मध्य भदौमा चोकबजारमै रोपाइँ (फोटो फिचर)
इलाम – हल गोरु अघि–अघि, पछि–पछि बाहुसे। रोपाहारको लर्काे उसैगरी लागेको छ। सबै रोपाहारले हात–हातमा धानको बीउ बोकेका छन्। रोपाहारलाई बीउ पुर्याउन अर्का पुरुष डोकामा धानको बीउ बोकेर हिँड्दैछन्। कोही दमाहा र ट्याम्को बजाएर बेठी लगाउँदैछन्। कोही दौरा–सुरुवाल, भादगाउँले टोपी लगाएर लौरो टेक्दै नाच्दैछन्।
जेठदेखि साउनसम्म देशका सबैजसो खेतमा धान रोपाइँको सिजन सकिन्छ। तर, पूर्वीपहाडमा असार या साउन महिना बित्दैमा रोपाइँ सकिँदैन। तिथिमितिले भेट्टाए भदौ दोस्रो साता बित्दा पनि रोपाइँको रन्को झनै उर्लेर आउँछ। तर, यो रोपाइँ खेतमा होइन, न त घुँडासम्म डुब्ने हिलोमै हो। यो त इलाम, पाँचथर, तेह्रथुम, ताप्लेजुङलगायत पूर्वीपहाडी जिल्लाका सहरमा हुने रोपाइँजात्राको रौनक हो।
बर्सेनिजस्तै यो वर्ष पनि इलामसहित पूर्वका जिल्लामा रोपाइँजात्रा मनाइयो। विभिन्न जातजातिका सांस्कृतिक पहिरनमा सजिएका युवक–युवती, प्रौढ र बालबालिका जात्रामा सहभागी भए। बजारै थर्काउनेगरी नौमती घन्काउँदै बेठीसहित गरिएको रोपाइँजस्तो अभिनय गरी यो जात्रा मनाइन्छ। हुलका हुल युवक–युवती नौमतीको सुर–तालमा कम्मर मर्काइ–मर्काइ नाचिरहेको दृश्यले सबैको मन छुन्छ। खेत हिल्याएझैं र धान रोपेझै गरी मनाइन्छ यो जात्रा। बालक, युवा, प्रौढ, वृद्धवृद्धा सबै जात्रामा झुम्मिने गर्छन्। केही बालबालिका जीउमा कालो दलेर थाल ठटाउँदै हिँड्छन्। लाखेहरू पनि सँगसँगै गीतको धुनमा नाच्छन्। हरेक श्रीकृष्ण जन्माष्टमीनजिकको बिहीबार (हाटको दिन) इलाममा रोपाइँ जात्रा निकाल्ने चलन छ।
जात्रा हेर्न इलामसहित बाहिरी जिल्लाका नर–नारीसमेत यो दिन सदरमुकाम आउँछन्। सदरमुकामसहित जिल्लाका विभिन्न बजारमा यो जात्रा विस्तार हुँदैछ। जाति, धर्म, लिंग वा समुदाय कुनै आधारमा न विभेद छ, न बाधा–विरोध नै। सबैले एकैठाउँ भेला भएर रोपाइँजात्रा मनाउने चलन छ। वर्षभरमा सबैभन्दा बढी मानिस सदरमुकाममा भेला हुने दिन पनि रोपाइँ जात्रा नै हुनसक्छ। विशेषगरी नेवार समुदायले मनाउने रोपाइँ जात्रा अहिले कुनै जातिविशेषको नभएर साझा पर्व भएको हो। ब्राह्मण, क्षेत्री, राई, लिम्बू, तामाङ, गुरुङ, मगरलगायत सबै जात्रामा उत्तिकै सक्रिय हुन्छन्। तर, जात्रामा केही वर्षयता नौमतीको रन्को घटेको छ। र, सहभागीको संख्या पनि कम हुँदैछ। ‘हात–हातमा मोबाइल र इन्टरनेटको युगले अब जात्राको जमघट पनि घटेझैं लाग्छ,’ सदरमुकामका युवक राजीव नेउपानेले सुनाए।
इतिहासकार युद्धप्रसाद वैद्य करिब सय वर्षदेखि पूर्वीपहाडका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभालगायत जिल्लामा यो जात्रा मनाइने गरेको बताउँछन्। जातीय र सांस्कृतिक सद्भाव बलियो बनाउने अवसर पनि यही जात्रा हुने गरेको उनले बताए। यो वर्ष पनि नेपाल भाषा तथा संस्कृति समाजले जात्रा आयोजना गरेको हो।