१५ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

प्रधानमन्त्री ओली केही दिन अस्पतालमै

काठमाडौं - श्वासप्रश्वासमा समस्या भएपछि सोमबार भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि थप केही दिन अस्पतालमा बस्नुपर्ने भएको छ। ‘उहाँको स्वास्थ्यलाभका लागि केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्छ,’ प्रधानमन्त्रीको उपचारमा संलग्न डा. अरुण सायमीले भने।

भाइरल ज्वरोका कारण केही दिनदेखि औषधि लिएर सरकारी निवास बालुवाटारमै आराम गरिरहेका ओलीलाई सास फेर्न गाह्रो भएपछि सोमबार बिहान करिब ३ बजे महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पु-याइएको थियो। अहिले उनको उपचार मनमोहन हर्ट सेन्टरमा भइरहेको छ। प्रधानमन्त्री ओलीको उपचारमा डा. सायमीको नेतृत्वमा डा. दिव्या सिंह र डा. सन्त दाससहितको टोली संलग्न छ। प्रधानमन्त्रीलाई दमको समस्याका कारण श्वासप्रश्वासमा समस्या भएको थियो। ओरल औषधिले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार नभएपछि ‘स्टेरोइड इन्जेक्सन’ लगाइएको र यसले सुगरको मात्रा तलमाथि हुने भएकाले अस्पताल भर्ना गरिएको सायमीले जानकारी दिए। स्टेरोइड इन्जेक्सनले शरीरको प्रतिरक्षा क्षमता घटाएर प्रतिरक्षा प्रणालीको गतिविधि रोक्ने काम गर्ने सायमीले बताए । ‘सुरुमा उहाँले ओरल औषधि लिइरहनुभएको थियो। ओरल औषधिले स्वास्थ्यमा सुधार नभएपछि इन्जेक्सन दिनुपरेको हो,’ सायमीले भने। प्रधानमन्त्रीलाई इन्जेक्सनसँगै एन्टियोबायोटिक औषधि पनि चलाइएको छ। प्रधानमन्त्री ओलीले करिब पाँच दिनसम्म निरन्तर औषधि खानुपर्ने सायमीले जानकारी दिए।

त्रिवि शिक्षण अस्पतालले सोमबार बिहान जारी गरेको विज्ञप्तिमा प्रधामन्त्रीको छातीमा संक्रमण र चिनीको मात्रा असन्तुलित भएको उल्लेख छ। प्रधानमन्त्रीलाई केही दिन आराम आवश्यक भएकाले अस्पतालमै राखेर उपचार गर्न लागिएको सायमीले जानकारी दिए। सायमीले प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको बताए। ‘उनको स्वास्थ्यमा बिस्तारै सुधार हुँदैछ, ज्वरो पनि नियन्त्रित हुँदै गएको छ,’ सायमीले भने।

अस्पतालले सोमबार साँझ पनि पत्रकार सम्मेलनमार्फत ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको छ। डा. सायमीका अनुसार प्रधानमन्त्रीको खोकी, श्वासप्रश्वासमा सुधार हुँदै गएको छ। स्वास्थ्य परीक्षणमा सकारात्मक सुधार देखिएको उनले जानकारी दिए। प्रधानमन्त्रीको उपचारमा संलग्न डाक्टरहरूले प्रधानमन्त्रीसँग भेट्नैपर्ने व्यक्तिबाहेक अन्य व्यक्तिसँग भेटघाटमा रोक लगाएका छन्।

टाढैबाट हेरेर फर्किए विशिष्टहरू
प्रधानमन्त्री ओलीलाई भेट्न सोमबार उपराष्ट्रपति नन्दबहादुर पुन, नेकपाका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका नेता माधवकुमार नेपाल, झलनाथ खनाल, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापालगायतका नेता शिक्षण अस्पताल पुगेर स्वास्थ्यलाभको कामना गरेका छन्। प्रधानमन्त्रीलाई भेट्न विशिष्ट व्यक्तिलाई मात्र अनुमति दिइएको र विशिष्टलाई पनि नजिक गएर भेट्न नदिइएको प्रधानमन्त्रीका जनसम्पर्क सललाहकार अच्युतराज मैनालीले जानकारी दिए। ‘विशिष्ट व्यक्तिहरू टाढैबाट उहाँलाई हेरेर फर्किनुभयो, अन्य व्यक्तिलाई भने भेटघाटमा पनि कडाइ गरिएको छ,’ उनले भने। हाल प्रधानमन्त्री ओलीको रेखदेखका लागि पत्नी राधिका शाक्य र स्वकीय सचिव राजेश बज्राचार्यमात्र प्रधानमन्त्रीसँगै रहेको मैनालीले जानकारी दिए।

प्रधानमन्त्री ओलीलाई भेट्न शिक्षण अस्पतालमा पुगेका नेता नेपालले भेटमा प्रधानमन्त्रीले आफू ठीक रहेको र शुभेच्छुकहरूको चासो र चिन्ताका लागि धन्यवाद दिएको बताएका थिए। सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले प्रधानमन्त्री ओलीलाई एकदुई दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताए। नेता नेपालले अस्पताल बाहिर जानेबित्तिकै भागदौड बढ्ने भएकाले अस्पतालमै आराम गर्नुपर्ने बताए।

कहिलेदेखि बिरामी भए?
दसैंमा नेताकार्यकर्ता एवं शुभेच्छुकलाई निरन्तर पाँच दिनसम्म टीका लगाइदिएका ओलीले दसैंलगत्तै आफू बिरामी भएको बताएका थिए। दसैंका बेला उनी टीका थाप्न शीतलनिवास गएपछि खासै बाहिर निस्किएका थिएनन्। भारतीय कम्युनिस्ट पार्टीका नेता सीताराम यचुरी भेट गर्न आएका बेला उनी बिरामी भएर एन्टिबायोटिक औषधि लिन सुरु गरेका थिए। स्वास्थ्यमा सुधार नभएपछि उनले नेकपाले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा समेत सहभागिता जनाउन सकेनन्। घरमै स्वास्थ्यलाभ गरिरहेका ओली पार्टीका कार्यक्रम तथा अन्य कार्यक्रममा समेत उपस्थित हुन सकिरहेका थिएनन्। आइतबार बेलुकासम्म सामान्य अवस्थामै रहेका ओलीले राति आफूलाई असजिलो भएको बताएपछि उनलाई आफ्नै गाडीमा राखेर अस्पतालमा पु-याइएको सल्लाहकार मैनालीले जानकारी दिए। ‘बेलुका ९ बजेसम्म हामी बालुवाटारमै थियौं, उहाँको अवस्था सामान्य नै थियो तर राति उहाँको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लैजानुप-यो,’ मैनालीले भने।

दसैंका बेला पाँच दिनसम्म निरन्तर टीका लगाइदिएका ओलीले केही थकाइ महसुस गरेका थिए । उनको उपचारमा संलग्न डाक्टरहरूले टीका लगाउन आउनेबाट प्रधानमन्त्रीमा भाइरस सरेको आशंकासमेत गरेका छन्।

विगतमा के थियो प्रधानमन्त्रीको स्वास्थ्य समस्या?
प्रधानमन्त्री ओलीले मृगौलामा समस्या आएपछि सन् २००७ मा भारतको अपोलो अस्पतालबाट मृगौला प्रत्यारोपण गरेका थिए। त्यसयता उनले मृगौला प्रत्यारोपणसम्बन्धी औषधि नियमित रूपमा सेवन गर्दै आएको प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा दिलीप शर्मा बताउँछन्। पछिल्लो समय ओलीले मृगौला प्रत्यारोपणपछि लिनुपर्ने औषधिसँगै सुगरको औषधि पनि खाने गरेको डा. शर्माले जानकारी दिए।

सन् २०१४ मा ओली फंगल म्यानेन्जाइटिसको उपचारका लागि बैंकक गएका थिए। त्यसपछि उनी दुईपटक फलोअप उपचारका लागि बैंकक गएको डा. शर्मा बताउँछन्। उनले मृगौला प्रत्यारोपणपछि निरन्तर फलोअप जाँच गराउँदै आएका छन्।

स्थायी समिति स्थगित
प्रधानमन्त्री ओली बिरामी भएपछि सोमबारबाट सुरु हुने भनिएको नेकपाको स्थायी समिति बैठक पनि बस्न सकेन। पार्टी एकीकरणको चार महिना बितिसक्दा पनि पार्टीले स्थायी समिति बैठक राख्न सकेको छैन। यसअघि दुईपटक बोलाइएको स्थायी समिति बैठक पार्टीको तल्लो तहको एकता विवादका कारण बस्न सकेको थिएन।

प्रकाशित: १३ कार्तिक २०७५ ०१:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App