२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सावधान! ढिस्कोमा परिएला

खोटाङको चिप्रिङमा घर पोत्ने माटो खन्दै स्थानीय बालबालिका। तस्बिर : दमन राई/नागरिक

खोटाङ – माटो खन्ने क्रममा गत शुक्रबार ढिस्कोले पुरिँदा उदयपुर रौतामाई गाउँपालिका–६ निकासकी मधुमाया रायमाझीको मृत्यु भयो। रायमाझीसँगै माटो खन्न गएका सुवास विक, तिलक कार्की र १२ वर्षीया बिसिना बस्नेत घाइते भए।

हिन्दु धर्मावलम्बीको प्रमुख चाडपर्व नजिकिँदै छ। वर्षमा एक पटक आउने चाडपर्वका अवसरमा ग्रामीण क्षेत्रमा रातो माटो, कमेरो माटो, खैरो र कालो माटोले घर पोत्ने प्रचलन छ। विभिन्न रङका यस्ता माटो गाउँ आसपासकै पाखापखेरामा पाइने हुनाले स्थानीय डोको, कोदालो, खन्ती बोकेर माटो लिन जानेआउने गर्छन्। तर, यसरी घर पोत्ने माटो खन्न जाने क्रममा हरेक वर्ष ढिस्कोले पुरिएर स्थानीयको अकालमा मृत्यु हुने गरेकाले चाडसँगै सावधानी अपनाउने बेला आएको छ।

ढिस्कोमा पुरिनबाट बच्न सचेतता अपनाउनुपर्ने खोटाङ प्राकृतिक प्रकोप सहयोग कोष सञ्चालक समितिका अध्यक्ष भोगेन एक्लेले बताए। ‘बजारमा चुन, गेरु आए पनि धेरैजसो ठाउँमा माटोले घर पोत्ने प्रचलन छ, माटो खन्ने क्रममा हरेक वर्ष दुर्घटना भइरहेका खबर सुन्ने गरेका छौं’, अध्यक्ष भोगेनले भने, ‘त्यही भएर सकेसम्म सुरुङ वा ओढार बनाएर माटो खन्नु हुन्न। गिलो वा बग्ने ठाउँमा पसेर माटो निकाल्नु हुँदैन । यो सचेतना जनजनमा पु-याउन आवश्यक छ।’

घर पोत्नका लागि सहर र बजार आसपासमा चुना र गेरुकै प्रयोग हुन्छ। तर, व्यापारिक केन्द्र तथा बजारभन्दा टाढा–टाढाका बस्तीमा दसैंतिहारका अवसरमा रातो माटो, कमेरो र कालो माटोले घर पोत्ने गरिन्छ। अझ स्थानीय जातविशेष कसैले रातो माटोले, कसैले सेतो कमेराले र कसैले दुवै रङका माटोले घर पोत्ने गर्छन्। यस्ता माटो निश्चित ठाउँबाट निकाल्ने गरिन्छ।

ढुंगा नमिसिएको र लिस्याइलो माटो मात्र भएको ठाउँ खोजेर पोत्ने माटो निकालिन्छ। सबैले एकै ठाउँबाट माटो निकाल्ने हुनाले माटो निकालेको ठाउँमा क्रमशः ओढार वा सुरुङ बन्न पुग्छ। त्यही सुरुङ वा ओढारबाट माटो निकाल्ने क्रममा ढिस्को भत्किँदा कतिपय स्थानीय अंगभंग हुने र कतिपयले अकालमा ज्यान गुमाउने गरेकाले सावधानीपूर्वक माटो निकाल्नुपर्ने अध्यक्ष भोगेनले बताए। सावधानी नपनाएकै कारण चाडबाडका मुखमा कतिपय स्थानीयले ज्यान गुमाउने गरेका छन्। ‘माटोको ढिस्कोबाट बच्ने उपाय आफ्नै हातमा छ, तेर्सो वा ठाडो सुरुङ बन्नेगरी खन्नुको सट्टा उँदो खाल्डो हुनेगरी खनियो भने दुर्घटनाको सम्भावना कम हुन्छ,’ उनले भने, ‘सचेतनामूलक जानकारी प्रचार–प्रसार गर्ने बेला यही हो। चाडबाडका समयमा कसैको भागमा मासु, कसैको भागमा आँसु हुनु हुँदैन।’

प्रकाशित: १६ आश्विन २०७५ ०१:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App