१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

कोसीकाे बाढीले ५ सय घर डुबानमा

हनुमाननगर(सप्तरी) – सप्तकोसीमा आएको बाढीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपालिकाका पाँच सयभन्दा बढी घर डुबानमा परेका छन् । कोसी पश्चिमी तथटबन्धभित्रका बस्तीमा सोमबार साँझदेखि पसेको बाढीले झन्डै पाँच सय घर डुबानमा परेको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ।

कोसीमा मंगलबार दिउँसोसम्म पानीको बहाव तीव्र थियो । हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ६, ७ र १२ का गरी तीन सय ५० र तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ५ बर्साइनका एक सय ५० घर डुबानमा परेको तिलाठी कोइलाडी गाउँपालिकाका विपत् व्यवस्थापन कार्यक्रम संयोजक राजेश झाले जानकारी दिए।

बस्तीमा झन्डै ५ देखि ७ फिटसम्म पानी जमेका कारण घरमा बस्न सक्ने अवस्था नरहेको झाले बताए । अधिकांश बाढीपीडित घरबाट विस्थापित भई कोसी पश्चिमी तटबन्ध तथा छेउछाउका सुरक्षित स्थानमा सरेका छन् । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले बाढी प्रभावित बस्तीबाट सर्वसाधारणलाई सुरक्षित स्थानमा पुर्याउन सहयोग गरेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी भावेश रिमालले बताए।

बाढी पसेपछि बस्तीका दुई दर्जनभन्दा बढी घर भत्किएका छन् भने कोसी पश्चिमी तटबन्ध नजिकका चारवटा घर कटानमा परेका छन् । रातिको समयमा बाढी आएका घरबाट खाद्यान्नलगायतका महत्वपूर्ण सामग्री जोगाउन नसकिएको पीडितले बताए । ‘एक मुठी पनि खाद्यान्न निकाल्न सकिएन’, पीडित रीतादेवी रायले भनिन्, ‘लत्ताकपडा, कागजात सबै घरभित्रै छन् । सबैतिर डुबेका कारण घरसम्म जान सक्ने अवस्था छैन।’

बाढीका कारण झन्डै तीन हजार बढी बासिन्दा प्रभावित भएका छन् । गाउँमा बाढी पसेपछि आफूले भागेर ज्यान जोगाएको पीडित शिवचन्द्र मुखियाले बताए । मंगलबार बिहानदेखि डुंगाको मद्दतले बाख्रा, कुखुरा, गाईबस्तुलाई सुरक्षित स्थानमा लगिएको उनले बताए । बाढी प्रभावित बस्तीमा बहुसंख्यक विपन्न र दलित समुदायको बसोबास छ । ‘जसोतसो वर्षदिनका लागि आफ्ना लागि र गाईबस्तुका लागि खाद्यान्न संकलन गरेर राख्ने गर्दछांै’, मुखियाले भने, ‘अब बालबच्चासमेत भोकै बस्नुपर्ने भएको छ।’

हनुमाननगर कंकालिनी नगरपालिका कार्यालय, स्वास्थ्य चौकी र लिलजा ठाकुर आधारभूत विद्यालय पनि डुबानमा परेको छ । विद्यालय परिसर र कक्षाकोठामा ५ फिटसम्म पानी जमेको विद्यालयका सहायक प्रधानाध्यापक राजकुमार यादवले जानकारी दिए । विद्यालयका कागजपत्र, पुस्तकालयका किताब, बालविकास केन्द्रका शैक्षिक सामग्री भिजेर नष्ट भएको यादवले बताए।

हनुमाननगर कंकालिनी नगरपालिकाका कर्मचारी मनोजकुमार झाले बाढी पसेको जानकारी पाएलगत्तै स्थानीय बासिन्दाको सहयोगमा कार्यालयको ताल्चा फुटाई महत्वपूर्ण सामग्री सुरक्षित स्थानमा राखिएको जानकारी दिए । स्वास्थ्य चौकीमा बाढी पसेपछि औषधिसमेत भिजेको छ।

कोसी योजनाको लापरबाहीले समस्या

झन्डै २५ वर्षपछि यस भेगमा सप्तकोसीको बाढी बस्तीमा पसेको हो । हनुमाननगर सप्तरीको पुरानो सदरमुकाम हो । कोसी कटानका कारण हनुमानगर अस्तव्यस्त बन्न थालेपछि सदरमुकाम राजविराजमा सारिएको थियो । कोसी ब्यारेज निर्माण गरेर कोसीलाई नियन्त्रण गरिएपछि हनुमाननगरवासी पछिल्लो केही दशकयता बाढीबाट जोगिएका थिए । यस वर्ष बाढी पसेपछि स्थानीय बासिन्दा पुनः त्रसित भएका छन्।

भारतको विहार राज्य सरकार मातहत रहेको कोसी योजनाका कर्मचारीको लापरबाहीका कारण धेरै वर्षपछि आफूहरू पुनः डुबानमा परेको हनुमाननगर कंकालिनी नगरपालिका–१२ का अब्दुल गफार अलीले बताए । ‘भारतीय पक्ष पछिल्लो एक दशकदेखि कोसीलाई पश्चिमतर्फ फर्काउने नियोजित प्रयासमा थियो । अहिले आएर उनीहरू सफल भएका छन् । हाम्रो प्रशासनले पहिल्यै ध्यान नदिएका कारण हामी गरिबहरू डुबानमा परेका छाैं।’

कोसी नदीलाई पूर्वी तथा पश्चिमी तटबन्धको मध्य भाग हुँदै बगाउनुपर्ने योजनासाथ भारतीय पक्षले सन् २०१० देखि ‘प्याइलट च्यानल’ खन्ने नाममा बर्सेनि करोडौं रुपैयाँ खर्च गर्दै आएको छ । गत वर्ष कोसी ब्यारेजदेखि सात किलोमिटर दक्षिण नेपाली भूभागमा कोसीलाई बीच बाटोमा ल्याउन सात किलोमिटर पाइलट च्यानल खन्ने कामका लागि कोसी योजनाले २५ करोड रुपैयाँभन्दा निकासा गरेको थियो । ‘गुणस्तरीय काम हुन नसक्दा २५ करोड भारु लगानीमा निर्मित पाइलट च्यानल एक साता पनि टिक्न सकेन । नदीको बहाव पश्चिमतर्फ फर्किएपछि हामी डुबानमा परेका छौं’, स्थानीय हरेराम मुखियाले भने।

प्याइलट च्यानल असफल भएकै कारण यसरी सयौं नेपाली परिवार डुबानका कारण विस्थापित हुने अवस्था आएको कोसीपीडित समाजका कार्यकारी निर्देशक देवनारायण यादवले बताए । भारतीय पक्षले दुवैतिरको तटबन्धलाई नदीबाट जोगाउन सन् २०१० मा च्यानल खन्न थालेको थियो । तर कोसीको बहावसँगै आएको बालुवाले उक्त च्यानल पुरिदिएपछि भारतीय प्राविधिकहरुले ड्रेजर (बालुवा फ्याँक्ने मेसिन) भएका ठेकेदारलाई मात्रै च्यानल खन्ने काम दिने निर्णय गरेका थिए।

कोसी पश्चिमी तटबन्धमा नदीको बहाव फर्किए पनि जोखिम न्यूनीकरण गर्न भारतीय पक्षले काम थालेको छैन । तटबन्धमा कोसीको दबाब काम गर्न भारतीय पक्षले प्रभावकारी कदम थाल्नुपर्ने हनुमाननगर कंकालनी नगरपालिकाका मेयर शैलेशकुमार साहले बताए । ‘नगरपालिकाको भारदहदेखि रम्पुरा मल्हनियाँसम्मको झन्डै १८ किलोमिटर क्षेत्रमा कोसी नदी बग्छ । पश्चिमी तटबन्धमा बढ्दै गएको दबाबका कारण हामी सबैभन्दा बढी जोखिममा छौं’, साहले भने, ‘यस विषयमा नेपाल र भारत दुवै तर्फबाट उच्चस्तरीय पहलको जरुरी छ।’

जीर्ण तटबन्ध मर्मतमा उदासीन

पश्चिमी तटबन्ध दशकाैंदेखि जीर्ण रहे पनि मर्मतका लागि भारतीय पक्षले चासो नदिएको गुनासो सरोकारवालाहरूको छ । जीर्ण तटबन्ध भत्काएर कोसी नदी पश्चिमतर्फ प्रवेश गर्ने जोखिम बढेको उनीहरू बताउँछन् । ‘पछिल्लोपटक सन् १९८४ मा कोसीको बाढीले सप्तरीको बैरवास्थित पश्चिमी तटबन्ध भत्काएपछि मर्मतसम्भार गरिएको थियो । त्यसयता एकपटक पनि मर्मत गरिएको छैन’, स्थानीय फजिल मियाँले भने, ‘बर्सेनि आउने बाढीले बाँध तथा स्परमा क्षति हुँदै आएको छ ।’ भारदह, बैरवा, बदगामा, पथरीलगायतका स्थानका तटबन्ध भत्किएका छन्।

स्थानीय बूढापाकाका अनुसार कोसी नदीले २० वर्ष अवधिमा धार परिवर्तन गर्दै आएको छ । ‘२० वर्ष पश्चिमी तटबन्धछेउबाट बगेपछि सन् १९९० ताका कोसी पूर्वतर्फ सर्न थालेको थियो । त्यसको २० वर्ष पूर्वी तटबन्धतर्फ बगेको कोसी अहिले पश्चिमतर्फ आउन लागेको छ’, पथरीका ७० वर्षीय टिरहु मुखियाले भने।

कोसी सम्झौताअनुसार पूर्वी तथा पश्चिमी तटबन्ध, स्परलगायत कोसीका संरचनाको मर्मतसम्भार गर्ने दायित्व भारतीय पक्षको हो । कोसी ब्यारेजभन्दा माथिल्लो भागमा कोसी नदीमा मिसिने अन्य नदीको नियन्त्रणसमेत भारतीय पक्षले नै गर्ने सम्झौतामा उल्लेख छ । तर, कोसी नदीमा मिसिने त्रियुगा, पौडा, महुलीलगायतका नदीले यस क्षेत्रमा क्षति पुर्याउँदा पनि नियन्त्रण प्रयास भएको छैन।

प्रकाशित: १३ भाद्र २०७५ ०२:१३ बुधबार

सप्तकोसी_बाढी पाँच_सय_बढी_घर_डुबान