सुर्खेत – केही वर्षअघिसम्म चिङ्गाड गाउँपालिका–६ भर्जेनीकी ३० वर्षीया भीमा चुनाराको परिवारलाई बिहान–बेलुकाको छाक टार्न पनि मुस्किल थियो। गाउँको थोरै जमिनमा जति मेहतन गरेपनि उत्पादन थोरै हुन्थ्यो। व्यवसाय गर्नका लागि पैसा थिएन्। छाक टार्नकै लागि श्रीमान कालापहाड (भारत) गएर कमाउँथे।
अहिले उनको अवस्था फेरिएको छ। उनलाई बिहान–बेलुकाको छाक कसरी टार्ने भन्ने चिन्ता छैन्। मकै, गहुँ लगाउने बारीमा उनले व्यवसायिक अदुवा खेती गरेकी छन्। ‘पहिले यहीँ बारीको उब्जनीले छ महिना पनि खान पुग्थेन्’ उनले भनिन्, ‘अहिले सबै खर्च कटाएर वर्षमा एक लाख रुपियाँसम्म बचत गर्दै आइरहेकी छु।’
चुनाराले त्यहीँ पाखो बारीमा तीन वर्षदेखि अदुवाको वीउ उत्पादन गर्दै आएकी छन्। शिशिर उन्नत अदुवा उत्पादन कृषक समूहमा आवद्ध चुनाराले उत्पादन गरेको वीउ समूहले नै खरिद गरेर बजारसम्म पु¥याउँछ। ‘अझै पनि माग अनुसारको उत्पादन गर्न सकिरहेकी छैन्’ उनले भनिन्, ‘बजार राम्रो छ, जति उत्पादन भएपनि विक्री भइहाल्छ।’
उनले गत वर्ष अदुवाको ५० क्विन्टल वीउ विक्री गरिन्। ‘मकै र गहुँ लगाउने बारीमा अदुवा उत्पादन सुरु गरेपछि दुःखका दिन हराउँदै गएका छन्’ उनले भनिन्, ‘अब छिमेकीको जमिन पनि भाडामा लिएर व्यवसाय विस्तार गर्ने सोच बनाएकी छु।’
अदुवाकै आम्दानीबाट छोरा–छोरीलाई पढाएकी छन्। साह्रोगाह्रो पर्दा कसैसँग हात थाप्नुपर्ने अवस्था अहिले चुनारालाई छैन्। केही वर्षअघिसम्म घर खर्च चलाउन ब्याजमा ऋण लिएकी उनी अहिले बचत गर्छिन्। घर खर्च चलाउनकै लाग कालापहाड (भारत) जाने गरेका श्रीमान अहिले गाउँमै फर्किएका छन्। ‘पहिले श्रीमान कालापहाड गएर कमाएको पैसाले चामल किनेर खान्थ्यौं, अहिले अवस्था फेरिएको छ’ उनले भनिन्, ‘श्रीमान मिन्त्रीको काम गरेर कमाउनुहुन्छ, म अदुवा विक्री गरेर कमाउँछु।’
उच्च मूल्य कृषि बस्तु विकास आयोजनाले ११ लाख रुपियाँको लागतमा सात किलोमिटर टाढाबाट पानी ल्याइदिएको छ। यसले सिंचाईको समस्या छैन्। सिंचाईले यहाँका ३० घरधूरी प्रत्यक्ष लाभान्वित भएका छन्। दुई सय रोपनी जमिनमा सिंचाई सुविधा पुगेको छ। अहिले भीमाको सिको गर्दै गाउँका अरुले पनि अदुवाको व्यवसायीक खेती गर्न थालेका छन्। ‘मेहनग ग¥यो भने आफ्नै घरमा बसेर पनि राम्रो आम्दानी गर्न सकिँदो रहेछ’ उनले भनिन्, ‘अहिले म मात्रै होइन्, सबैले अदुवा खेती गर्न थालेका छौं।’
प्रकाशित: १७ जेष्ठ २०७५ ०७:४८ बिहीबार