गोरखा (धार्चे)- धार्चे गाउँपालिका–६ कासीगाउँका ७२ वर्षीय लक्ष्मण घले सकीनसकी थोत्रो जस्ता बोकेर एक घन्टा माथि ओसार्दै थिए। नयाँ बनाउँदै गरेको घरमा जस्ताले टालटुल गर्न गोठबाट जस्ता लिएर उनी घरतिर हिँडे। उनको घर निर्माण अन्तिम चरणमा छ। तर, काम गर्ने मान्छे नभएर घर निर्माण कार्य सम्पन्न हुन सकेको छैन।
‘एक साता प्लास्टरको काम गर्न पाए सकिन्थ्यो,’ घलेले भने, ‘अहिले काम गर्नेहरू सबै लेक गएका छन् ।’ उनको घर छोराले पर्म लगाएर बनाएका थिए । गाउँभरि १०÷१५ जना युवा मिल्ने, आलोपालो सबैले सबैको घर निर्माणमा सहयोग गर्ने नियम थियो । तर अहिले भने गाउँभरिका युवा यार्सा टिप्न कोही मनाङ त कोही उत्तरी गोरखाको लेकतिर हिँडेका छन् ।
‘गाउँमा वृद्धवृद्धा मात्र हो, आफैं काम गरिएन भने असारसम्म घर बनाउनु भनेको छ सरकारले, तीन लाख पैसा जान्छ कि भन्ने डर छ,’ घलेले भने । घरमा काम गर्न सक्ने व्यक्ति नभएको सदस्यलाई भने आलोपालो समूहमा राखिँदैन थियो । वृद्धवृद्धा र महिलाले चर्को ज्याला तिरेर मजदुर लगाउनुपर्ने बध्यता छ ।
गाउँका सीप सिकेका युवा पनि यार्सा टिप्न हिँडेपछि तराई र अन्य दुर्गम पहाडी जिल्लाबाट कालिगढ उत्तरी गोरखामा घर बनाउन पुगेका छन् । धार्चे–३ का वडा सदस्य प्रवीना घले धमाधम घर बनाइरहेकी छिन् । भूकम्पको लाभग्राही सूचीमा परेर पनि अनुदान गुम्छ कि भन्ने डरले उनी घर बनाउन व्यस्त छिन् ।
गाउँका सीप सिकेका युवा पनि यार्सा टिप्न हिँडेपछि तराई र अन्य दुर्गम पहाडी जिल्लाबाट कालिगढ उत्तरी गोरखामा घर बनाउन पुगेका छन् । धार्चे–३ का वडा सदस्य प्रवीना घले धमाधम घर बनाइरहेकी छिन् । भूकम्पको लाभग्राही सूचीमा परेर पनि अनुदान गुम्छ कि भन्ने डरले उनी घर बनाउन व्यस्त छिन् ।
घलेले गाउँका महिलालाई ढुंगा बोकाएकी छिन् । ‘पैसा दिएर काम लगाउन मान्छे पाइँदैन, पर्म लगाएर तिम्रो घर बनाउँदा पनि सहयोग गर्छु भनेपछि महिलाहरू आउँछन्, काम गर्न सक्ने, पैसा लिएर ज्यालामा काम गर्ने पाउनै मुस्किल छ,’ उनले भनिन् । उनको घर आधाआधी निर्माण भइसक्यो । घर निर्माण गर्दा सबै ढुङंगा गाउँका बालबालिका र महिलाले बोकेका थिए ।
तन्नेरीजति सबै यार्सागुम्बा टिप्न गएपछि रामेछापदेखि घर बनाउन माछाखोला गएका मजदुरहरूलाई बोलाएर उनले घर निर्माणको जिम्मा दिएकी छिन् । ‘खाजा, खाना खुवाएर दैनिक एकजनालाई १२ सय रुपैयाँ दिनुपर्छ,’ घलेले भनिन्। घर बनाउन जानेकाहरू पनि यार्सा टिप्न हिँडेपछि उत्तरी गोरखामा पुनर्निर्माण प्रभावित भएको छ ।
असार मसान्तसम्म घर निर्माण सम्पन्न गर्न पुनर्निर्माण प्राधिकरणले समयसीमा निर्धारण गरेको छ । अनुदान गुम्ने डर एकातिर छ भने अर्कोतिर घर बनाउँदा लागेको ऋण तिर्न भन्दै बयस्क उमेरकाहरू यार्सा टिप्न हिँडेका छन्।
‘ढुवानी निकै महँगो छ,’ कासीगाउँका राजिन सुनारले भने । प्रतिकिलो ३० देखि ३५ रुपैयाँ ढुवानी पर्ने उनले बताए । एउटा घरको निर्माण ठेक्का एक लाखभन्दा माथि तिर्नुपर्छ । अधिकांशले एक–दुई कोठाको घर बनाएका छन् । धेरै कोठाको बनाउँदा अनुदानमा ‘पास’ हुँदैन भन्ने भ्रम स्थानीयलाई छ ।
‘अधिकांशको दुईवटा घर छ,’ सुनारले भने, ‘अनुदान लिन भूकम्पको घर बनाएका छन् भने अर्को अहिलेसम्म बस्दै आएको घर पनि केहीको यथावत् छ ।’
ढुवानीले बोकाउँछ ऋण
कासीगाउँकी ज्ञानी घलेले दुईकोठे घर बनाउन चार लाख ५० हजार सकिन् । रड सिमेन्ट, इँट्टा प्रयोग गरेर मात्रै भूकम्प थेग्ने घर बन्छ भन्ने बुझाइ उनमा मात्र होइन गाउँभरि छ । भूकम्पमा घर भत्किए पनि लाभग्राही सूचीमा नपरेपछि उनले सबै ऋण खेप्नुपरेको छ।
भूकम्पपछि नयाँ घर बनाएका आर्थिक अवस्था कमजोर भएका परिवार सबैले गाउँमा पैसा हुनेसँग ऋण काडेर घर बनाएका छन् । गाउँगाउँमा रहेका सहकारी तथा समूहबाट ब्याजमा पैसा खोजेर घरमा खर्च गर्नेको जमात पनि हरेक गाउँमा भेटिन्छ।
‘गाउँमा सडक मात्रै पुग्ने हो भने घर बनाउँदा अहिले लागेको भन्दा आधा खर्चचाहिँ घट्ने थियो,’ कासीगाउँका वडा अध्यक्ष धनकुमार घलेले भने । उत्तरी गोरखाको धार्चे र चुमनुब्री गाउँपालिकाको अधिकांश बस्तीमा सडक पुगेको छैन।
अहिले भूकम्पपछि गाउँगाउँमा रड सिमेन्टले घर बनाउँदा मात्रै बलियो हुन्छ भन्ने सर्वसाधारणको बुझाइले पुनर्निर्माणले सबैलाई ऋण बोकाएको छ ।
प्रकाशित: २९ जेष्ठ २०७५ ११:५४ मंगलबार