९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

सर्पदंशका बिरामी बढे

रूपन्देही - लुम्बिनी अञ्चल अस्पताल बुटवलमा सर्पदंशको उपचारकालागि  आउने बिरामीको संख्यामा वृद्धि भएको छ । अञ्चल अस्पताल बुटवलमा एक बर्षमा ११ सय ३  जना सर्पदंशका विरामीले उपचार गराएका छन् । एक बर्षको अवधिमा उपचारमा आएका मध्ये १२ जनाको मृत्यू भएको छ । तराईका जिल्लामा गर्मियाम शुरु भएसँगै सर्पदंशका बिरामीको संख्यामा वृद्धि हुने गरेको छ। 

गत वर्षको साउनदेखि अहिलेसम्म उपचारमा आएका मध्ये १ सय ६५ जनालाई विषालु सर्पले टोकेका पाइएको अस्पतालका मेडिकल रेकर्डर लक्ष्मीराज रेग्मीले बताए । ’असारको मध्यदेखि सर्पदंशमा परि उपचारका लागि आउनेहरु बृद्धि भएका छन’ रेग्मीले भने ‘अहिले छिमेकी जिल्लाहरुमा पनि सर्पदंश केन्द्र स्थापना भएकाले उपचारमा गत वर्षहरु भन्दा कम चाप छ।’ 

सर्पदंशमा परि मृत्यू हुनेमा अधिकांश ग्रामिण भेगका विरामी रहेका रेग्मीले बताए । ‘अस्पताल ल्याएको २ घन्टाभित्रमा बिरामीको मृत्यू हुने गरेको छ’ अस्पतालका सूचना अधिकारी समेत रहेका रेग्मीले भने ‘यसको मुख्य कारण उपचारमा ढिलाई गर्नु हो ।’ धेरैजसो सर्प विषालु नहुने भएकाले आत्तिनु नपर्ने उनको भनाई छ । ‘सबै सर्प बिषालु हुँदैनन तर अस्पताल नआएर धामी झाक्रीको भर पर्दा मृत्यू हुने गरेको छ’ उनले बताए। 

नेपालमा ८० प्रजातीका सर्पहरु पाईने र त्यसमा २१ प्रजातीका सर्प मात्रै  बिषालु हुने सर्प विज्ञ एंव अनुसन्धानकर्ता कमल देवकोटाले बताए । अहिलेको सिजनमा तराईका जिल्लामा गोभ्रा र करेत सर्पबाट बच्नुपर्ने उनको सुझाव छ । सर्पले डस्छ भनेर सर्पलाई मार्ने गरिएकाले त्यसो गर्नुभन्दा आफै सजग हुन उनको आग्रह छ  । ‘खेतमा काम गर्दा मोटोवाला पञ्जा लगाउने, राती निस्कदा टर्च बोकेर हिड्ने, जुत्ता लगाउने, भुईमा सुत्दा झुल टाँगेर सुत्ने, झाडी सफा गर्ने, दुलो राख्न नदिने, मुसा आउन नदिने जस्ता कुराहरुमा ध्यान दिए सर्पको डसाईबाट बच्न सकिन्छ’ उनले भने । 

 

प्रकाशित: ४ श्रावण २०७५ १०:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App