८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

धान दिवस : सरकारले खेती गर्न किसानलाई जमिन दिने

रुपन्देही– प्रदेश नम्बर ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले जग्गा नभएकाले खेती गर्न नसक्ने किसानलाई सरकारले जमिन उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। १५ औं राष्ट्रिय धान दिवसको अवसरमा भूमि व्यवस्था कृषि सहकारी मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले जग्गा नभएकाहरुलाई प्रदेश सरकारसँग समन्वय राख्न आग्रह गरे।

प्रदेश सरकार कृषिमा रुपान्तरणका साथ अघि बढेकाले अब जग्गा बाँझो राख्ने प्रवृत्तिलाई अन्त्य गर्ने उनले बताए। ‘जोसँग जमिन छ, उसले खेती गर्दैन, जो सँग खेती गर्ने जागर छ, उसँग जमिन छैन’ मुख्यमन्त्री पोखरेलले भने– ‘यसको अन्त्यका लागि अब हामी करारमा जमिन उपलब्ध गराउछौं।’

उनले प्रदेश सरकारले कृषिबाटै प्रदेशलाई समृद्ध बनाउन सकिने विश्वासका साथ कृषिका लागि विभिन्न कार्यक्रम ल्याइएको बताए।  नेपालमा ७० प्रतिशत मानिसले कृषि गर्ने गरेपनि ३० प्रतिशतले मात्रै कृषिबाट लाभ लिएकाले अब थोरैले मात्र कृषि गर्ने वातावरण बन्नुपर्ने बताए। उनले कृषिलाई आधुनिकीकरण र यान्त्रीकरण गरेर उत्पादन बढाउनका लागी सरकारले किसानलाई अनुदानका कार्यक्रम ल्याएको बताए।   

प्रदेश ५ को सम्भावनाको क्षेत्र कृषि भएको बताउँदै त्यसपछि मात्रै पर्यटन रहेको बताए। कार्यक्रममा कृषि मन्त्री आरती पौडेलले प्रदेश ५ को विकास र समृद्धिको आधार कृषि भएकाले किसानलाई उत्साहीत बनाउने गरि सरकारले काम गर्ने बताईन। प्रदेश नम्बर ५ सरकारले रुपन्देहीको सैनामैना सालझन्डीमा रोपाई गरेर धान दिवस मनाएको हो। रोपाई कार्यक्रममा प्रदेश सरकारका मन्त्री, सांसद र स्थानीय तहका जनप्रतिनिधिहरु सहभागी भएका थिए। 

रुपन्देहीका तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका सहित केहि स्थानीय तहमा दिवसको अवसरमा रोपाई कार्यक्रम भएको छ। दक्षिणी क्षेत्रमा भने बर्षाको पानी कम भएकाले रोपाई केहि मात्रामा मात्रै भएको छ। मध्य असारमा पनि पर्याप्त पानी नपर्दा आकाशे पानीको भरमा सिचाई गर्ने मर्चवार र लुम्बिनी क्षेत्रका किसान मर्कामा परेका हुन। रुपन्देहीमा २० प्रतिशतको हारहारीमा रोपाई भएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ। 

प्रकाशित: १५ असार २०७५ १२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App