७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

ट्राफिक प्रहरीको सडकमै दसैं

जुम्ला – जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रमुख माधव रावत टीकाको शुभ साईतपछि सडकमै सवारी चेकजाँचमा व्यस्त छन्। दसैंको समयमा मादक पदार्थ सेवन गर्ने र क्षमता भन्दा बढि यात्रु राखेर सवारी चलाउनाले दुर्घटना निम्तन सक्ने भन्दै सबै जनशक्ति लिएर उनी सडकमा खटिए। उनले भने,“यो पटकको दसैं सडकमै सवारी चेकिङमै बित्यो,तर दसैंमा आफन्तजनसँग भेटघाट हुन नपाएपनि आफ्नो कर्तव्य निर्वाह गर्न पाउँदा निकै खुसी छौं।

ट्राफिक प्रहरी दिलानन्द भट्ट दिनभर जुम्ला खलंगाको कृष्णमन्दिर तिरै देखिन्थ्ये। ट्राफिक प्रहरीको पोशाकमा रहेका उनको मुहारमा दसैंको रौनक थिएन। तर सवारी चेकिङमा एकोहोरो ध्यान थियो। उनले भने,“बाचेपछि यस्ता दसैं तिहार कैयन पटक मनाउन पाईन्छ, तर दसैं तिहारमा हुने लापारवाहीले कसैको पनि दुर्घटना नहोस् भन्ने हामी चाहान्छौ, सबै टीका र जमरामा हिँडडुल गर्दा रंगविनाको निधार देखाएर सडकमा छौ, यसैमा गर्व गछौँ।”

खलंगाको कालेखोली बजारमा ट्राफिक प्रहरी सुशील बुढाथोकी सवारी चेकिङका लागि तैनाथ थिए। क्षमता भन्दा बढि यात्रु राख्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने र कागजात नबोकेर सवारी चलाउनेको कडा निगरानी गर्दै थिए। उनीसँग दसैंमा घर जान नपाएकोमा कुनै पछुतो थिएन, बरु दिनभर कुनै पनि सवारी दुर्घटना नहोस् भन्ने कामना गरेको उनको अनुहारले बताउँथ्यो।  उनले भने,“राष्ट्रको हितलाई सर्वोपरी ठान्दै आफ्नो कर्तव्य पालनामा कहिल्यै पछि नहट्ने कसम अनुसार सेवामा खटिन तयार छौँ।”

सडकमा गुड्ने सवारीको सुरक्षा पहिलो कर्तव्य हो,कर्तव्य पालनाको लागि सधैंमा तत्पर रहन्छौँै, सडकमा खटिने पेसा भएकोले यो पटकको दसैं सडकमा बित्नु कुनै अनौठो विषय होइन,ट्राफिक प्रहरी प्रमुख माधव रावतले भने,“बरु सडकमा दसैं मनाउदाको रमाइलो बेग्लै अनुभुति हुने गरेको छ।”

दसैंमा सदरमुकाम र गाउँको सडक सुरक्षा प्रमुख चुनौति देखिएको छ।  ट्राफिक प्रहरी टेकेन्द्र थापा तिला गाउँपालिका रारालिहीमा बसेर सवारी चेकजाँच गर्न तल्लिन् छन। यो दसैंमा गाउँ सहरमा कुनै दुर्घटना नहोस् भन्नका लागि ट्राफिक प्रहरी सचेत छ। 

कर्तव्य पालनाका क्रममा बिदाको समयमा गुड्ने सवारीमा बढि निगरानी गरिएको थियो। सो निगरानीका क्रममा जिल्ला पशु सेवा कार्यालय जुम्लाको बा १ ब८३८७ नम्बरको मोटरसाईकल नियन्त्रणमा लिइएको छ। मोटरसाइकलमा तीन जना चढ्ने, हेलमेट नलगाउने, कागजात नवोक्ने चालकलाई कार्वाही गरिएको छ।

ट्राफिक प्रहरी प्रमुख रावत दर्जन बढि सवारीलाई कार्वाही गर्नुका साथै अधिकांशका कागजपत्र नियन्त्रणमा लिइएको बताउँछन। जुम्लाको कृष्णमन्दिर, बसपार्क, ट्राफिक कार्यालय अगाडि र रारालिहीमा दिनभर खटिएर सवारी चेकिङ गरिएको हो। ट्राफिक प्रहरी कार्यालयमा चार जनाको जनशक्ति भएकोमा सबै कार्यालय बन्द गरेर सडक सुरक्षामा खटिएका थिए। 
 

 

प्रकाशित: २ कार्तिक २०७५ १२:३० शुक्रबार

ट्राफिक दसैं  सडक