काठमाडौं– करिब ५ करोड ५८ लाख रुपैयाँ हिनामिना गरेको अभियोगसहित इलामको माइ नगरपालिकाका तत्कालीन लेखा अधिकृत रबिनचन्द्र ढकाल र प्रमूख प्रशासकीय अधिकृत कालिदास ढकाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपत्र दायर गरेको छ।
आरोपपत्रमा रविनचन्द्र ढकालले कार्यालयको ३ करोड २४ लाख ५६ हजार १ सय ४८ रुपैयाँ हिनामिना गरेको उल्लेख छ। त्यस्तै प्रशासकीय अधिकृत कालिदाशले २ करोड ३४ लाख ४३ हजार १ सय रुपैयाँ हिनामिना गरेको अख्तियारको ठहर छ। अख्तियारले दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो।
अख्तियारको टोलीले अनुसन्धान गर्दा लेखा अधिकृत ढकालले नगरपालिकाको रकम बैंकखातामा जम्मा गर्नेै क्रममा बैंकलाई पठाउने र कार्यलयमा राख्ने पत्रमा फरक फरक विवरण राख्ने गरेको पाइएको छ। त्यस्तै गरी राजस्व तिरेका बैंक भौचरसमेत कृते खडा गरी रकम आफ्नो ब्यक्तिगत खातामा राख्ने गरेको पाइएको छ।
छोटो समयमै अस्वाभाविक सम्पति आर्जन गरेको देखिएपछि उनी बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। उनले उक्त रकम आफैले खर्च गर्नेमात्र नभई परिवारका सदस्यका नाममा चल अचल सम्पति जोडेको पाइएको अख्तियारको भनाई छ। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९, दफा १५ र दफा १७ को कसूर अनुसार अख्तियारले लेखा अधिकृत ढकालविरुद्ध ३ करोड २४ लाख ५६हजार १४८ रुपैयाँ विगोदाबी सहित १० वर्षसम्मको कैद गर्न माग अायाेगले गरेको छ।
त्यसै गरी प्रमुख प्रशासकीय अधिकृत कालिदास ढकालले लेखा अधिकृतसँग मिलेमतो गरी १० लाख रुपैयाँ लिएको, रविनचन्द्रले झापा र ललितपुरमा किनेको जग्गामा एक एक कित्ता लिएको अख्तियारले जनाएको छ। कालिदाशले यहिआधारमा लेखा अधिकृत ढकालले गरेका गैर कानुनी कार्य नियतबश नै स्वीकृत गर्ने, अन्देखा गर्ने गरेको आरोप अख्तियारले लगाएको छ। कालिदाशले रबिनचन्द्रसँग मिलेमतो गरी २ करोड ३४ लाख ४३ हजार १सय रुपैयाँ भ्रष्टाचार गरेकाले उनी विरुद्ध पनि विगो दाबी सहित १० वर्षसम्मको कैद माग गरिएको छ।
अनुसन्धानका क्रममा लेखा अधिकृत रबिनचन्द्रले अनियमितता गरेको रकमबाट आफ्नै नाममासहित श्रीमति रिना आचार्य र आमा प्रेम कुमारीको नाममा जग्गा खरिद गरेको तथा बैंक खातामा रकमसमेत राखेको देखेको भन्दै ती रकम पनि जफत गराउन अाइतबार दर्ता भएकाे अभियाेपत्रमा माग गरिएकाे छ।
प्रकाशित: २१ श्रावण २०७५ १३:३५ सोमबार