१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

सिरहाका ४० स्वास्थ्य संस्था गैरकानुनी

लहान - सिरहामा सञ्चालित निजी स्वास्थ्य संस्थामध्ये करिब ४० वटा गैरकानुनी रूपमा सञ्चालन भइरहेका छन् । तर तिनलाई कारबाही गर्ने आँट सम्बन्धित निकायले गरेको छैन।

नियमनकारी निकाय मौन बस्दा जिल्लामा एउटै नामबाट दुई वटासम्म स्वास्थ्य संस्था सञ्चालन भइरहेका छन् । लीला–मदन पोलिक्लिनिक एन्ड प्रसूति गृह लहान–१, टेम्पो स्टेन्ड र एलएमसी कलेजनजिक गरी दुई ठाउँमा सञ्चालन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रशासन प्रमुख उमेशलाल कर्णले भने यो पोलिक्लिनिक स्वतः खारेजीमा परिसकेको बताएका छन् ।

लहान नगरपालिका–५(हालः लहान–३) मा सञ्चालित कामना नर्सिङ होम प्रालि, डिमाइन अस्पताल, फ्रेन्ड्स मोडेल अस्पतालसमेत गैरकानुनी रूपमा सञ्चालन भइरहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा. नागेन्द्र यादवले जानकारी दिए । यी मात्र नभइ जिल्लामा यसरी अवैधानिक रूपमा सञ्चालित निजी स्वास्थ्य संस्थाको संख्या करिब ४० वटा रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

जिल्ला स्वास्थ्य कार्यालय प्रशासन प्रमुख कर्णका अनुसार दोब्बर दस्तुर बुझाएर नवीकरण गर्ने अवधिसमेत गुजारी सकेका स्वास्थ्य संस्थाहरूलाई किन दर्ता खारेज नगर्ने भनेर स्पष्टीकरण मागिएको थियो । तर कसैले स्पष्टीकरण नदिएको उनले बताए । तसर्थ त्यस्ता स्वास्थ्य संस्थाहरू स्वतः खारेजीमा परेको बताउँदै कर्णले अब तिनलाई बन्द गर्न मात्र बाँकी रहेको जानकारी दिए । त्यसका लागि जिल्ला स्वास्थ्य प्रमुख अघि सर्नुपर्ने उनको भनाइ छ ।

लहान नगरपालिका–५ (हालः लहान–३) मा सञ्चालित कामना नर्सिङ होम प्रालि, डिमाइन अस्पताल, फ्रेन्ड्स मोडेल अस्पतालसमेत गैरकानुनी रूपमा सञ्चालन भइरहेका छन् ।
 

उता जिल्ला स्वास्थ्य प्रमुख डा. यादव भने आफ्नो एक्लोे प्रयासले मात्र यो काम सम्भव नहुने भन्दै निरीहता प्रकट गर्छन् । त्यसका लागि प्रहरी प्रशासनको सहयोग आवश्यक पर्ने उनी बताउँछन् । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जिल्लामा सञ्चालित अवैधानिक स्वास्थ्य संस्था बन्द गराउन आफूले जिल्ला स्वास्थ्य संस्थालाई पटकपटक भनिसकेको बताए।

स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० को दफा १२ को (१) अनुसार स्वास्थ्य सेवा सञ्चालन गर्न अनुमति प्राप्त स्वास्थ्य संस्थाले अनुमति अवधि समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरणका लागि निवेदन दिनुपर्ने प्रावधान छ ।

यही दफाको उपदफा–१ बमोजिम निवेदन प्राप्त भएमा अनुमति प्रदान गर्ने निकायले अनुसूची ६ मा उल्लेख भएको दस्तुर लिई तीन वर्षका लागि प्रत्येक एक वर्षका लागि अनुमति नवीकरण गरिदिनुपर्ने उल्लेख गरिएको छ । अवधि सकिएको तीन महिनाभित्र निवेदन पेश गर्न नसकेको मानसिव कारण खुलाइ थप ६ महिनाभित्र निवेदन पेश गरेमा दोब्बर दस्तुर लिएर नवीकरण गरिदिने व्यवस्था छ । तर, यसो नगरेमा दफा १२ (४) बमोजिम स्वास्थ्य सेवा सञ्चालन अनुमति पत्र स्वतः खारेज हुने व्यवस्था छ ।

०७३ मा एक वर्षका लागि नवीकरण भएका सम्पूर्ण स्वास्थ्य संस्था स्वतः खारेजीमा परिसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रशासन प्रमुख कर्णले बताए । स्वतः खारेजीमा परिरसकेका स्वास्थ्य संस्थाहरूले कानुनी रूपमा सेवा सञ्चालन तत्काल बन्द गर्नुपर्ने उनले बताए । तर, कानुन कार्यान्वयन पक्ष कमजोर हुँदा यी स्वास्थ्य संस्थाहरूले आफ्ना सेवा सञ्चालन गरिरहेका छन् ।

प्रकाशित: ९ श्रावण २०७५ ०१:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App