१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सप्तकोसीमा मिनी पानी जहाज

उदयपुर– उदयपुर र सुनसरीको सीमानास्थल चतारास्थित सप्तकोसीमा मिनी पानीजहाज (जेटबोट) सञ्चालनमा ल्याइएको छ। हिन्दु नेपालीको महत्वपूर्ण चाड दसैं तिहारमा आउजाउ सहज बनाउने उद्देश्यले उदयपुर, सुनसरी, भोजपुर, खोटाङ र धनुकुटालाई समेत पायक पर्नेगरी चतराघाटमा मिनी पानीजहाज सञ्चालनमा ल्याइएको हो। 

त्यहाँ पानीजहाज सञ्चालनमा आएपछि खासगरी खोटाङ, भोजपुर र धनकुटाको तल्लो भेगका स्थानीयलाई धरानबाट दैनिक उपभोग्य सामान ढुवानी गर्न तथा गाउँघरमा उत्पादित सामान बिक्री गर्न सहज हुने मिनी पानीजहाज व्यवसायी पर्शुराम राईले बताए। उनका अनुसार असार लागेयता वर्षामा बाढीको खतरा बढेसँगै स्थगित भएको पानीजहाज र बोटिङ सोमबारदेखि सञ्चालनमा ल्याइएको हो। 

नजिकिएको दसैं र तिहारमा पहाडी भेगका गाउँघर फर्किने यात्रु अत्याधिक बढ्ने तथा सामान ढुवानी गर्न सहज हुने भएकाले स्थानीयको आग्रह अनुसार बोटिङ र जहाज सञ्चालनमा ल्याइएको राईले बताए। जहाज सञ्चालनमा ल्याइएपछि गाउँलेलाई सुविधा पुग्ने सप्तकोसी बोटिङ तथा पानीजहाज सञ्चालक समितिको ठहर छ। वर्षा बढेकाले  बाढीको बहाव बढ्ने भएकाले गएको असारदेखि साउन र भदौसम्म स्थगित गरिएकोमा वर्षा घट्नुका साथै दसैंमा सहयोग पु¥याउन सेवा सुचारु गरिएको उनले बताए। 

वर्षा घट्दै गएकाले पानीको वहाव साविककै सतहमा आएकाले ३ महिना लामो स्थगनपछि जेटबोट सञ्चालनमा ल्याइएको हो। पहिलो दिन सोमबार क्यान–१ नामक जेटबोटले १ पटक मात्र यात्रा गरेको थियो भने मंगलबारदेखि यात्रा संख्या बढाउने तयारी भइरहेको छ। उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहा गाउँपालिकाको सीमाना भएर बग्ने सप्तकोसीस्थित चतारा पुलदेखि भोजपुरको हलेदे र धनकुटाको सिम्लेसम्म जेटबोट सञ्चालन हुने समितिले जनाएको छ। 

६ महिनाअघि सञ्चालन सुरु भएको जेटबोट सप्कोसीमा २ वटा चलाइँदै आएको छ। चतारा पुलमुनिबाट यात्रा गर्ने जेटबोटले ए कपटकमा २५ जनासम्म यात्रु राखेर १५ किलोमिटर दूरी यात्रा गराउने गरेको छ। जेटबोटबाट खोटाङको दक्षिणी भेग, उदयपुरको बेलका नगरपालिका ७ र ८ वडाबासीलाई फाइदा पुग्ने गरेको छ भने भोजपुर र धनकुटाका तल्लो भेगका बासिन्दा लाभान्वित हुने गरेका छन्। 

त्यसभेगका स्थानीयलाई ७ घण्टासम्म हिड्नुपर्ने भौगोलिक बिकट बाटो जेटबोटबाट १५ मिनेट मात्रै लाग्ने गरेको छ। स्थानीय तह संरचनासँगै बेलका नगरपालिका गठनसँगै निर्वाचित नगर कार्यपालिकाले सप्तकोसीमा जेटबोट सञ्चालन गर्ने अवधारणा अघि सारेको थियो। परीक्षणका लागि सञ्चालित जेठबोट व्यवहारिक देखिएपछि नगरपालिकाले अनुमति दिएर सुरु गरेको जेटबोटेले त्यहाँको जल यातायात लोकप्रिय बन्दै गएको बेलका नगर प्रमुख दुर्गाकुमार थापाले बताए। 

गएको फागुनदेखि सुरु भएको जेटबोट सेवामा गर्मी मौसममा धेरै आन्तरिक र बाह्य पर्यटक कोसीको चिसो हावा खान जल यात्रा गरेको उनले बताए। नगरपालिकाले जल यातायात सञ्चालन गरेर पर्यटक भित्र्याउदै आन्तरिक पर्यटनको विकास गर्ने योजना चालु आर्थिकवर्षमा समेटेको मेयर थापाले बताएका छन्। आगामी दिनमा चताराभन्दा माथिको अग्लो मैनामैनीबाट प्याराग्लाईडिङ सेवा सञ्चालन गरेर सप्तकोसीमा जलयात्रा गराएर सप्तकोसी र मैनामैनी क्षेत्रलाई ‘पर्यटन हब’ बनाउने गरी योजना बनाएर अघि बढ्दै गरेको मेयर थापाको भनाई छ।

प्रकाशित: ९ आश्विन २०७५ १५:५५ मंगलबार

सप्तकोसी मिनी_पानीजहाज