१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

नारायणगढ–मुग्लिन सडक भाँसियो, सवारी आवागमन एकतर्फी

फाइल फाेटाे/नागरिक

चितवन – नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक अकस्मात सडक भाँसिएपछि आवागमन एकतर्फी भएको छ।

सडक भाँसिने क्रम बढ्दै गएपछि भाँसिनाको कारण खोजी गर्न विज्ञ समूह झिकाइएको छ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले मंगलबार बिहान सामान्य भाँसिएको देखिएकोमा क्रमशः बढ्दै गएर एक फिटजति भाँसिएको बताए। भाँसिने क्रम बढ्दै गएपछि मंगलबारबाटै सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ। सो स्थान नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ पर्दछ। सडकको ३० मिटर लम्बाइ र छेउबाट सात मिटर चौडा भाग भाँसिएको हो।

सो ठाउँमा नौ मिटर कालोपत्रे गरिएको छ। कालोपत्रेको त्रिशूली नदीतर्फ थप दुई मिटर खुल्ला भाग रहेको छ। कालोपत्रे गरिएको आधा भागसम्म भाँसिएको खनालले बताए।

नारायणगढ–मुग्लिन सडक आयोजनाका परामर्शदाता कम्पनीका सहायक आवासीय इञ्जिनियर ज्ञानेन्द्र घिमिरेका अनुसार भाँसिने क्रम बढेमा तत्काल भित्तो काटेर सडक विस्तार गर्नुपर्ने हुन्छ। उनले तलबाट नदीले खोलेर भाँसिएको हुनसक्ने अनुमान गरिएको बताए।

आज विज्ञहरुको समूह आउने र के गर्ने भन्ने विषयमा टुंगो लाग्ने घिमिरेले बताए। नजिकको भित्तो होचो भएकाले विस्तार गर्न सहज हुने घिमिरेको भनाइ छ। एकलेन थप्न करीब पाँच मिटर उचाइबाट भित्तो काट्नु पर्ने बताइएको छ।

अकस्मात् सडक रोकिन सक्ने भन्दै सडक नियमित बनाउने गृहकार्य शुरु गरिएको छ। सोही ठाउँमा २०६० सालमा रक स्वायल एङकरिङ गरिएको थियो। तत्कालीन सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनियर प्रकाश उपाध्यायले सोही क्षेत्रमा त्यतिबेला सडक भाँसिएर रक स्वायल एङ्करिङ गरिएको बताए।

भित्तोमा ड्रिल गरी १०/१५ मिटर रड घुसाएर रडसँगै सिमेन्ट जमाउने र बाहिरी भाग पनि ढलान गरी बलियो बनाउने कामलाई रक स्वायल एङकरिङ भनिन्छ। सोही ठाउँको रक एङकरिङले काम गर्न छोडेर धसिएको पनि हुनसक्ने अनुमान गरिएको छ।

हाल सो सडक विस्तारको अन्तिम चरणमा पुगेको छ। सोही सडक हुँदै दैनिक १० हजार हाराहारी सवारीसाधन आवातजावत गर्दछन्। रासस

प्रकाशित: २७ असार २०७५ ०४:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App