१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

नाग्म गमगडी सडक : ग्राभेल गर्न कमसल सामग्री प्रयोग

जुम्ला– जुम्ला कालिकोटको सिमाना नाग्मगाडदेखि सिजा हुँदै मुगुको गमगडी जोड्ने सडक ग्राभेल गर्नको लागि कमसल निर्माण सामग्रीको प्रयोग भइरहेको पाइएको छ। ग्राभेल गर्ने नाममा सडकमा कमसल सामग्री थुपार्ने गरेको पाइएको हो। सडक निर्माणमा गुणस्तरहिन सामग्रीको प्रयोग हुन थालेको भन्दै स्थानीयले आक्रोश पोखेका छन्। नाग्म गमगडी सडक ग्राभेलको अवस्था बुझ्न गाउँ पुगेका जुम्लाका सांसदलाई स्थानीयले तत्काल गुणस्तरहिन सामग्रीको प्रयोग रोक्न माग गरेका हुन। उनीहरुले सडक क्षणिक समयका लागि नभै दिर्घकाल सम्मको लागि बनाइनुपर्ने भन्दै तत्काल गुणस्तरीय सामग्री संकलन गर्नको लागि बातावरण बनाइदिन आग्रह गरे।  

स्थानीयले गुनासो गरेपछि संघीय सांसद गजेन्द्रवहादुर महत र कर्णाली प्रदेश सांसद पदमवहादुर रोकायाले तत्काल कमसल सामाग्री प्रयोग भए नभएको वारेमा छानविन गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्। सडक डिभिजन कार्यालयका प्राविधिक र स्थानीय प्रशासनसंग छलफल गरेर सडकलाई दिर्घायु बनाउने विषयमा गम्भीर बन्नको लागि ध्यान केन्द्रित गराए। 

साघुँरो सडकका कारण जुम्ला कालिकोटको सिमाना हुँदै रारा जाने यात्रुले सास्ती पाइरहेका छन्,  स्तरोन्नतीका लागि ग्राभेल गर्न कमसल सामग्रीको प्रयोगले झनै पीडाबोध गरायो’, संघीय सांसद महतले भने, ‘तत्काल कमसल सामग्री हटाउनको लागि ताकेता गरेका छौं। स्थानीय प्रशासनले यसमा जोडबल गर्नु पर्यो।’ 

कर्णाली प्रदेशका सांसद पदमबहादुर रोकायाले नाग्म गमगडी सडकमा गुणस्तरहिन सामग्री प्रयोग भइरहेकोमा दुःख व्यक्त गरे। ‘यहाँको सडक खन्न शुरु गर्दा देखि नै गुणस्तरहिन सामग्रीको प्रयोग गर्ने र निर्माणका नाममा ध्वंस गर्ने गरेको पाइएको थियो’, उनले भने, ‘अबको निर्माणको काम भनेको एक पटक गरे २०औं वर्षसम्म टिक्ने बनाउनु पर्छ।’ संरचना निर्माणमा कमसल सामग्रीको प्रयोग गर्ने र काम गर्दा ठग्ने जुनसुकै निर्माण कम्पनीलाई कारवाहीको दायरामा उभ्याउन पछि नपर्ने प्रतिवद्धता जाहेर गरे। सांसद रोकायाले कमसल सामग्रीको प्रयोग गर्ने कम्पनी र टुलुटुलु हेरेर वस्ने प्राविधिक दुवै कारवाहीको भागेदार हुने बताए।  

सडक  डिभिजन कार्यालयका ईन्जिनियर श्रवण कुमार महताराका अनुसार अहिले ग्राभेलका लागि ठेक्का नं १२ कर्णाली राजमार्गको आरम्भ देखि बड्की सम्म (१३ किमी) सडक हिम्दुंग थोक हिरा नमिता जेभीले  ७ करोड ९० लाख ९५ हजार १७७ रुपैयाँ लिएको छ। ठेक्का नं १७ (१३.१ देखी १७.५) किमी थोदुङ्ग कन्सट्रक्सन प्रालिले  २ करोड ३० लाख ३४ हजार रुपैयाँमा लिएको हो। 

नाग्म गमगडीको सडक ग्राभेलका लागि मापदण्ड पुरा गरेर काम गर्न र कार्यशैली परिवर्तन गर्न भन्दै सडक डिभिजन जुम्लाले असोज २१ गते कम्पनीलाई पत्राचार समेत गरिसकेको छ। 

यसैगरी निर्माण कार्यमा गुणस्तरहिन सामाग्रीको प्रयोग गर्ने र समयमा काम नसक्ने निर्माण व्यवसायीलाई कारवाही गर्न तयार रहेको स्थानीय प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले समयमै सडकमा कमसल सामग्री पुगेको जानकारी आइसकेकोले यो सडक खण्डमा कडा निगरानी राख्ने जनाए। अहिले यो सडकको स्तरोन्नती हुन नसक्दा रारा हुँदै जुम्ला सदरमुकाम खलंगामा आउने वाह्य तथा आन्तरिक पर्यटकले सास्ती बेहोरिरहेका छन्।  

प्रकाशित: ९ कार्तिक २०७५ १३:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App