१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

राष्ट्रका बा!

काठमाडौं - उमेर दुवैको उस्तै छ । हिँडाइ र कुरा गर्दाको हाउभाउ पनि उस्तै। झट्ट हेर्दा यी दुवै उमेरले शताब्दीको सँघारमा छन् जस्तो लाग्दैन । दुवैसँग भलाकुसारी गर्दा वृद्धपनको आभासै हुँदैन। कुराकानी गर्दा तन्नेरी ओझ देखिए पनि उमेरले दुवैजना सय वर्ष हाराहारीमा छन्। राष्ट्रकवि माधवप्रसाद घिमिरे आउँदो असोज ७ गते ९९ वर्ष पुगी सय वर्षमा पाइला टेक्दैछन्। शताब्दी तथा वाङ्मय पुरुषको उपमा पाएका सत्यमोहन जोशी गएको वैशाखमा ९८ पूरा भई ९९ वर्षमा प्रवेश गरेका छन्। यी दुई व्यक्तित्व समकालीन हुन्। यिनीहरुको उमेरमा जम्मा १ वर्ष ५ महिनाको फरक छ। उमेर अनि योगदानले पनि यी दुवै व्यक्तित्व राष्ट्रका ‘बा’ हुन्।

देशको छवि उँचो राख्न दुवै सर्जककको उत्तिकै योगदान छ। राष्ट्रका लागि दुवैजनाले शारीरिक र मानसिक शक्ति सुम्पिएका छन्। संस्कृतिविद् जोशी संस्कृति र भाषाको क्षेत्रका अनुसन्धानकर्ता हुन् भने घिमिरेले नेपाली साहित्को ढुकुटी भर्न अतुलनीय योगदान गरेका छन्। दुवैजना बुढ्यौलीको महसुसै नगरी कला, संस्कृति र साहित्यबारे नयाँ पुस्तालाई जानकारी गराउन अहिले पनि तम्तयार छन्।

संस्कृतिविद् जोशी तीनपटकका मदन पुरस्कार विजेता हुन्। उनका प्रबन्ध तथा अनुसन्धानात्मक कृति १०, नाटक ६, काव्य २ र कथासंग्रह पाँचवटा प्रकाशित भइसकेका छन्। उनी अझै केही कृति छपाउने तर्खरमा छन्। उनले पहिलो पटक तल्कालीन कर्णाली अञ्चलको साहित्य र संस्कृतिलाई उजागर गरेका थिए। नेपाली कला, साहित्य, संस्कृति, भाषा आदि क्षेत्रको अध्ययन, अनुसन्धान र सिर्जनात्मक लेखन तथा अनेकौं संघसंस्थाको सञ्चालन, निर्देशन र नेतृत्व उनले गरेका छन्। ‘हामीले गरेको योगदान राज्यले बुझेको छ, आफ्नो रूचिको क्षेत्रमा सानैदेखि लागेको प्रतिफल हामीलाई राज्यले दिएको छ, यसले म र राज्य दुवैलाई फाइदा पु¥याएको छ,’ जोशीले भने।

यस्तै नेपाली कवितामा स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीको कुशल संयोजक भनेर चिनिने घिमिरे गीतकार, गीतिनाटककारका साथै बालसाहित्यकार पनि हुन्। उनी बाल्यावस्थादेखि निरन्तर नेपाली साहित्य लेखनमा सक्रिय छन्। केही समयअघि उनी बिरामी परे तर यति बेला चंगा छन् । बिहीबार लाजिम्पाटस्थित उनकै निवासमा कुराकानीका क्रममा घिमिरेले आफ्ना निम्ति राष्ट्रले प्रशस्त सहयोग गरेको सुनाए । ‘जुन क्षेत्रमा मैले काम गरेको छु, त्यही क्षेत्रको ठूलो राष्ट्रकवि बनाएको छ,’ उनले सुनाए, ‘एउटा कविलाई योभन्दा ठूलो सम्मान कुनै देशले गर्न सक्दैन।’

घिमिरेलाई सिर्जना क्षेत्रमा लाग्ने रहर बाल्यकालमै जागृत भएको थियो। १२/१३ वर्षको हुँदा उनी कवि लेखनाथ पौडेलका कविता खुबै पढ्थे। ‘लमजुङको पुस्तुनमा जन्म हुनु नै मेरो लागि अहोभाग्य हो, त्योसँगै हाम्रो देश प्रकृतिको विन्दु मानिन्छ, यहाँका डाँडापाखा र फूलहरु हेरेर कविलाई साहित्य फुर्छ,’ उनले थपे, ‘यिनै कुरा कविले कापीमा सुसेल्छन्।’ आफूले लेखेका केही कविता छाप्न बाँकी नै भएको उनले सुनाए। उनी पहिले लय झ्यारे भाकामा कविता गाउँथे। काठमाडौं आएपछि उनले आफ्नो पढाईसँगै रचना गर्न माहोल बनाउन थालेका थिए। जसका कारण अहिले उनी राष्ट्रसम्म बन्ने अवसर पाएका छन्। उनी आफूले लेखेका केही कविता अझै छाप्न बाँकी रहेको सुनाए । ती कविता केही महिनामै प्रकाशन गर्ने उनको भनाइ छ। नवमञ्जरी (१९९४), नयाँ नेपाल (२०१३), घामपानी (२०१०), किन्नर–किन्नरी (२०३३), राष्ट्रनिर्माता, राजेश्वरी आदि उनका कृति हुन्।

यस्तो छ जोशीको दैनिकी
संस्कृतिविद् सत्यमोहन जोशी खाना खाने समय तलमाथि पार्दैनन्। उनले बिहान ९ बजे, दिउँसो ३ बजे र बेलुकी ७–८ बजेको बीचमा भोजन गर्छन्। यो उनको तालिका नै हो। यसबाहेक उनी भोक हेरेर खाने गर्छन्। उनी सार्वजनिक कार्यक्रममा ठमठम्ती हिँडेरै पुग्छन्। ‘मलाई वरपर हिँडडुल गर्न असहज महसुस भएको छैन। अहिले त नगरपालिकाले सवारी सुविधा पनि दिएको छ तर पनि नजिकनजिकका कार्यक्रममा हिँडेरै पुग्ने कोसिस गर्छु।’ उमेरमा शताब्दीछेउ पुगे पनि उनको उत्साह तन्नेरी छ। उनी सार्वजनिक कार्यक्रममा पुगेर जोसिलो मन्तव्य दिन्छन्, रिवार र आफन्तसँग खुसी साट्दै कुरा गर्छन्। आफूलाई भेट्न आउनेसँग जोस्सिँदै कुराकानी गर्छन् । सिर्जना र शक्तिले साथ दिइरहेकोमा उनी आफूलाई भाग्यमानी महसुस गर्छन्। आफूलाई कसरी स्वस्थ राख्न सकिन्छ भन्ने कुरामा उनी निकै सजग छन्।

पारिवारिक वातावरण र शारीरिक व्यायामका कारण उनले बुढ्यौलीको अनुभूति गरेका छैनन्। बेलुकी सुत्ने बेलामा उनी दिनहुँँ एक पेक ऐला (घरमा बनाएका रक्सी) सेवन गर्छन् । उनी प्रायः बिहान करिब ७ बजेतिर ब्युँझिन्छन् अनि ओछ्यानमै चिन्तन गर्छन् । संस्कृतका किताब पढ्छन् । चिसो मौसम नभएका बेला फलफूल खान्छन्।

यसरी बित्छ घिमिरेको दिन
कवि माधव घिमिरे दिनमा तीनपटक भोजन गर्छन्। उनी बिहान ७ बजे बिहानको खाजा, दिउँसो १२ बजे खाना र बेलुकी ७ बजे बेलुकीको भोजन गर्छन्। एक महिनाअघि उपचार गराएका उनी अहिले ‘बेड रेस्ट’ मा छन्। शरीर पूरा निको नभएकाले लेखनतिर लाग्ने ताकत नभएको उनले सुनाए। लगातार कुराकानी गर्न पनि ताकत पुग्दैन त्यही भएर बीचबीचमा आराम गर्दै कुराकानी गर्छन्। गएको बिहीबार उनकै निवासमा पुगेर कुरा गर्दा उनी घरि बाल्यकादतर्फ फर्कन्थे घरि पत्रिकाका पाना पल्टाउँदै देशको सीमा मिचिएकोमा दुःख पोख्थे। ‘अहिले फेरि हाम्रो सिमाना मिचिँदै रहेछ। यस्तो भएको देख्दा मन पीरो हुन्छ। देश साघुँरो हुँदैछ तर राजनीतिक सोच त्यता गएन,’ उनले भने।

प्रकाशित: २४ भाद्र २०७५ ००:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App