१६ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

नेपालमा अब दन्त पर्यटन !

चितवन–अमेरिका र युरोपलगायतका विकसित देशमा दाँतको उपचार निकै महँगो हुने गर्दछ । नेपालमा १० हजारमा हुने दाँतको जरा भर्ने (आरसिटी) विकसित देशमा २ हजार ५०० डलर खर्च गर्नुपर्ने हुन्छ। नेपालमा करिब ७० हजार रुपैयाँमा हुने हुने दाँत प्रत्यारोपण ती देशमा पाँचदेखि सात हजार डलर खर्च हुन्छ। 

ती देशमा दाँतको उपचार गर्ने पैसाले नेपालमा उपचारसँगै आकर्षक पर्यटकीय गन्तव्य नै घुमेर फर्किन पुग्ने दन्त चिकित्सक बताउँछन्। यसैको लाभ लिने गरी पर्यटकीय नगरी सौराहाको प्रवेशद्वार रत्ननगरमा दन्त अस्पताल स्थापना गरिएको छ। 

स्थानीय निकाय, पर्यटन व्यवसायी, उद्योगी व्यवसायीको सहयोगमा साइराम डेण्टल केयर नामबाट अस्पताल सञ्चालनमा ल्याइएको छ । सन् २००४ मा नारायणगढको शहीदचोकमा स्थापना गरिएको साइराम डेण्टलका सञ्चालक डा सरिता न्यौपानेले रत्ननगरमा सोही नामबाट दन्त अस्पताल सुरु गरेकी हुन्। 

विदेशी पर्यटकका लागि दाँतको उपचार गर्ने प्रमुख उद्देश्य लिएर अस्पताल स्थापना गरिएको न्यौपानेले बताइन्। युरोप, अमेरिका, अष्ट्रेलिया, बेलायतजस्ता विकसित देशमा दाँतको उपचार अत्यधिक महँगो पर्छ । ‘ती देशमा दाँत झिक्नु पर्दा २५० देखि ४०० सय डलरसम्म पर्ने गर्छ । सोही काम नेपालमा रु चार÷पाँच हजारमा हुन्छ,’ उनले भनिन्, यस हिसावले ती देशमा दाँत प्रत्यारोपण, आरसिटीलगायतका उपचार गर्ने खर्चले नेपालमा उपचार गरी पर्यटकीय ठाउँको भ्रमण गरेरै जान पुग्ने डा न्यौपानेको दाबी छ । उनले भनिन, “विकसित देशमा हुने दाँतको उपचारको गुणस्तर हामीले दिने गर्दछौँ ।” सो संस्थाले हालसम्म ३५ हजारभन्दा बढी बिरामीको उपचार गरिसकेको छ । पाँच हजारभन्दा बढीलाई विभिन्न ठाउँमा गएर निःशुल्क सेवा दिएको जनाएको छ । 

दन्त उपचार एक दुई दिनमा नै गर्न सकिने भएकाले पर्यटकले लामो समय खर्चिनु नपर्ने चिकित्सकको भनाइ छ । न्यौपानेका अनुसार हाल नारायणगढमा रहेको साइराम डेण्टल केयरमा दैनिक दुई जना हाराहारी गैरआवासीय नेपाली उपचारलाई आउँछन् । विदेशका नेपालीको दाँत अस्पतालको मागबमोजिम सो अस्पतालले शाखा विस्तार गरेको उनको भनाइ छ। पहिलो चरणमा गैरआवासीय नेपालीलाई लक्षित गरिएको छ। 

दन्तरोग विशेषज्ञ एवं बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा अजय न्यौपाने नेपालमा दन्त पर्यटन (डेण्टल टुरिजम) को सम्भावना धेरै रहेको बताउछन्। प्रत्येक वर्ष १५ लाख अमेरिकी दाँतको उपचार गर्न देश बाहिर जाने गरेको बताउँदै उनले तिनीहरूलाई नेपालमा ल्याउन सकिने सभावना औल्याए। विकसित देशमा दाँतको बीमा नहुने हुँदा उपचार महँगो पर्ने गर्छ।

कम्बोडिया, थाइल्याण्ड, भारतजस्ता देशले पर्यटक लक्षित दाँतको अस्पताल शुरु गरिसकेका छन् । उपचारका लागि प्रयोग गरिने सामग्री विकसित देश र नेपालमा एउटै भए पनि नेपालमा सस्तो जनशक्ति, न्यून सरकारी करलगायतका कारण उपचार सस्तो पर्ने डा न्यौपानेको भनाइ छ। 

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले घुम्न आउने पर्यटकले आफ्नो देशको भन्दा निकै कम खर्चमा यहाँ दाँतको उपचार गर्न पाउने बताए । वनले भने, ‘आफ्नो देशमा दाँतको उपचार गर्ने पैसाले नेपालमा घुमेर उपचार गरेर फर्किन पुग्दो रहेछ ।’ यसले पर्यटकको बसाईलाई पनि लम्ब्याउने उनको भनाइ छ । 

 क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले होटल व्यवसायीले दिने सेवामध्ये पर्यटकका लागि दाँतको उपचार सेवा थप गर्दा उनीहरूको बसाइ लम्बिने र सङ्ख्या पनि थपिने बताए। रासस

 

प्रकाशित: ७ भाद्र २०७५ १३:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App