४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सामुहिक बलात्कारका अाराेपी किशाेरहरुलार्इ साढे १० वर्ष कैद

उयदपुर - १४ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार गर्ने उदयपुरका ५ किशोरलाई साढे १० वर्षसम्मको जेल सजाय सुनाइएको छ। जिल्ला अदालत उदयपुरले १६ वर्षमाथि र १८ वर्षमुनिका ४ जना र १५ वर्षीय १ किशाेरलार्इ लाई फरक–फरक कैद सजाय सुनाएको हाे। 

बालिकामाथि सामुहिक बलात्कार अभियोगमा पक्राउ परी ०७४ असोज २३ गते अदालतबाट पुर्पक्षका लागि थुना आदेश पाएर कारागार र बालक सुधारगृहमा रहेका एक अभियुक्तलाई मंगलबार बसेको जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजलासले कैद र जरिवानाको सजाय सुनाएको हो। इजालसले दोषी प्रमाणित गर्दै १६ देखि १८ वर्ष बीचका ४ जनालाई १० वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ भने १५ वर्षीय १ जनाको हकमा नाबालक ठहर गर्दै ७ वर्ष कैदको फैसला सुनाएको हाे। त्यस्तै फरार रहेका एक १७ वर्षीय अभियुक्तको हकमा मुद्धा मुलतवीमा राखेर कारवाही अघि बढाउने फैसला गरेको अदालतले जनाएको छ। सोही फैसलामा पीडितलाई अभियुक्तहरुबाट २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने नियर्णय समेत भएको छ। कसुरदार ठहरिएका सबै बालक रहेकाले १८ वर्ष नपुगुन्जेल कैद भुक्तानका लागि बाल सुधारगृहमा पठाउने र बालिग उमेरका भएपछि कारगार पठाउने आदेश भएको अदालतका नासु कमला निरौलाले बताईन्। 

१६ वर्षमाथिका अभियुक्तको हकमा बलात्कार कसुरमा ९ वर्ष र सामुहिक बलात्कार कसुरमा थप ५ गरी १४ वर्ष कैद हुने कानुनी व्यवस्था रहेको छ। तर, कसुरदारहरु सबै बालक परेकाले कानुन वमोजिम पूर्ण सजायको दुईतिहाई मात्र कैद र जरिवानाको फैसला सुनाइएको अदालतले जनाएको छ। १५ वर्षीय बालकलाई भने ५० प्रतिशत मात्र सजाय हुने कानुनी व्यवस्था वमोजिम फैसला भएको छ।

६ जनाको समूहले बालिकालाई गत २०७४ भदौ १५ गते कटारी नगरपालिका ४ स्थित फुटवल खेलमैदानमा सामूहिक बलात्कार गरेको पीडित परिवारको उजुरीका आधारमा अदालतले सो फैसला गरेको हो। ०७४ भदौ १६ गते इलाका प्रहरी कार्यालय कटारीमा परेको उजुरीका आधारमा पीडितको स्वास्थ्य परीक्षण सोही दिन कटारी अस्पतालमा गर्दा बलात्कार ठहरिएको थियो। 

प्रकाशित: १७ आश्विन २०७५ ०९:३१ बुधबार

बलात्कार सजाय