बाह्रविसे (सिन्धुपाल्चोक)– अबिरल बर्षासँगै उर्लिइ आएको साधी खेलाको बाढीले अरनिको राजमार्गको बाह्रविसे–खुर्सानीबारी जोड्ने मोटरेबल पुल क्षतिग्रस्त बनाएको छ। शुक्रबार रातिको यो घटनापछि सीमा नाका तातोपानी–बाह्रविसे ३६ किलोमिटर खण्डमा सिधा सडक सम्पर्क टुटेको छ।
लेदो माटो र ठुल्ठूला ढुंगा बगाउँदै आएको बाढीले साधी खोला पुल क्षतिग्रस्त बनाएको हो। ठूला ढुंगासहितको बाढीको बेगले मुख्य संरचनामा हिर्काउँदा पुल झण्डै दुई मिटर भोटेकोसी नदीतिर धकेली दिएको इलाका प्रहरी कार्यालय बाह्रविसेका इन्स्पेक्टर यादव थापाले बताए। ‘सवारी साधन सञ्चालनै हुन नसक्ने गरी पुलमा क्षति पुगेको छ,’ उनले नागरिकसँग भने।
बाह्रविसे क्षेत्रमा चार दिनदेखि बर्षा भइरहेको थियो। शुक्रबार राती त भारी बर्षा भएको थियो। पुलको झण्डै दुई किमीमाथि कोसिनडाँडामा बर्षाले पहिरो निम्त्याएपछि साधी खोलामा लेदोमाटो र ठूला ढुंगासहित बाढी आएको स्थानीय हरिशरण श्रेष्ठले जानकारी दिए। ‘लेदोमाटो र ढुंगा बगाउँदा बीच–बीचमा थुनिँदै, फुट्दै तीव्र रुपले आएको बाढीले पुलमा बेगल हिर्काएको देखिन्छ,’ उनले भने।
बाढीले पुलमूनि ठुल्ठूला ढुंगा थुपारेको छ। ढुंगा थुप्रिँदा निकास खुम्चिन गई बाढीले पुल लछारेको स्थानीय बताउँछन्। पुलको संरचनामा बगेर आएका ठूला ढुंगाले हिर्काएको प्रस्टै देख्न सकिन्छ। बलियो पुलको स्ल्याप फुटेको छ। इन्स्पेक्टर थापाका अनुसार झण्डै ४० फिट लामो पुलको खोलामाथिको मुख्य भाग तलतिर धकेलिएको छ। सीधा टम्म मिलेको पुल स्पान (जग) को बीच भागमा सरेको छ। सरेको आधा भाग भोटेकोसी नदीतिर जग छोडेर खाली जमिनमाथि देखिएको छ।
क्षतिग्रस्त पुलको प्रकृति हेर्दा पुल ढलान गरिएको नभइ जगको माथि स्ल्याप (चाक्ला) जोडेर बनाइएको पाइएको इन्स्पेक्टर थापा बताउँछन्। ‘जोडिएको त्यही स्ल्याप बाढीले धकेलेको हो,’ उनले भने। केही दिनदेखिको बर्षाले साधी खोलामा बाढी आउन थालेपछि स्थानीय त्रसित हुँदै आएका थिए। बाढीले पुलका दुईमध्ये एक स्पान (जग) मा क्षति पु-याएको प्रहरीले जनाएको छ।
पुल क्षतिग्रस्त भएपछि बाह्रविसे–तातोपानी सडक खण्डमा यातायात आवागमन असहज भएको छ। सम्भावित दुर्घटना हुन नदिन प्रहरीले पुलबाट स्थानीयबाहेक सवारी आवागमनमा रोक लगाएको छ। बाह्रविसे नगरपालिकाको गातीसहित भोटेकोसी गाउँपालिकाको तत्कालीन घुम्थाङ, मार्मिङ, लिस्ति, फूल्पिङकट्टी र तातोपानीका स्थानीयलाई ओहोर–दोहोरमा असुविधा पुगेको छ।
सम्भावित दुर्घटना हुन नदिन पुल क्षेत्रमा बाढीले थुपारेका ढुंगा ब्रेकरको सहायतामा फुटाउन थालिएको प्रहरीले जनाएको छ। ढुंगा व्यवस्थापन नगर्दा फेरि आउने बाढीले पुलको बाँकी भागमा क्षति पु-याउने र बाढी बजारतिर छिरेर दुर्घटना निम्त्याउने भन्दै स्थानीयले प्रहरीलाई ध्यानाकर्षण गराएका थिए।
‘पहिला पुल क्षेत्रका ढुंगा पन्छाएर थप क्षति हुन नदिनेतर्फ प्रहरी केन्द्रीत भएको छ,’ इन्स्पेक्टर थापाले भने। स्थानीय भने धकेलिएको स्ल्याप यथास्थानमा पु¥याइ पुल तत्कालका लागि सञ्चालनमा ल्याउन सकिने बताउँछन्। क्षतिग्रस्त पुलको प्राविधिक अध्ययन गरेपछि मात्र यसबारे बताउन सकिने स्थानीय प्रशासनको भनाइ छ।
प्रदेश नं. ३ का उद्योगमन्त्री अरुण नेपालले शनिबार क्षतिग्रस्त पुलको अवलोकन गरेका छन्। पुल अभावमा सवारी साधन नचल्दा स्थानीयलाई समस्या हुने भन्दै उनले यसलाई छिटो सञ्चालनमा ल्याउनुको बिकल्प नरहेको बताए। ‘प्रदेशले केन्द्र सरकारसँग समन्वय गरेर यसबारे काम थाल्छ,’ स्थानीयलाई आश्वस्त पार्दै यसै क्षेत्रबाट निर्वाचित सांसद नेपालले भने।
१ सय १४ किमी लामो अरनिको राजमार्ग २०२३ सालमा चीन सरकारले खोलेको थियो। चीनकै सहयोगमा राजमार्गका पुलपुलेसा बनेका थिए। चीन जोड्ने यो राजमार्ग उसैले कालोपत्रे गरेको थियो। क्षतिग्रस्त साधी खोला पुल त्यतिबेलै बनेको हो।
गत बर्खायाममा चट्टाने पहाडै बसेर बज्रँदा राजमार्गकै फुल्पिङकट्टी–तातोपानी जोड्ने जम्बु पुल क्षतिग्रस्त भएको थियो। सात महिनाभन्दा बढी समय लगाएर अहिले त्यहाँ बेलिब्रिज बनाइएको छ। यसको अघिल्लो वर्ष २०७३ असारमा तिब्बतमा हिमताल फुटेर भोटेकोसी नदीमा बाढी आउँदा ३६ किमी तातोपानी–बाह्रविसे सडक खण्ड व्यापक कटान गरेको थियो। बर्खायाममा बाढी र पहिरोले राजमार्गमा बर्सेनी व्यापक क्षति पु-याउँदै आएको छ।
प्रकाशित: २ भाद्र २०७५ १५:१९ शनिबार