विराटनगर– विराटनगरमा एक व्यक्तीले अन्दाधुन्द खुकुरी प्रहार गर्दा तीन जना घाइते भएका छन्। सिरहा गोलबजारका दिलीप सहनीले मंगलबार खुकुरी प्रहार गर्दा उनकी श्रीमती पुनम सहनी, छोरी मनिता सहनी र सालो सन्दिप सहनी घाइते भएका हुन्।
श्रीमान श्रीमतीबीच विवाद बढेपछि विराटनगर ११ पिचडास्थित माइती घरमा बस्दै आएकी पुनम सहनीलाई दिलीपले खुकुरी प्रहार गरेका थिए। पुनमलाई बचाउन गएका छोरी र सालोलाई पनि दिलीपले खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट पुनमको टाउकोमा चोट लागेको छ। यस्तै पुनमकी छोरी मनिता सहनी र भाई सन्दिप सहनीको टाउको र हातमा चोक लागेको छ।
खुकुरी प्रहारबाट घाइते तीनै जनाको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
सिरहाको गोलबजारमा बस्दै आएका दिलीपले मंगलबार विहान ९ बजे विराटनगरमा आएर पुनमलाई जबरजस्ती घर लैजान खोज्दा नमानेपछि खुकुरी प्रहार गरेको पुनमका आफन्तले बताएका छन्। घटनामा संलग्न दिलीपलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए।
प्रकाशित: ५ भाद्र २०७५ १४:२१ मंगलबार