रत्ननगर- चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित चेपाङडाँडामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
आज बिहान ९ः३० बजे खसेको पहिरोका कारण सडक अवरुद्ध भएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार अहिले स्काभेटरको सहयोगमा पहिरो पन्छाउने काम जारी छ । पहिरोका कारण चितवनबाट जाने र आउने सवारी साधन बीचबाटोमा नै रोकिएका छन् ।
सडक बन्द भएकाले ओभरटेक नगरी सवारी लाइनमा मिलाएर राख्न प्रहरीले चालकलाई अनुरोध गरेको छ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा असार महिनामा मात्रै दर्जनौँ पटक पहिरो खसेर यात्रुलाई प्रभावित बनाइसकेको छ ।
नारायणगढ–मुग्लिन सडक आयोजनाले सडक चौडा पार्ने र भित्तो काटेको स्थानमा पहिरो खस्ने गरेको छ । भालुढुंगा, एकनम्बर पुल, भतेरी जंगल क्षेत्रमा सडक भासिने र केही फाट्टिने क्रमसमेत देखिएको छ ।
सो क्षेत्रमा सडक एकतर्फी बनाएर आवश्यक कामसमेत भइरहेको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए।रासस
प्रकाशित: २९ असार २०७५ ०६:१५ शुक्रबार