नगेन्द्र उपाध्याय/गोविन्द केसी
(पातलेखोला) दैलेख- सदियौंदेखि पश्चिम नेपालमा फिरन्ते जीवन विताउँदै आएको राउटे समुदायले पहिलो पटक स्थायी परिचयपत्र प्राप्त गरेको छ। दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायका नागरिकलाई पहिलो पटक शनिबार स्थायी परिचयपत्र वितरण गरेको हो। स्थायी परिचयपत्रका आधारमा राउटे समुदायले अवदेखि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेछन्।
स्थायी परिचयपत्रमा नाम, थर, जन्म मिति, ठेगाना, बुवा, आमाको नाम र पति, पत्नीको नाम उल्लेख गरिएको छ। ‘राउटे समुदायलाई राष्ट्रिय मूलधारमा ल्याउन, सामाजिक सुरक्षा भत्तामा एकरुपता ल्याउन, नेपाली नागरिकका रुपमा स्थापित गर्नका लागि स्थायी परिचयपत्र वितरण गरेका हौं’ गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले भने, ‘यसका साथै अध्ययन, अनुसन्धान, संरक्षण र सहयोगलाई एकद्धार प्रर्णालीमार्फत सञ्चालन गर्नका लागि दुई जना कर्मचारी पनि नियुक्त गरेका छौं।’
राउटे समुदाय जहाँजहाँ पुग्छ, गाउँपालिकाले नियुक्त गरेका कर्मचारी त्यहीँ, त्यहीँ पुग्नेछन् । कर्मचारीहरुले रातिमा प्रोजेक्टमार्फत राउटे समुदायका बालबालिकालाई अक्षर चिन्ह सिकाउने, सन्देशमूलक भिडियोहरु देखाउनेलगायतका काम गर्ने अध्यक्ष वलीले जानकारी दिए। दैलेखसहित सुर्खेत, सल्यान, दाङ, अछाम, कालिकोटलगायतका जिल्लामा बसोबास गर्ने राउटे समुदायले अव गुराँस गाउँपालिकामार्फत मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेछन् । उनले राउटे समुदायलाई कालान्तरमा नागरिकता पनि प्रदान गरिने बताए।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव गिरिजा शर्माले जंगलमा फिरन्ते जीवन विताउँदै आएको समुदायलाई राज्यको मूलधारमा ल्याउन परिचयपत्रले महत्वपूर्ण भूमिका खेल्ने बताइन्। शनिबार गुराँस गाउँपालिका–८ स्थित पातलेखोलामा बस्दै आएका राउटे समुदायलाई बस्तीमै पुगेर परिचयपत्र वितरण गरिएको थियो।
परिचयपत्र लिन राउटे अनिच्छुक
गुराँस गाउँपालिकाले शनिबार पातलेखोलामा फोटोसहितको परिचयपत्र वितरणको कार्यक्रम राखेको थियो। परिचयपत्र लिने राउटे समुदायको उपस्थिति भने अत्यन्तै न्यून थियो । महामुखिया महिनबहादुर शाहीले मन नलागी नलागी परिचयपत्र लिए । ‘हामी एउटै ठाउँमा बस्दैनौं, झोलामा राखेको रुपियाँ–पैसा त रहँदैन्, परिचयपत्र कहाँ राख्नु ?’ उनले प्रश्न गरे, ‘बरु यसको सट्टा रुपियाँ पैसा र खाद्यान्न दिए राम्रो हुन्थ्यो।’
गाउँपालिकाका अनुसार ४२ घरमा एक सय ४९ जना राउटे छन् । परिचयपत्र वितरण कार्यक्रममा २५ को हाराहारीमा मात्रै राउटे समुदाय उपस्थित थिए । राउटे समुदायमा एक महामुखियासहित चार जना मुखिया हुन्छन् । ति मध्ये दुई जना मुखिया कार्यक्रममा उपस्थित भएनन् । ‘पुर्खादेखि नलिएको परिचयपत्र हामीले लिन मिल्दैन्’ कार्यक्रममा अनुपस्थित मुखिया सूर्यनारायण शाहीले भने, ‘खाद्यान्न र पैसा दिए लिन्छौं, परिचयपत्र लिँदैनौं।’
रैतीमार्गमा राउटे
आदिम मानव सभ्यताको एक अवशेष राउटे समुदाय अहिले संकटमा छ । खेतीपाती नगर्ने, लेखपढमा नलाग्ने र जागिर नखाने राउटे समुदायले परम्परागत पेशा छोड्दै गएको छ भने मागेर खाने बानीको विकास भएको छ। उनीहरु बाध्यताले आफ्नो प्राचीन मान्यता र परम्पराबाट पछि हटिरहेका छन् । आफुलाई जंगलको राजा ठान्ने यो समुदाय अहिले ‘रैती’ बन्ने मार्गमा छ ।
सशस्त्र द्वन्द्वपछि घना जंगल छोडेर मानव बस्ती नजिकका जंगलमा आएदेखि राउटे समुदायमा सकारात्मक भन्दा नकारात्मक प्रभाव बढी देखिन थाल्यो। पैसा छोए पाप लाग्छ भन्ने समुदाय अहिले हाकाहाकी पैसा माग्दै हिँड्छन्। परम्परागत काठका भाँडाकुँडा विक्री गरेर जीवनयापन चलाउने उनीहरुले आफ्नो पेशा भूल्दै गएका छन्।
राउटे मुखिया सूर्यनारायण शाही आफूहरुलाई जंगलमा बस्न गाह्रो भइरहेको बताउँछन् । ‘जंगलमै लामखुट्टे भेटिन थाले, पानीका मूलहरु सुक्न थाले, कन्दमूल र बाँदर पनि पाइँदैनन्’ उनले भने, ‘यहीँ समस्याले चाँडोचाँडो बस्ती सर्न थालेका छौं, दुःख विमार पनि धेरै लाग्न थालेको छ ।’ आफ्ना सदस्यको मृत्यु हुँदा मात्रै बस्ती सर्ने राउटे समुदाय अहिले एक ठाउँमा मुस्किलले बढीमा एक महिनासम्म बस्ने गरेको छ।
तथ्याङ्कमा राउटे
फिरन्ते जीवत बिताइरहेका राउटे समुदायको अहिलेको संख्या १४९ छ। राउटे उत्थान प्रतिष्ठानका अध्यक्ष सत्यदेवी अधिकारीका अनुसार यो समुदायमा सात वर्षसम्मका बालबालिकाको संख्या अधिक छ । राउटे समुदायमा सात वर्षसम्मका ४७ जना बालबालिका छन् । यस्तै १६ देखि ४० वर्षसम्मका ४४ छन् । ८ देखि १५ वर्षसम्मका २४ जना छन् भने ४१ देखि ६० वर्षसम्मका २० जना रहेका छन् । ६१ वर्षमाथिका १४ जना छन् । राउटे समुदायमा निकै हेला गरिने एकल महिलाको संख्या ११ जनाको रहेको छ।
प्रकाशित: ३० असार २०७५ १३:३० शनिबार