१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भारतीय दुतावासले समयमै रकम नदिँदा क्याम्पस निर्माणमा ढिलाइ

दुई वर्षदेखि अलपत्र भेरी ज्ञानोदय क्याम्पसको भवन । तस्बिरः जनक/नागरिक

जाजरकोट – जाजरकोटको सबैभन्दा पुरानो र ठुलो क्याम्पस भेरी ज्ञानोदय क्याम्पसको भवन निर्माणमा चरम ढिलाइ भएपछि पठनपाठन प्रभावित भएको छ। दुई वर्षमै निर्माण कार्य सकिनुपर्ने उक्त भवन चार वर्ष वितिसक्दापनि सम्पन्न नभएपछि क्याम्पसको पठनपाठनका साथै प्रशासनिक कार्यमा समेत ठुलो असर परेको छ। 

भारतीय दुतावासको  सहयोगमा निर्माणाधीन उक्त भवन सम्बन्धित निकायको लापरबाहीका कारण अलपत्र जस्तै भएको बताइएको छ। क्याम्पस भवन निर्माणको जिम्मा डाँफे कन्ट्रक्सन काठमाडौं र खड्का कृष्ण कन्ट्रक्सन जाजरकोटले लिएका छन्। दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी आर्थिक वर्ष ०७१–७२ मा ति निर्माण कम्पनीले भवन निर्माणको ठेक्का लिएको क्याम्पस प्रमुख चन्द्रबहादुर बुढाले बताए।

भवनको भौतिक स्वरुप तयार भएपनि फिनिसिङ्गको काम नभएका कारण भवन प्रयोगमा आउन सकेको छैन्। क्याम्पस संचालनका लागि भवन अभाव भएका कारण आधा निर्माण भएको भवनमा कार्यालय र पठनपाठन गराउनुपर्ने बाध्यता रहेको क्याम्पस प्रमुख वुढाले नागरिकलाइ बताए। ‘सम्बन्धित निकायको ढिलासुस्तीले काम अघि बढ्न सकेको छैन, हामीले निर्माण कम्पनी, जिल्ला समन्वय समिति र दुतावासलाई काम अघि बढाउन ताकेता गरिरहेका छौ तर सुनुवाई हुँदैन।’ बुढाले  लापरबाही गर्ने निकायप्रति गुनासो गर्दै भने। 

डाँफे कन्ट्रक्सनले ३ करोड १६ लाख ४० हजारमा भवन निर्माणको ठेक्का लिएको  निर्माण कम्पनीका प्रतिनिधी तेजविक्रम शाहले बताए। उनले भारतीय दुतावासबाट समयमा रकम निकासा नहुँदा निर्माण कार्यमा ढिलाई भएको बताए। धेरै काम सम्पन्न गरिसकेका छौं अब फिनिसिङ्गको काम बाँकी छ उनले भने। दुई वर्षसम्म रकम नपठाउँदा काममा ढिलाई भएको उनले बताए।  केही दिन अघि मात्र दुतावासले केही रकम निकासा गरेपछि बाँकी काम सुरु गरिएको उनले बताए।

दुतावासले जिल्ला समन्वय समिति मार्फत भवन निर्माणको लागि  रकम पठाउने गरेको बताइएको छ। जिल्ला प्राविधिक कार्यालय जाजरकोटको सहयोगमा भवनको प्राविधिक स्टमेट तयार भएको  थियो। वजेट निकासामा ढिलाई र रकम पाएपछि समयमै काम नगर्ने निर्माण व्यवसायीका कारण भवन निर्माणको काम अलपत्र जस्तै भएको जिल्ला समन्वय समितिका समन्वय अधिकारी कमलराज भण्डारीले बताए।  उनले बारम्बार ताकेता गरेपछि मात्र रकम निकासा भएको सुनाए। 

त्यस्तै अर्काे निर्माण कम्पनी खड्का कृष्ण कन्ट्रक्सनले १ करोड ४३ लाख ५१ हजारमा अर्को भवन निर्माणको जिम्मा लिएको छ। दुई वटा निर्माण कम्पनीले जिम्मा लिएको  अत्याधुनिक सुविधा हुने दुई ठुला भब्य भवनहरू अलपत्र हुँदा क्याम्पसको शैक्षिक गतिविधि समेत प्रभावित भएको विद्यार्थी र सरोकारवालाको गुनासो छ। निर्माण कम्पनीले अहिलेसम्म रनिङ्ग बीलको करिब ६० प्रतिशत भुक्तानी लिइसकेको बताइएको छ।

सुरुमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो क्याम्पसले उक्त विश्वविद्यालयबाट सम्बन्ध विच्छेद गरेर केही समय अघि मात्र मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आंगीक क्याम्पसको रुपमा स्वीकृति पाएको छ। २०४२ सालमा सामुदायिक क्याम्पसको रुपमा स्थापना भएको यो क्याम्पस जिल्लाकै सबैभन्दा पुरानो र जेठो क्याम्पस हो। यहाँ स्नातक तहमा शिक्षा, मानविकी र ब्यवस्थापन विषयमा अध्यापन भइरहेको छ।

प्रकाशित: १० भाद्र २०७५ ११:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App