४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

नयाँ छ स्थानमा पहिरोको जोखिम

नारायणगढ–मुग्लिन सडक खण्डको घुमाउनेमा खसेको पहिरो पन्छाइँदै । तस्बिर : सविता/नागरिक

चितवन - नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा शनिबार राति साढे १० बजे पहिरो जाँदा करिब १० घण्टा आवागमन रोकियो। रातिको समयमा पहिरो पन्छाउन नसकेपछि आइतबार बिहान पहिरो हटाएर सवारी आवागमन सहज बनाइएको छ। यसअघि शनिबारै बिहान ६ बजे सोही ठाउँमा पहिरो खस्दा साढे चार घण्टापछि एकतर्फी सवारी आवागमन खुलाइएको थियो।

घुमाउने पहिरोको जोखिमयुक्त नयाँ ठाउँ बनेको छ। यस सडकखण्डमा यस वर्ष यस्ता ६ ठाउँ थपिएको छन् नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालले बताए। उनका अनुसार घुमाउने, जलबिरे, चारकिलो, कालिखोला र टोपेखोलाको बीच, भालुढुंगा र सत्रकिलो क्षेत्रमा पहिरोको जोखिम बढी छ। सो सडक खण्डअन्तर्गत पहिरोको जोखिम देखिएका यी नयाँ ठाउँ हुन्।

अघिल्लो वर्ष पहिरो गएका स्थानलाई अध्ययन गरेर आयोजनाले २८ स्थानलाई पहिरोको जोखिमयुक्त भनी पहिचान गरेको थियो। ती स्थानमा पहिरो रोकथामको उपाय अवलम्बन गरिएको आयोजना प्रमुख बिसुराल बताउँछन्। आयोजनाले ती स्थानमा १४ करोड रुपैयाँ लागतमा सडकखण्डमा रक एङकरिङ, रक नेटिङ, रक बोल्टिङ, जुट नेटिङ र बायो इन्जिनियरिङको काम गरेको छ। पहिरो रोकथामका यी उपाय अपनाइएको ठाउँमा भने पहिरो खसेको छैन। ‘यसपालि नयाँ ठाउँमा पहिरो देखियो’, बिसुरालले भने, ‘पहिरो रोकथाम गरिएको क्षेत्र अहिलेसम्म सुरक्षित नै छ।’ निर्माणाधीन सडक हुनाको साथै पहाडी धरातलको बाटो भएकाले पहिरोको जोखिमलाई स्वाभाविक रुपमा लिनुपर्ने उनले बताए। पहाड फोरेर सडक फराकिलो बनाइएका कारण पहिरोको जोखिम धेरै भएको उनको भनाइ छ।

इच्छाकामना गाउँपालिकामा पर्ने जलविरेदेखि मुग्लिनसम्मको क्षेत्रमा पहिरोको जोखिम धेरै छ। सडक आयोजनाका अनुसार गएको वर्ष सडकखण्डमा तीन सय १४ वटा ठूला पहिरा गएका थिए। गत वर्षको तुलनामा यस वर्ष कम पहिरो खसेको आयोजना प्रमुख बिसुरालले बताए। उनले भने, ‘गत वर्ष जसरी धेरै लामो समय बाटो रोकिएको पनि छैन।’ गएको वर्ष पहिरोका कारण ४२ घण्टासम्म सवारी आवागमन ठप्प भएको थियो।

पहिरो खसिरहेका नयाँ ठाउँमा हटाएर सवारी सञ्चालन सहज बनाउने काम भइरहेको उनले बताए। वर्षाको समयमा पहिरो रोकथामको उपायसमेत प्रयोग गर्न नसकिने भएकाले वर्षा सकिने समयको पर्खाइमा रहेको उनले बताए। अहिले पहिरो खसेका नयाँ स्थान र यस वर्षको वर्षामा अरु स्थान थपिए ती सबैलाई समेटेर विज्ञबाट अनुसन्धान गराउने तयारी आयोजनाको छ।

उक्त सडक खण्ड विस्तारको काम जारी छ। सडक विस्तार कार्य अहिलेसम्म ९५ प्रतिशत सकिएको बिसुरालले जानकारी दिए। सडक खण्डमा रोड सेफ्टी ब्यारिएर बनाउने काम भने ७० प्रतिशत सकिएको छ। ठेकेदारलाई काम सकिएको पत्र दिएपछिको एक वर्षको अवधिलाई ‘डिफेक्ट नोटिफिकेसन पिरियड’ मानिन्छ। एक वर्षको अवधिमा सडक निर्माणमा देखिएका समस्या समाधान गरेर मात्र निर्माता कम्पनीले सडक हस्तान्तरण गर्ने आयोजना प्रमुख बिसुरालले बताए।

प्रकाशित: २२ श्रावण २०७५ ०१:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App