२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

थप चारको डिएनए पनि मेल खाएन

निर्मला पन्तकाे हत्यारा पत्ता लगाउन माग गर्दै धर्ना बसेका बुबा यज्ञराज र अामा दुर्गा। फाइल तस्बिरः नागरिक

कञ्चनपुर - निर्मला पन्तको हत्यामा संलग्न भएको आशंकामा डिएनए जाँचका लागि पठाइएको चारजनाको नमुना पनि मेल नखाएको रिपोर्ट आएको छ । उनीहरुको रगत लिएर जाँच गरिएको डिएनए निर्मलाको भेजाइनल स्वाबमा फेला परेको शुक्रकीटको अवशेषबाट विकसित गरिएको डिएन प्रोफाइलसँग मेल नखाएको हो । शुक्रबार जिल्ला प्रहरी कार्यालयमा रिपोर्ट खोलिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसन्धान अधिकृत कृष्ण ओझाले बताए । तिहारअघि पठाएको नमुनाको डिएनए रिपोर्ट जिल्लामा आइपुगेको हो । प्रहरीले अहिलेसम्म ९ जनाको डिएनए जाँच गरिसकेको छ तर तीमध्ये कुनैको पनि मेल खाएको छैन । सुरुमा चक्र बडू र दिलीप बिष्टको डिएनए जाँच गरिएको थियो। त्यसपछि जिल्लाका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्ली बिष्ट, उनका छोरा किरण र आयुष बिष्टको डिएनए जाँच गरिएको थियो।

निर्दोष व्यक्तिको सामाजिक प्रतिष्ठामा अघात पु-याउने काम गरेको भनेर प्रहरीको आलोचना भएपछि पछिल्लो पटक नमुना पठाइएका चारजनाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । प्रहरीले शंकास्पद थप व्यक्तिको पनि डिएनए जाँचका लागि पठाउने तयारी गरेको छ। ‘केही व्यक्ति शंकाको घेरामा छन्’, कञ्चनपुरका एसपी कुवेर कठायतले भने, ‘उनीहरुको पनि डिनए जाँच हुन सक्छ।’

प्रहरीले हत्यामा संलग्न भएको आशंकामा प्रहरीले अहिलेसम्म ९ जनाको डिएनए जाँच गरिसकेको छ तर तीमध्ये कुनैको पनि मेल खाएको छैन।

प्रहरीले अन्य सबै प्रमाण नष्ट गरेको अवस्थामा भेजाइनल स्वाब पनि निर्मलाकै हो भनी विश्वस्त हुन नसकिने स्थानीयको भनाइ छ । भेजाइनल स्वाबमा शुक्रकीट पाइएकै हो भन्ने प्रश्नको चित्त बुझ्दो जवाफ प्रहरीले नदिएकाले डिएनएको विश्वसनीयतामा शंका उब्जेको स्थानीय बताउँछन् । उच्चस्तरिय छानबिन समितिका सदस्य वीरेन्द्र केसीले पनि राजीनामा दिँदा डिएनएको विश्वसनीयतामाथि प्रश्न उठाएका थिए।

धर्नामा बसेका आमाबुवा बिरामी
निर्मलाको हत्यारा पत्ता लगाउने माग राखी ६ दिनदेखि जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा रहेका निर्मलाका आमाबुवा बिरामी परेका छन् । उनीहरु गत आइतबारदेखि दिनरात धर्नामा छन् । चिसोका कारण उनीहरु बिरामी परेका हुन् । ज्वरो आएर दुई दिनदेखि खाना पनि नखाएको निर्मलाका बुवा यज्ञराज पन्तले बताए । बिरामी भएर उनी धर्नास्थलमै पल्टिरहेका छन् । यसैगरी चिसोले कम्मर दुख्न थालेको र रुघा लागेको निर्मलाकी आमा दुर्गादेवीले बताइन् । ‘चिसो लागेमा कम्मर दुख्ने समस्या थियो, धर्नामा बस्दा चिसोले कम्मर दुख्ने समस्या बल्झिएको छ’, उनले भनिन्, ‘छोरीको न्यायका लागी बिरामी हुँदा समेत धर्नामा बसिरहनुपरेको छ।’

यसैबीच शुक्रबार धर्नास्थल पुगेर सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले सरकार हत्यारा पत्ता लगाउन गम्भीर रहेको बताएका छन् । उनले हत्यारा पत्ता लगाउन सरकार संवेदनशील रहेको भन्दै आफ्नो स्वास्थ्यको ख्याल गर्न भनेको आमा दुर्गादेवीले बताइन् । ‘सरकार निर्मलाको हत्यारा पत्ता लागएरै छाड्छ भनेर प्रतिबद्धता जनाएर गए’, उनले भनिन्, ‘आशा र आश्वासनमात्र देखाउछन्, अपराधी पत्ता लगाउँदैनन्।’

प्रकाशित: १ मंसिर २०७५ ०२:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App