१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सपना चुँडाल्दै तुइन

धनगढी - नौ दिनअघि बझाङस्थित बाउली खोलामा साँघु तर्ने क्रममा लड्दा दुई बालिका बगेर बेपत्ता भए। सुर्मा गाउँपालिका–२ की १५ वर्षीया विमलाकुमारी बोहरा र सोही गाउँकी ९ वर्षीया रिनुकुमारी बोहरा विद्यालयबाट घर फर्कने क्रममा बगेर बेपत्ता भएका हुन्। उनीहरुको शव अहिलेसम्म फेला पर्न नसकेको आफन्तले बताएका छन्। खोलामा पुल बन्न नसक्दा प्रदेश ७ का पहाडी जिल्लाका बालबालिका तुइन र साँघुकै भरमा खोला तरेर विद्यालय जाने गरेका छन्।

२०७२ असोज २५ गते पहिलोपटक प्रधानमन्त्री पद सम्हाल्दा केपी शर्मा ओलीले देशभर रहेका तुइन, साँघु र फड्के विस्थापित गर्दै ती ठाउँमा झोलुंगे पुल निर्माण गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए। उनी दोस्रोपटक प्रधानमन्त्री बनेको ६ महिना बितिसक्दा पनि देशभर तुइन, साँघु र फड्केको अवस्था उस्तै छ।

‘खोलामा तुइन बनाउँदा झन् जोखिम हुन्छ भनेर यसपटक साँघु बनायौं,’ स्थानीय शान्ति पुजारा बोहराले भनिन्, ‘साँघुले पनि बालबालिकालाई बगायो, पुल नहुँदा हामीले बालबालिकालाई बचाउन सकिरहेका छैनौं।’ विद्यालयबाट पढेर फर्कंदै गर्दा दुई बालिका बगेर बेपत्ता भएको उनले बताइन्। उनले भनिन्, ‘पुल नहुँदा हामीले बर्सेनि बालबालिकालाई गुमाउँदै आएका छौं।’ बाउली खोला तर्न हिउँदमा साँघु र बर्खायाममा तुइनको सहारा लिइन्छ।

२०७२ असोज २५ गते पहिलोपटक प्रधानमन्त्री भएकै दिन केपी शर्मा ओलीले देशभर तुइन, साँघु र फड्के विथापित गर्दै झोलुंगे पुल निर्माण गर्ने निर्णयमा हस्ताक्षर गरेको झन्डै तीन वर्ष हुन लाग्दा पनि निर्णय कार्यान्वयन नहुँदा प्रदेश ७ का पहाडी जिल्लाका बासिन्दा जोखिम मोलेर नदी वारपार गर्दै आएका छन्।

प्रदेश नम्बर ७ का २५ स्थानका नागरिक अझै तुइन प्रयोग गर्न बाध्य छन्। बझाङको बाउलीगाडस्थित छपाली, सुनीगाडको पिनतुसी, सेती नदीको चिरकिटे, सुर्माको धौलीगाड, कालंगाको चटे, साइपालको घाट, गंगाको चिटकेलगायतका बासिन्दा तुइन, साँघु र फड्के प्रयोग गर्न बाध्य छन्।

बझाङको धमेना चिरकिटेमा सेती नदीमाथि बनाइएको तुइन प्रयोग गर्दा ज्यानको बाजी लगाउनुपर्ने तलकोट–३ की सावित्रा जोशी बताउँछिन्। गाउँपारिको जंगल आउजाउ गर्न सधैं तुइन चढ्ने गरेको उनले बताइन्। उनले भनिन्, ‘तुइनमा झुन्डिएर घाँसदाउरा ओसार्नु हाम्रो दैनिकी हो। अन्य विकल्प नहुँदा ज्यानको बाजी लगाएर खोला तर्नुपरेको छ।’ स्थानीय तह निर्वाचनमा तुइन विस्थापित गरेर झोलुंगे पुल निर्माण गरिदिने आश्वासन पाए पनि जितेपछि नेता गाउँ नफर्केको उनले बताइन्।

दार्चुलाको उत्तरी क्षेत्रका स्थानीय तुइनको भरमा महाकाली नदी वारपार गर्दै आएका छन्। सदरमुकाम खंलगा आवतजावत गर्न त तुइनको प्रयोग हुन्छ नै। साथै खाद्यान्न आपूर्ति पनि तुइनबाटै गरिन्छ। यहाँका बासिन्दा तुइनमै सीमावर्ती बजार धार्चुला ओहोरदोहोर गर्छन्। दार्चुलाको उत्तरी ब्यास गाउँपालिकाका बासिन्दा दैनिक उपभोग्यलगायतका सामानका लागि भारतीय बजारमा निर्भर छन्। यसैगरी बालबालिका विद्यालय जान पनि तुइन नै चढेर ओहोरदोहोर गर्छन्। जिल्लाका साबिक राप्ला, सुन्सेरा, धौलाकोट, हुती पीपलचौरी र हिकिला गाविसका स्थानीय दैनिक तुइनको सहारामा महाकाली नदी वारपार गर्दै आएका छन्।

महाकाली नदीमा करिब एक दर्जन स्थानमा तुइन सञ्चालनमा छन्। महाकाली नदीका दुम्लिङ, माल, मलघट, मडगाउँ, स्याकु, डोकट, स्पागधा र कालागाडमा तुइन सञ्चालनमा छन्। जिल्लाको दुहु क्षेत्रका बासिन्दा ज्यान जोखिममा राखेर भारतीय बजारबाट दैनिक उपभोग्य वस्तु आपूर्ति गर्न बाध्य छन्। तुइनबाट वारपार गर्दा बर्सेनि दुर्घटनामा धेरैको ज्यान जाने गरेको छ। गत जेठमा राप्लाको दुम्लिङमा तुइन चुँडिएर एक किशोरी बेपत्ता भएकी थिइन्।

डोटीको कानाचौर मेल्टाका शेरबहादुर साउदले भने, ‘डोटीको बिनी त्रिवेणी र अछामको बलाताको बीचमा पर्ने सेती नदी वारपार गर्न वर्षौंदेखि पुरानो तुइनमा जोखिम मोल्न बाध्य छौँ।’ उनले बिनी त्रिवेणीमा झोलुंगे पुलका लागि पटकपटक भनसुन गरे पनि सम्बन्धित निकायबाट पहल नभएको गुनासो पोखे।

अछामका तल्ला तुहिन र घुँघुरकोट, डोटीका डौडस्थित मालुमेला, कानाचौर बिनी त्रिवेणी र तिखात्तर नारीदाङमा डुंगा भए पनि बर्खायाममा तुइन प्रयोग गरिँदै आएको छ। यस्तै छपालीको कुसिना औलका नागरिक सेती नदी वारपार गर्न तुइनकै प्रयोग गर्दै आएका छन्। बाजुराको वाईस्थित डुगालाइना, बझाङस्थित सुनिकोटको सल्याडी, मटेलाको तलिगडी गाउँ, बाजको सेडी खोला, भालेखोलाको उदयपुर, धमेना रुमलो, चैनपुरको गडखेत र साइपालको इगुल्वारे तथा बैतडीको पञ्चेश्वर घाटमा अहिले पनि तुइन सञ्चालनमै छन्।

कुन जिल्लामा कति तुइन
दार्चुला १० वटा
बझाङ ७ वटा
डोटी ४ वटा
अछाम २ वटा
बाजुरा एउटा
बैतडी एउटा

(पुष्पराज जोशी/कैलाली, जगत खड्का/बझाङ, प्रेम चुनारा/दार्चुलाको सहयोगमा)

प्रकाशित: ८ श्रावण २०७५ ००:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App