९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

मन्त्रिपरिषदले सम्बन्धन खारेज गरेका क्याम्पसमा भर्ना खुला

चितवन– मन्त्रिपरिषद्को बैठकले सम्बन्धन खारेज गरेका कृषि र वनका आठ निजी क्याम्पसले विद्यार्थी पढाउने भएका छन्। रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले आङ्गिकसहित सम्बन्धन दिएका आठ निजी क्याम्पसमा समेत भर्ना लिने गरी कृषि र वन स्नातक तहको भर्ना खुला गरेको हो।

विश्वद्यिालयले आठ निजी क्याम्पसलाई सम्बन्धन दिएपछि विद्यार्थी र प्राध्यापकले आन्दोलन गरेका थिए । त्यही दबाबमा मन्त्रिपरिषद्को बैठकले सम्बन्धन खारेज गर्ने निर्णय गरेकाले सम्बन्धन पाएका निजी क्याम्पस सर्वाेच्च अदालत पुगेका थिए । अदालतले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्नु÷नगराउनु भन्ने अन्तरिम आदेश जारी गरेसँगै विश्वविद्यालयलाई भर्ना खुला गर्ने बाटो फुकुवा भएको विश्वविद्यालयका कानूनी सल्लाहकार टङ्कप्रसाद दुलालले जानकारी दिए। विद्यार्थीले सम्बन्धन दिने निर्णय विरुद्ध रिट निवेदन दायर गरे पनि अदालतले अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश दिएको थियो।

विश्वविद्यालयको कृषि संकायअन्तर्गतको डिनको कार्यालयले आजदेखि मंसिर १७ गतेसम्म अनलाइनमार्फत् भर्ना फाराम खोलेको छ। वनको मंसिर २२ गते र कृषिको मंसिर २९ गते प्रवेश परीक्षा लिने तयारी गरिएको छ। विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले अदालतको आदेश पालना गर्दै भर्ना खोलिएको बताए। 

उनका अनुसार यसवर्ष कृषिमा ७६५ र वनमा १८० जनाले अध्ययन गर्न पाउनेछन् । विश्वविद्यालयको रामपुरमा १६५ जना भर्ना हुनेछन् । सोही प्रवेशपरीक्षाबाट उत्तीर्ण भएकामध्ये आङ्गिक सम्बन्धन पाएका कास्कीको पुरनचौर, धनकुटाको पाख्रिवास, सिन्धुलीको कपिलाकोट, कैलालीको टीकापुर र महोत्तरीको बर्दिबासमा ५०÷५० जना भर्ना हुन पाउनेछन् । 
यस्तै निजी सम्बन्धन पाएका पूर्वाञ्चल कृषि क्याम्पस झापा, जीविका कृषि विज्ञान कलेज इटहरी, भ्याली कृषि क्याम्पस ललितपुर, हिमछायाँ कलेज गैँडाकोट, रामनगर टेक्निकल एण्ड म्यानेजमेन्ट कलेज भूमही नवलपरासी, गोर्खा युनाइटेड पब्लिक स्कूल कोहलपुर र ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेतले ५०÷५० जना विद्यार्थी भर्ना गर्न पाउनेछन् । 

वनतर्फ विश्वविद्यालयको हेटौँडा क्याम्पसमा ८०, आङ्गिक क्याम्पसमध्ये कटारीमा ५० र निजी सिद्धान्त क्याम्पस गैँडाकोटमा ५० विद्यार्थी भर्ना हुन पाउनेछन् । गतवर्ष विश्वविद्यालय अन्तर्गत कृषि विषय पढ्नका लागि ४२ सयले आवेदन दिएकामा ३६५ जनाले पढ्न पाएका थिए । वनतर्फ गतवर्षमा ८० जनाले मात्रै पढ्न पाएका थिए । यता विश्वविद्यालयले निजी क्याम्पसलाई सम्बन्धन दिन नहुने भन्दै विद्यार्थीले विश्वविद्यालयको केन्द्रीय कार्यालय, डिनको कार्यालय लगायतमा तालाबन्दी गरेका छन् । विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपतिले अनावश्यक ढङ्गबाट विश्वविद्यालयमा अवरोध खडा गर्नु जायज नभएको टिप्पणी गरे।रासस 
  

प्रकाशित: २५ कार्तिक २०७५ ११:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App