडक विस्तार गरिएको आयोजना प्रमुख रोहितकुमार बिसुराल बताउँछन्।

नदीकिनारमा रहेको सडकमा सेफ्टी ब्यारिएरको अधिक प्रयोग गरिएको छ। सडकको अवस्थाअनुसार डब्लु–बिम मेटल क्र्यास ब्यारियर, न्यु जर्सी कंक्रिट क्र्यास ब्यारियरलगायत राखिएका छन्। चीन सरकारले सहयोगस्वरुप उपलब्ध गराएको केबल ब्यारियर पनि राखिएको छ। सडक दुर्घटना रोक्ने सुरक्षा प्रविधिबारे खोजी गर्दा सजिलो मानिएको केबल ब्यारियर ‘नमुना’ का रुपमा पाँच सय मिटरमा प्रयोग गरिएको छ।

ब्यारिएर रातको समयमा टल्किन्छ। सडकखण्डमा पाँच सय ७० वटा ट्राफिक चिह्न राखिएका छन्। चिह्न, ब्यारियर र सडकको किनार तथा मध्यभागमा प्रयोग गरिएको क्याट आइजले रातको समयमा सडकखण्डमा झलल्ल बत्ती बलेजस्तो देखिन्छ। घुम्ती तथा जोखिमयुक्त ठाउँमा रातको समयमा यात्रा सुरक्षित बनाउन क्याट आई राखिएको इन्जिनियर खनालले बताए।

बन्यजन्तुमैत्री सडक
नारायणगढ–मुग्लिन सडक बन्यजन्तुमैत्री बनेको छ। सडकका कारण बन्यजन्तुले भोग्नुपर्ने सास्तीसमेत कम गर्ने प्रयास गरिएको छ। बरन्डाभार क्षेत्रमा गैंडा, हरिण, चित्तललगायतका वन्यजन्तु सडक भएर वारपार गर्छन्। त्यसैले बन्यजन्तुलाई सडक वारपार गर्न ‘अन्डर पास’ बनाइएको छ।

सडकखण्डमा चारवटा ‘अन्डर पास’ बनाइएका छन्। करिब पाँच करोड रुपैयाँ लागतमा ‘अन्डर पास’ निर्माण गरिएका हुन्। ‘अन्डर पास’ बनाइएको वरपरको जंगलमा तारबारसमेत गरिएको छ। बन्यजन्तुलाई वारपार गर्न ‘अन्डर पास’ नेपालमै पहिलोपटक राखिएको हो। क्यामेरा ट्र्यापिङमा धेरै बन्यजन्तुले अन्डरपासको प्रयोग गरेको पाइएको इन्जिनियर खनालले जानकारी दिए।

काठमाडौं उपत्यकासँग जोड्ने प्रमुख सडकमा पर्ने सडकखण्डलाई लाइफ लाइन मानिन्छ। साना सवारीसाधन वैकल्पिक बाटोका रुपमा हेटौंडा तथा पोखरा हुँदै काठमाडौं जान सक्ने भए पनि पूर्व र पश्चिमबाट आउने ठूला सवारीसाधन गुड्ने एकमात्र सडक यही हो। विस्तार सकिएपछि सडकखण्ड आकर्षक बनेको इन्जिनियर खनालले बताए।

सडक विस्तारका क्रममा बनेका ससाना छहरा, दायाँबायाँको हरियालीले यात्रा रमाइलो बनाउने गरेको छ। राति टल्किने ट्राफिक चिह्न, केबल ब्यारियर तथा क्याट आइजले सडकखण्ड फरक र रमाइलो देखिन्छ। मालवाहक तथा ठूला सवारीसाधन गुड्ने भएकाले सडकमा तीन तहमा गरी १६ सेन्टिमिटर मोटो पिच गरिएको छ। नेपालमा नै पहिलो पटक यति मोटो पिच गरिएको खनालले बताए।

पहरा फोडेर विस्तार गरिएको सडकमा पहिरो रोकथामका लागि बायो इन्जिनियरिङ प्रविधि प्रयोग गरिएको छ। आयोजनामा सुरुदेखि नै सम्बद्ध इन्जिनियर खनालले सडकखण्ड विस्तारको कामबाट आफ्नो जागिरे जीवनको १५ वर्षको अवधिमा सबैभन्दा बढी सन्तुष्टि मिलेको बताए। पुल विस्तार, भासिएको तीन ठाउँको सडक निर्माण र पहिरोको जोखिम देखिएका नयाँ स्थानमा पहिरो रोकथामका कार्यक्रम सञ्चालन गर्न आवश्यक भएको उनले जानकारी दिए।

प्रकाशित: ८ मंसिर २०७५ ०१:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App