१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

नूरप्रसादद्वारा अदालतमा तोडफोड

काठमाडौं – उच्च अदालत पाटनले आइतबार दुई नम्बर इजलासमा विन्दु धतानी सुनारका ५ वटा मुद्दा छिनेको थियो। जग्गा किचोला, घर खाली गरी वहाल भराईपाउँ, हक कायम गराइपाउँ लगायतका एउटै व्यक्तिका ५ वटा मुद्दाको फैसलामा न्यायाधीशहरू हस्ताक्षर गर्दै थिए । इजलास अधिकृत कम्प्युटरमा काम गर्दै थिए। आइतबार पौने ५ बजेतिर न्यायाधीशद्वय रमेश पोखरेल र शेखरप्रसाद पौडेलको बेञ्चले फैसला गरेको मुद्दाको निर्णय सुनाउने तयारी थियो। सुनारका मुद्दामा उच्च अदालतले यसअघिको जिल्ला अदालतको निर्णय सदर गर्दै अन्तिम फैसला सुनाउने तयारीमा थियो । सुनारको मुद्दामा ललितपुर जिल्ला अदालतले २०७३ साल माघ ४ मा वादीले मागे अनुसारको दाबी नपुग्ने ठहर गरेको थियो।

त्यसैबेला नुरप्रसाद अधिकारी मुद्दा सुनुवाई भएको इजलास पुगेर सोधे, ‘मेरो मुद्दा के भयो ?’ इजलास अधिकृत रोशन बस्नेतले उत्तर दिए, ‘जिल्लाको फैसला सदर भयो।’

बस्नेतको उत्तर सुन्नेबित्तिकै नुरप्रसादले एक्कासी कम्प्युटर र सिपियुमा लात्तीले हाने । टेबुलका राखिएका ढड्डा र सामान छरपष्ट गर्दै बस्नेतलाई इजलास गाली बर्साउन थाले । ‘तँलाई अब सक्काउँछु, बदमास् फटाहा, मार्छु तँलाई,’ भन्दै तथानाम बोले । बस्नेत तर्केर केही पर पुगे । नुरप्रसादले बस्तेनकै कुर्सी उचालेर ‘मार्छु तँलाई’ भन्दै प्रहार गरे । बस्नेतले कुर्सी छल्न भ्याए । कुर्सी गएर झ्यालमा बजारियो । सिसा फुट्यो । कुर्सी झ्याल बाहिर हुत्तियो।

मुद्दाको वारेस बनेर अदालत प्रवेश गरेका नुरप्रसादले आफ्नो पक्षमा मुद्दा फैसला नभएको भन्दै इजलासमा तोडफेड गरे। उनले आक्रमण गर्दाको समयमा मुद्दाका पक्ष सुनार पनि सँगै थिइन् । धतानीको मुद्दामा नुरप्रसाद वारेस बसेका थिए। ‘न्यायाधीशहरु मुद्दाको फैसला गरेर हस्ताक्षर गर्दै हुनुहुन्थ्यो । जिल्ला अदालतको सदर शब्द सुन्ने बित्तिकै इजालस अधिकृतलाई आक्रमण भयो,’ उच्च अदालतका रजिष्ट्रार बाबुराम दाहालले भने । ‘इजलास अधिकृतमाथि कुर्सी प्रहार भयो। अदालतमा यस्तो वितण्डा हुनु दुःखद हो,’ दाहालले भने । इजलास अधिकृत बस्नेतको हातमा समेत चोट लागेको दाहालले बताए।

गोरखा फुजेलका नुरप्रसाद–गंगामाया अधिकारीका छोरा नुरप्रसादले यसअघि पनि सर्वोच्च, काठमाडौं जिल्ला अदालतका कर्मचारीलाई धम्क्याउने गरेका थिए। मुद्दाका पक्ष सुनार जिल्ला अदातलको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गरेकी थिइन्। नुरप्रसाद सुनारलाई मुद्दा जिताइदिन्छु भन्दै विचौलिया बनेर अदालत प्रवेश गरेको उच्च अदालत पाटनले जनाएको छ।

आइतबारको घटनापछि नुरप्रसादलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको बताएको छ। उच्च अदालत पाटनले ७ दिनका लागि अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिइसकेको छ। ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी शेखर खनालका अनुसार अदालतले ज्यान मार्ने उद्योगमा कारबाही गरिपाऊँ भन्दै पत्र पठाएको थियो । त्यहीअनुसार अभियुक्त नुरप्रसादलाई पक्राउ गरी अनुसन्धान सुरू गरिएको बताए।

वीर अस्पतालमा रहेकी आमा गंगामाया अधिकारीले छोरालाई भेट्ने इच्छा जनाएपछि उनलाई प्रहरीले धोवीघाटबाट पक्राउ गरी आमासँग भेट गराइदिएको थियो । आमालाई भेटेर निस्किएपछि उनी सम्पर्कमा आएका थिएनन्। यसअघि आमा अनसन बस्दा समेत पनि उनी आमालाई भेट्न गएका थिएनन्।

प्रकाशित: ९ आश्विन २०७५ ०४:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App