सोलुखुम्बु– अहिले विश्वरभर जलवायु परिवर्तनको असरको चर्चा व्यापक छ। कार्बन उत्सर्जनका कारण पृथ्वीको तापमान बृद्धि भइरहेको अवस्थामा यस क्षेत्रका विज्ञहरु अझ बढी चिन्तित छन्। अझ हिमाल, हिमनदी र हिमतालहरुका बारेमा अध्ययन गरिरहेका विद्यार्थीहरुले त नेपालको हिमालय क्षेत्रलाई अध्ययनको केन्द्र नै बनाएका छन्। पछिल्ला बर्षहरुमा पृथ्वीको तापमान बृद्धि र त्यसको असरका बारेमा अध्ययन गर्न सर्वाेच्च शिखर सगरमाथालाई केन्द्रीत गरी नेपाल आउने विद्यार्थीको संख्या बढेको हो।
हिमालयन रिसर्चमार्फत अध्ययनका शिलशिलामा नेपाल आएका डा. अन्र्टन बायर्सले पहिलोपटक सन् २००९ मा खुम्बु क्षेत्रको ग्लेसीयर अध्ययनका लागी फोटोग्राफी गरेका थिए। जलवायु परिवर्तनको असरबारे अध्ययन गरिरहेको हिमालयन रिसर्चले यसरी अध्ययनमा आउने विद्यार्थीका लागि समन्वय गर्ने गरेको छ। खुम्बु क्षेत्रमा हिमाल चुचुरा, हिमताल, हिमनदीमा देखिएको बदलावका बारेमा अध्ययन गर्न फरक फरक मौसममा विद्यार्थीहरु यहाँ पुग्छन्। एकिन तथ्यांक नभएपनि २०७२ सालको भूकम्पपछि अध्ययन गर्न आउने विदेशी विद्यार्थीको संख्या तुलनात्मक रुपमा बढेको हिमालयन रिसर्चका अध्यक्ष डा. धनन्जय रेग्मीले बताए। उनले भने, ‘भूकम्पले हिमाल, हिमताल र ग्लेसीयरमा पारेको प्रभाव तथा यसले जलवायुमा पार्ने प्रभावका बारेमा अध्ययन गर्न आउने विद्यार्थी बढेका छन्।’ गएको दुई बर्षयता मात्रै २ सय ५० भन्दा बढी विद्यार्थीहरु सगरमाथा खुम्बु क्षेत्रमा पुगेको डा. रेग्मीले बताए। त्यसयता अमेरिका, जापान, चीन, भारत लगायतका ३६ भन्दा बढी देशका विद्यार्थीहरु अध्ययन अनुसन्धानका लागि खुम्बु पुग्ने गरेका छन्। हिमालयन रिसर्चबाट मात्रै अहिलेसम्म २ सय ४१ जना विद्यार्थी खुम्बुका विभिन्न हिमतालहरुमा पुगिसकेका छन्।
खुम्बु क्षेत्रमा पछिल्ला एक दशकमा जलवायु परिवर्तनको प्रत्यक्ष असर देखिएको भन्दै लामो समयदेखि खुम्बु क्षेत्रमा ट्रेकिङ गाईडको रुपमा काम गर्दै आएका दिप राईले हिमालहरु कालापत्थरमा रुपान्तरण हुँदै गएको बताए। गत जेष्ठ महिनामा पनि गोक्यो हिमताल रिसर्चको लागी अमेरिकाबाट विज्ञसहित विद्यार्थीको समूह नेपाल आएको थियो। उक्त समूहले गोक्यो तालको तापक्रम, सतहको रेकर्डका लागि प्रविधि जडान गरेर छोडेको छ।
जलवायु परिवर्तनले विश्वव्यापी रुपमा पार्ने प्रभावका बारेमा वैज्ञानिक, भुगर्वविद् तथा विदेशी विद्यार्थीहरु अध्ययन अनुसन्धानको केन्द्रविन्दु नेपालको हिमालय क्षेत्र बनेको हो। अमेरिकास्थित एक विश्वविद्यालयबाट आएकी विद्यार्थी लोरेनले गोक्यो तालको अध्ययन अनुसन्धान पहिलो प्राथमिकता भएको बताइन्। उनले भनिन्, ‘हाम्रो अध्ययन गोक्यो तालमा तापक्रमले पारेको प्रभाव, तालको सतह घटबढ लगायत विषयमा केन्द्रीत छ।’
यता जल तथा मौसम विज्ञान विभागले यसरी विदेशी विद्यार्थीहरुले नेपालका हिमालय क्षेत्रहरुमा गरिरहेको अध्ययनको कुनै रेकर्ड नराखिएको जनाएको छ। अहिलेसम्म यसबारे कुनै नीति नियम नरहेकाले तथ्यांक नहुने बताए। विदेशी विद्यार्थीले नेपाललाई अध्ययन क्षेत्रमा प्राथमिकता दिनु राम्रो भएको भन्दै यसलाई नीति निर्माण गरेर सहजिकरण गर्न आवश्यक रहेको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषीराम शर्माले बताए।
प्रकाशित: १८ असार २०७५ १०:३० सोमबार