८ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

थुनुवा भगाएको आरोपमा प्रहरीलाई मुद्दा

दाङ- प्रहरीको नियन्त्रणमा रहेका एकजना थुनुवा भगाउन सहयोगी बनेको भन्दै दाङ प्रहरीले एक प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ। गत २६ गते सार्वजनिक अपराध तथा नैतिकताको बिरुद्ध कसुरमा प्रहरी नियन्त्रणमा रहेका तुलसीपुर ५ का बिष्णु बुढाथोकी भागेका थिए। ईलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा रहेका बुढाथोकीलाई घोराही स्थित जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेर तुलसीपुर लैजाने क्रममा बसबाट भागेका थिए। बसको पछाडी सिटमा बसेका बुढाथोकी झ्यालबाट हामफालेर भागेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख, डिएसपी प्रेमवहादुर शाहीले जानकारी दिए।

बुढाथोकीको निगरानीका लागि खटिएका प्रहरी जवान शेरवहादुर बुढाथोकीले नै भगाउन सहयोगि बनेको आशंकामा प्रहरी जवान शेरवहादुरलाई सामाजिक न्याय बिरुद्धको कसुरमा प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई मंगलवार जिल्ला प्रशासन कार्यालयबाट ५ दिन म्याद थप गरिएको छ। ‘अभियुक्त बिष्णु बुढाथोकीको निगरानीका लागि प्रहरी जवान शेरवहादुर बुढाथोकीलाई खटाईएको थियो,तर उसकै नजिकबाट बिष्णु भागेपछि उसले पनि सहयोगी भुमिका खेलेको आशंका सहित शेरवहादुरलाई नियन्त्रणमा लिएर मुद्दा चलाईएको छ,’ डिएसपी शाहीले भने ‘मंगलवार मात्रै उसको पाँच दिनको म्याद थप समेत भैसकेको छ।’ प्रहरी जवान शेरवहादुरसंगै चोरी मुद्दामा पक्राउ परेका बसन्त बस्नेतलाई पनि प्रहरीले सामाजिक न्याय बिरुद्धको कसुर अन्तर्गतको अर्को मुद्दा चलाएको छ। बिष्णुलाई भगाउन बस्नेतले सबै भन्दा बढि सहयोगी भूमिका खेलेको डिएसपी शाहीले बताए।

गत २६ गते बिष्णुसंगै ईलाका प्रहरी कार्यालयमा विभिन्न मुद्दामा थुनामा रहेका ३३ जनालाई म्याद थपका लागि घोराही ल्याईएको थियो। थुनुवाहरुको संख्या धेरै भएकाले उनिहरुलाई म्याद थप गरेर बस मार्फत तुलसीपुर पुर्याईँदै थियो। तुलसीपुर पुगे लगत्तै चल्ती बसबाटै बिष्णु हामफालेर भागेका थिए। बसबाट भागेका बिष्णुलाई प्रहरीले केहिबेर लखेटेपनि झमक्कै साँझ परिसकेकाले समात्न सकेको थिएन। उनी गत २३ गते एक ब्यक्तिलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका थिए।  

 

 

प्रकाशित: २८ कार्तिक २०७५ १२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App